काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध विज्ञप्ति जारी गरेका पूर्व प्रधान न्यायाधीशविरुद्ध आक्रोश पोखेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघको आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले अदालतमा 'केही समय जागिर खाएका'हरु बोलेको भन्दै आक्रोश पोखे। उनले सर्वोच्चलाई गुमराहामा पार्ने धम्काउने काम बन्द गर्नसमेत चेतावनी दिएका छन्।
'स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्छ। सडकबाट फैसला दिनुहुन्छ की संवैधिनक इजलासबाट? अति जान्ने सुन्ने त्यस्तालाई अजासु भन्छन्। अजासुहरु निस्किएर संवैधानिक इजलासले हुँदैन भनेर भनिरहेका छन्। कुन संविधानले भन्यो संवैधानिक इजलासले भनेर?' उनले प्रश्न गरे, 'उहाँले जे भन्यो त्यो हुनुपर्ने हो भने अदालत किन चाहियो?'
उनले सम्मानित स्वतन्त्र न्यायापालिकाको आफूले कहिल्यै विरोध नगरेको बताए। 'स्वतन्त्र न्यायापालिकाको कदर गर्न सिकौँ कदर गरेर जाउँ। न्यायपालिकाको विरुद्ध नारा जुलुस गर्ने काम हामीले कहिल्यै गरेनौँ,' उनले भने।
उनले प्रचण्ड-माधव नेपालको जुलुसलाई 'भट्टीपसल'को संज्ञा दिए। 'देशको सर्वोच्च संस्था राष्ट्रपतिका विरुद्ध मनपरी शब्द सभ्य समाजमा त्यस्तो भनिन्न। रक्सी भट्टीमा पनि त्यस्तो सुनिन्छ,' उनले भने, 'प्रचण्ड माधवका जुलुसमा बोलेका भाषाहरु कसैले पनि बोल्दैन। बाटाबाट भट्टी पसल अगाडि हिँड्यो भने नराम्रा बोली त सुनिन्छ। तर प्रचण्ड माधव नेपालको जुलुसमा जस्तो सुनिँदैन।'
उनले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाउने वकिलहरु प्रतिसमेत आक्रोश पोखे- 'एक जना वकिलले लेखेछ। वर्तमान सम्झिएर फैसला गर्नुस्। भविष्य सम्झेर फैसला गर्नुस्। के हो यो न्यायाधीशलाई धम्काएको छ। के गर्छन् तिनले? न्यालयको भविष्य, न्याधीशको भविष्य यस्ताले लोकतन्त्रका कुरा गर्ने?'
