PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ : उद्यमी श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त सार्वजनिक



पहिलोपोस्ट

‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ : उद्यमी श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त सार्वजनिक

काठमाडौं : पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ सार्वजनिक भएको छ। शनिबार आयोजित कार्यक्रममा इतिहासविद् एवम् वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्य, नेपालका लागि फ्रान्सेली राजदूत, नेपाल राष्ट बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे र लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

इतिहासविद् सत्यमोहन जोशीले यो पुस्तकमा लेखक श्रेष्ठले जीवनमा आइपरेका दुःख, कठिनाइ एवम् सफलतालाई सरल किसिमले प्रस्तुत गरेको बताए। लेखकले जे देखेका छन्, तिनलाई निःस्वार्थभावले पुस्तकमा समेटेको उनले पाए।

कार्यक्रममा उद्यमी एवम् लेखक कर्ण शाक्यले पनि पुस्तकले सकारात्मक सोच अभिवृद्धि गर्न सघाउने प्रतिक्रिया दिए। 'पुस्तकले पनि सकारात्मक र कर्मशील हुन सिकाउँछ', उनले भने।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई उजागर गर्ने भनाइ राखे।

नेपालका लागि फ्रान्सेली राजदूतले यस पुस्तकले नेपाल र फ्रान्सबीचको सम्बन्ध एवम् विविध पाटोलाई उजागर गरेको उल्लेख गरे। यो पुस्तक फ्रान्सेली भाषामा समेत अनुवाद हुनुपर्नेमा उनले जोड दिए।

पूर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डेले पुस्तकबारे प्रतिक्रिया दिँदै भने, 'श्यामजी सहृदयी, साहसी र सकारात्मक सोच राख्ने व्यक्ति हुनुहुन्छ। यो पुस्तक जीवनको यथार्थ अनुभव गरेको व्यक्तिको कथा हो। एउटा पुस्ताको अनुभव अर्का पुस्तामा हस्तान्तरण गर्ने काम यो पुस्तकले गरेको छ।'

‘साहस र आँटले डोर्‍याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफ्नो जीवनमा आइपरेका कठिनाइ, संघर्ष एवम् विविध आश्चर्यजनक संयोगहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन्। एयर फ्रान्सको नेपाल प्रमुख भएर लामो समय काम गरेका श्रेष्ठले पुस्तकमा जागिरे जीवनका आश्चर्यजनक उपलब्धि एवम् संघर्ष र मिहिनेतलाई पनि पंक्तिबद्ध गरेका छन्। साथै आफूले सानै उमेरमा गरेको साहसिक काम, कुनै पनि काम गर्छु भनेर आँटेपछि त्यसप्रतिको आफ्नो लगाव, सामान्य जीवनको अवस्थामा जागिर सुरु गर्दाका कठिनाइ, कुनै काममा असफल भए पनि त्यसमा लागिपरेर प्राप्त गरेका सफलता, प्रेम, वैवाहिक जीवन, नेपालमा पर्यटन उद्यम गर्दाका संघर्ष, धुलिखेलस्थित मिराबेल होटल स्थापनाको संघर्ष, नेपालका प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध आदिलाई पनि पुस्तकमा सजीव किसिमले श्रेष्ठले प्रस्तुत गरेका छन्। 

पुस्तकमा श्रेष्ठले सात दशक लामो जीवनयात्रामा उनले भोगेका अनेक किसिमका अनुभव, क्रियाकलाप, भाग्य, दुर्भाग्य, विद्वत्ता, मूर्खता, सरलता, आडम्बर, माया आदिलाई पुस्तकमा उल्लेख गरेका छन्। लेखक श्रेष्ठ भन्छन्, ‘विभिन्न कालखण्डका विभिन्न अनुभव हेर्दै, सिक्दै अगाडि बढिरहें। जीवनमा अनेक किसिमका साथीभाइ र शुभचिन्तक पनि भेटिए। म यो भूमरीबाट एक वा दुई मात्र गुणअवगुण आफ्नो साथमा लिई यसबाट निस्कन सकेको छैन।’

असनको त्यौड टोल नजिकै बितेको बाल्यकालदेखि युवावस्थामा फ्रान्सको पेरिसदेखि अमेरिकालगायत मुलुकको भ्रमण गर्दा आफूले भोगेका विभिन्न पलहरूलाई पनि लेखक श्रेष्ठले पुस्तकमा समेट्ने प्रयास गरेका छन्।

‘काठमाडौंमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवन बिताएँ। र अन्त्यमा फ्रान्स सरकारबाट अति उच्चस्तरीय तक्मा पाउँछु भन्ने परिकल्पना गर्नु पटमूर्ख नै सावित हुनेवाला थियो। तर समय र वातावरणसँग घुलमिल गरी सङ्घर्ष गर्दै जाँदा भगवान्ले जुटाउनुहुने रहेछ, जुटाइदिनुभयो। मलाई लाग्छ, यदाकदा मेरो जिद्दीवाल र कहिल्यै नथाक्ने बानीको पनि यो सफलतामा भूमिका हुनुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell