PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

न्यायको मागले आत्तिएका ओली : के निर्मलाकी आमालाई पनि समात्ने प्रधानमन्त्रीज्यू?



सविन ढकाल

न्यायको मागले आत्तिएका ओली : के निर्मलाकी आमालाई पनि समात्ने प्रधानमन्त्रीज्यू?

काठमाडौं: उनको इन्टरनेटसँग कुनै परिचय नै छैन। न फेसबुक अकाउन्ट छ न त ट्विटर नै। जानेको सामान्य लेखपढ मात्रै।

दुई वर्षअघि उनको घर पुग्दा टेलिभिजन समेत थिएन। छोरीहरु टेलिभिजन हेर्न नजिकै छिमेकी घरमा पुग्थे। तर, पछि छिमेकीहरुसँगको बिग्रिएको सम्वन्धले त्यो पनि टुटेको थियो। उनको छिमेकीले हामीसँग भनेकी थिइन्, ‘अचेल आवजजावत पहिलेको जस्तो छैन। नत्र निर्मला टिभी हेर्न मेरै घरमा आउँथिन्।‘

अहिले उनको घरमा टेलिभिजन छ कि छैन, थाहा छैन। उनीसँग एउटा सामान्य मोबाइल फोन देखेको थिएँ। सञ्चारसँग उनको दूरी कायम रहे पनि हिजो दिउँसोको घटना साँझतिर छ्याप्छाप्ती भइसकेको थियो। उनले चाहिँ खबर सुन्न पाइन् वा पाइनन् थाहा भएन। तर पक्कै त्यसले उनलाई झस्क्यायो होला।

निर्मलाको बलात्कारी खोइ? भन्ने मान्छे नै समातिए! छोरीको हत्यारा पक्राउ पर्ने र न्याय पाउने आशामा रहेकी उनको मनमा के भयो होला? श्रीमानले छोडेर गएका छन्। दुई छोरीको लालनपालन उनकै थाप्लोमा छ। एउटी छोरी मारिएकी छिन्। तिनकै लागि न्याय माग्नेलाई नै समातिएको सुन्दा ती आमाको मनमा कस्तो भयो होला?

दुर्गादेवी तिनै आमा हुन् जसले दुई वर्षअघि आफ्नी १३ वर्षीय छोरी निर्मला गुमाइन्। घर नजिकै रहेको उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या गरी फ्यालिएको थियो। निर्मलाको न्यायको लागि भन्दै देशभर प्रर्दशन भयो, यही क्रममा एक जनाले ज्यान समेत गुमाए। तर, निर्मलाको हत्यारा दुई वर्ष पुग्दा समेत पत्ता लागेको छैन। राज्यले निर्मलाको हत्यारा यही हो भने उभ्याउन सकेको छैन। दुर्गादेवी छोरीको हत्यारा समातिएको सुन्ने प्रतीक्षामा छिन्। तर कानमा आयो होला – हत्यारा खोई भन्ने नै समातिए।

शुक्रबार दिउँसो यस्तो घटना जसले स्थापित गर्‍यो - राज्यसँग न्याय माग्दा कुनै पनि ठाउँमा समातिन्छ। यसलाई नै लोकतन्त्र भन्ने हो भने लोकतन्त्र के का लागि भन्ने प्रश्न खडा गरिदियो।

पार्टी चोइटिएको चोटमा प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर शक्ति प्रर्दशनमा नै लागेका छन्। त्यसो त चुनाव नै घोषणा गरिसकेका प्रधानमन्त्रीलाई चुनावी प्रचारले पनि छोएको छ। त्यसभन्दा पनि बढी आफ्नै पूर्व समकक्षीलाई धुलाउने अभियानमा छन् उनी।

शुक्रबार केपी शर्मा ओली आफ्ना नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका थिए। पार्टीगत कुरा र व्यक्तिगत कुण्ठाका भारी बोकेका उनी त्यहाँ प्रधानमन्त्रीका हैसियतमा थिएनन्। लामो समय बालुवाटारबाट सिंहदरबारसम्म पुग्न नसकेका उनी अहिले देशव्यापी दौडन सकिरहेका छन् –सहयोद्धाहरुलाई खुइल्याउन। प्रधानमन्त्री नै पार्टीको एउटा गुटका नेतामा सीमित भएपछि उनकै दलभित्रको अर्को चिरा उनीविरुद्ध उत्रिनु स्वभाविक थियो र भइरहेको पनि छ। पार्टीको झगडामा हिँडेका ओलीलाई प्रधानमन्त्रीको हैसियतमा सुरक्षा दिनुपर्ने प्रहरीको अनिवार्य दायित्व हुनु आफैँमा दुर्भाग्यपूर्ण अवस्था हो।

शुक्रबार पनि धनगढीमा त्यस्तै कडा सुरक्षा देखियो। कालो रंगसँग डराएर कालो मफ्लरसम्म कार्यक्रममा प्रतिवन्ध लगाइयो। प्रतिबन्ध कालोमा मात्र रहेन, न्याय माग्नमा पनि रह्यो।

कार्यक्रममा पुगेका ६ जना युवा समातिए। कारण अरु केही थिएन –उनीहरुले पहिरेको टिसर्टमा लेखिएको थियो- निर्मला पन्तको बलात्कारी खोइ?

उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका भए बग्लै कुरा, अभद्र शब्द गाली गरेका भए हो नि त भनौँला। तर, सेतो टिसर्टमा निर्मलाको हत्यारा खोइ? भन्दा समातिनु पर्ने! त्यसो भए अब निर्मलाको न्याय माग्ने सबै समातिने हुन्?

दुर्गादेवी पन्तले हत्यारा यही हो भनेर किटानी जाहेरी दिएको लामो समय भइसक्यो। तर प्रहरीले अहिलेसम्म अपराधी समात्न सकेको छैन। नेपाल प्रहरीमा दुई प्रहरी प्रमुख र कञ्चनपुरमा ३ जना जिल्ला प्रहरी प्रमुख फेरिए तर अपराधी अझै खुलमखुल्ला छ।

२०७५ भदौको अन्तिम साता दुर्गादेवी पन्त आफ्ना श्रीमानसहित न्यान माग्न कञ्चनपुरबाट काठमाडौं आएकी थिइन्। काठमाडौंमा आएपछि माइतीघरबाट बलिन्द्र धारा आँसु बगाएर मात्र होइन गृह मन्त्रालय पुगेर गृहमन्त्रीसँग निर्मलाको हत्यारा पत्ता लगाउन अनुरोध गरिन्। उनीसँग १३ वर्षीया छोरी गुमाउनु परेको पीडा जो कोहीले अनुभूति गर्न सक्दैन। त्यसमाथि के गल्तीमा छोरीको हत्या भयो र हत्यारा को हो भन्ने नखुल्दाको पीडा छुट्दै थियो।

उनले निर्मलाको बलत्कारी खोज्न माग गरिरहँदा नेपाल प्रहरीको जिम्मेवारी सम्हालेका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनाल पनि सँगै थिए। गृहमन्त्री रामबहादुर थापाले चाँडै नै अपराधी समाउँछु भन्ने प्रतिवद्धता पनि सुनाएका थिए।

तर अहिले त उनीसँग त्यो आशाको त्यान्द्रो समेत चुँडिएको छ। उनले सरकारले अपराधी पत्ता लगाउने कुरामा विश्वास नै गर्न छोडिसकेकी छिन्। निर्मलाले न्याय नपाउने संकेतले उनलाई अत्याएको छ। एक नागरिकलाई सुरक्षा र न्यायको आशा जगाउने राज्य संयन्त्रले न्यायको आवाज उठाउँदा नै कुन्ठित पारे झन् के होला?

चर्को जनदबाब र आन्दोलनका कारण दुर्गादेवीले भीमभत्त नगरपालिकामा रोजगारी पाएकी छिन्। तर, उनले यो पद छोरीको हत्यासँग सौदा गरेकी होइनन्।

होला, अनुसन्धानको क्रममा हत्यारा पत्ता लाग्न समय लाग्यो होला। कुनै समय भिडकै भरमा अनुसन्धान प्रभावित पनि भयो होला। तर, पीडितले र पीडितका पक्षमा नै न्याय माग्नै नपाउने दिन कसैले कल्पना गरेको थिएन।

दुई वर्षसम्म दुर्गादेवी छोरीको न्याय माग्दै काठमाडौंसम्म आइन्। सडकमा अनशन बसिन्। अहिले आशा मारेर निरासा भएर बसेकी छिन्। उनको न्यायको माग्ने स्वर कम भएको होला तर छोरीको हत्या को हो भन्ने हेर्न नै नचाहेकी भने होइन। दुर्गादेवी अझै पनि कञ्चनपुरको त्यो खोल्टीबाट निर्मालको हत्यारा खोइ भनिरहेकी छिन्।

के अब निर्मलाकी आमालाई पनि समात्ने प्रधानमन्त्रीज्यू?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell