PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीका अभिव्यक्तिको जवाफको तयारीका लागि प्रचण्ड-नेपाल समूहले सचिवालय बैठक बोलायो



पहिलोपोस्ट

ओलीका अभिव्यक्तिको जवाफको तयारीका लागि प्रचण्ड-नेपाल समूहले सचिवालय बैठक बोलायो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले आइतवार सचिवालयको बैठक बोलाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बोलाएको एक नेताले जानकारी दिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्केलगत्तै  बैठक बोलाइएको हो। प्रचण्ड-नेपाल समूहको नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा छ।

किन बस्दैछ बैठक?

सरकारविरुद्ध थालिएका आन्दोलन के कसरी अगाडि बढिरहेका छन् भन्नेबारेमा सचिवालय बैठकमा छलफल हुनेछ। अबका आन्दोलन के कस्ता हुने भन्ने बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। 'आन्दोलनका कार्यक्रम रिभ्यु गर्नेबारे छलफल होला,' एक नेताले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध दिइरहेको अभिव्यक्तिको जवाफ कसरी दिने भन्नेबारे पनि आजको बैठकले निर्णय गर्ने छ।

ओलीले आफू पक्षका नेतामाथि अनावश्यक टिप्पणी गरेको भन्दै प्रचण्ड-नेपाल समूहले ओलीबिरुद्धको थप रणनीति तयार गर्न लागेको हो।

प्रचण्ड-नेपाल समूहको नेकपाले यसअघि राजनीतिक दल र नागरिक समाजसँग अन्तरक्रिया गरेर संसद विघटनको बिरुद्धमा मोर्चा बनाउन अपिल गरेको थियो।

तर नेपाली कांग्रेस लगायतका दलले मोर्चाबन्दी नगर्ने बताएपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीतिको तयारीमा छ प्रचण्ड-नेपाल समूह।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell