PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'सडकमा बाँच्नेहरूका लागि पुष र माघ त कालो महिना'



फूलमाया पुरी

'सडकमा बाँच्नेहरूका लागि पुष र माघ त कालो महिना'

मोरङः सडकमा जीवन बिताउनेहरूका लागि पुस र माघ कालो महिना भएको बताउँछन् मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी। कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमुनि जीवन बिताउन बाध्यहरूको उद्धारमा निस्किएका छन् उनी।

पूर्वदेखि पश्चिमसम्म सडकमा भेटिएकाहरू खोज्दै हिँडेका उनी भन्छन्,‘यो पुष र माघ सहयोगापेक्षी सडक आश्रित आमाबुबाका लागि कालो महिना हो। यो चिसोमा कतिपय वृद्दवृद्दाहरूलाई अन्तिम श्वास फेर्दै अवस्थामा भेटेका छौं हामीले।'

९ वर्ष भयो उनीहरूले सडकमा आश्रितहरूको उद्दार गरी संरक्षण दिँदै आएको। हरेक वर्ष उस्तै हुन्छ, नाना र छाना नभएकै कारण सडकमै मानिसले ज्यान गुमाउँछन्। ठण्डीले मार्छ उनीहरूलाई।

यस वर्ष भने सरकारले पनि देशलाई सडकमानव मुक्त बनाउने नीति तथा कार्यक्रममा समावेश गरेको छ। कार्यक्रम अन्तर्गत राष्ट्रिय उद्दार कार्यक्रम संचालन भइरहेको हो।

अध्यक्ष अधिकारीका अनुसार कोही पनि अभिभावकविहीन, बेसहारा, अशक्त, असहाय व्यक्ति खाना, नाना र छानाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय उद्दार कार्यक्रम भइरहेको हो। चिसोकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर जाडो महिनामै सडक आश्रितहरूको खोजी भइरहेको हो।

गत पुष ७ गतेबाट शुरुवात भएको राष्ट्रिय उद्दार कार्यक्रममा हालसम्म ४ सय ६५ जनाको उद्दार भइसकेको छ। तीमध्य प्रायलाई मानवसेवा आश्रमको छानामुनी संरक्षण दिइएको आश्रमका केन्द्रिय कोषाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक जानकारी होमनाथ तिम्सिनाले जानकारी दिए।

उद्दार भएका केहीको भने पारिवारिक पुनर्मिलन गराइएको छ। अभियन्ता सिर्जना ओलीका अनुसार पुरुषको तुलनामा महिलाहरूको परिवार खोज्न वा पुनर्मिलन गराउनु ठूलो चुनौती छ।

‘मनोरोगी भएका पुरुषहरुलाई त उपचारपछि परिवारले सहजै स्वीकार गर्नुहुन्छ’, ओली भन्छिन्, ‘तर महिलालाई भने चरित्र माथिको प्रश्नले पुन स्थापित हुन कठिन हुन्छ’।

अभियन्ता उर्वीन सापकोटाका अनुसार उद्दार गरेका व्यक्तिहरुको सञ्चार माध्यममा सूचना सम्प्रेषण भएपछि कतिपयका अभिभावक सम्पर्कमा आएका छन्। तर अभिभावक सम्पर्कमा आएपनि उनीहरुलाई आश्रममै राखिदिन आग्रह गर्ने गरेको उनको भनाई छ।

‘अभिभावकले आग्रह गरेपनि हामी राख्दैनौं परिवारलाई परामर्श गरी दायित्ववोध गराउने गर्छौं, र जिम्मा लगाउँछौं’, उनले भने।

त्यसो त निस्वार्थ मनले गरिएको सेवा र सहयोगबाट सञ्चालित मानवसेवा आश्रममा सेवकसेविकाको स्थायीत्यव हुन नसक्नु मुख्य चुनौती रहेको आश्रमकी केन्द्रिय महासचिव सुशिला केसीको भनाई छ। जसकारण सेवामा थप गुणस्तरता ल्याउन नसकिरहेको उनी बताउँछिन्।

उनका अनुसार सडकपेटीमा जीवनयापन गर्न बाध्यहरुलाई उद्दार गरी मानसिक शारीरिक रुपमा सुधार भइसकेपछि उनीहरुलाई कुनै सीपमुलक कार्यमा लगाउन नसक्नु आश्रमको अर्को मुख्य चुनौती रहेको छ।

सबै चुनौतीहरुको सामना गर्दै सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणा २०७८ को राष्ट्रिय उद्दार कार्यक्रम तीनै तहकका सरकारसँगको समन्वय र सहकार्यका सफल पार्ने विश्वास लिएको अध्यक्ष रामजी अधिकारीले बताए।

‘सरकारले नै सडक मानवमुक्त राष्ट्र निर्माणका लागि मानवसेवा आश्रमलाई विश्वासिलो सारथी मानेको भनिरहेको छ’, अधिकारीले भने, ‘त्यसैले सडक आश्रितका लागि पुष र माघ कालो महिना हुनबाट छिटै हटेर जानेमा हामी विश्वस्त छौं।'

प्रदेश १ को झापाबाट शुरु भएको राष्ट्रिय उद्दार कार्यक्रममा प्रदेश १ बाट २५४ र प्रदेश २ बाट ९६ जनाको उद्दार भएको थियो। त्यस्तै झापा जिल्ला र विराटनगर महानगरपालिका औपचारिक रुपमा सडकमानवमुक्त  जिल्ला घोषणा भइसकेको छ। त्यसैगरी प्रदेश नम्बर २ को बीरगंज महानगरपालिकालाई पनि औपचारिक रुपमा सडकमानवमुक्त महानगरपालिका घोषणा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell