PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्सा-बाराका प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोधसभाः नेताहरुको एकै स्वर, 'ओलीको कदम असंवैधानिक'



पहिलोपोस्ट

पर्सा-बाराका प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोधसभाः नेताहरुको एकै स्वर, 'ओलीको कदम असंवैधानिक'

वीरगंजः प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस पर्साले शनिबार जिल्लाका ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एक साथ प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको कांग्रेसले पर्साका ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो। विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद् विघटन असंवैधानिक भएको बताएका छन्। 

वीरगंजको क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) अन्तर्गत माइस्थानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताए। उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधका लागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भएको हो।

कांग्रेस सभापति द्विवेदीले झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबर्जस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। कार्यक्रममा पूर्व सांसद एवं कांग्रेस नेता अनिल रुगटाले संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हटाइएको उल्लेख गरे। माइस्थानको विरोध कार्यक्रम शिव बालक यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। यता पर्साको प्रदेशसभा निर्वाचन (ख) अन्तर्गत भएको विरोधसभा अरविन्द गुप्ताको सभापतित्वमा सम्पन्न भएको र विरोध सभालाई पार्टी सभापति द्विवेदी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए।

यसैबीच, नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) अन्तर्गत पचरुखी बहुअर्वामा विरोधसभा सम्पन्न भएको छ। विरोधसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले संसद्ले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक तरिकाले संसद् विघटन गरेको आरोप लगाए। उनले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै पनि तरिकाले हुन नसक्ने चेतावनी दिँदै दुई तिहाइको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले चुनावबाट जनताको मत लिन्छु भन्नु आकाशको फल भएको बताए। कार्यक्रम उमेश साह तेलीको अध्यक्षतामा सम्पन्न भएको छ। त्यसैगरी, पर्सा क्षेत्र नं १ को (क) मा पनि मोटरसाइकल र्‍याली र वीरगंज २२ मनियारीको जगदरनाथपुर चोकमा विरोधसभा सम्पन्न भएको नेपाली काँग्रेस पर्साका नेता रामनारायण कुर्मीले जानकारी गराए।

यसैगरी नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति पर्सा क्षेत्र ३ (क) को आयोजना श्रीपुरपचगवामा विरोधसभा सम्पन्न भएको छ। विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले केन्द्र र प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए। उनले प्रदेश नम्बर २ मा सबैभन्दा बढी बलात्कारको घटना भएको र यस्ता घटनामा प्रदेश सरकार मौन रहेको आरोप लगाए। पूर्वमन्त्री चौधरीले नेकपाभित्रको आन्तरिक द्वन्दको कारण ओलीले देशलाई विषम परिस्थितिमा पुर्‍याएको बताए। कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुलमान मियाँ दर्जीको अध्यक्षतामा सम्पन्न भएको थियो।

यसैगरी क्षेत्र नम्बर ४ को जिराभवानी गाउँपालिकाको सेढवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक अधिकार नभएको बताए। पाँच वर्षको अवधि रहेका सांसद विघटन गरी पुनः निर्वाचन गराउन नेपालको आर्थिक अवस्था नरहेको बताउँदै नेता रिजालले कम्युनिष्टले देशलाई बन्धक बनाउन लागेका कारण नेपाली जनता पनि निर्वाचन चाहेको बताए। उनले देशमा जनताले राजालाई हटाउन त बाँकी नराखेको भन्दै अब ओली सरकारलाई जनता लखेट्न बाँकी नराख्ने चेतावनी दिए। नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति पर्सा क्षेत्र नं ४ का सभापति श्रीकान्त यादवको सभापतित्वमा सम्पन्न विरोधसभामा प्रदेशसभा सदस्य शंकर चौधरी, बृष्पतिकृष्ण श्रेष्ठ, रामबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी आजै कांग्रेसले क्षेत्र नम्बर २ को अलौं, क्षेत्र नम्बर ३ को विश्रामपुर र क्षेत्र नम्बर ४ को मुडलीमा समेत विरोधसभा सम्पन्न भएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए। त्यसैगरी बाराका ४ क्षेत्रको ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा समेत नेपाली कांग्रेस बाराले छुटाछुटै विरोध प्रदर्शन गरेको छ। बाराको फेटामा आयोजित विरोधसभामा तरुण दल बाराका अध्यक्ष लोकेश सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell