काठमाडौं : मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयले प्रतिनिधिसभा विघटनको सिफारिस भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
'केही साथीहरुले यस्तो गर्न हुन्छ र भनेर सोध्नुभएको थियो। मैले कन्भिन्स गरेपछि मान्नु भयो। निर्णय भएर सिफारिस भएपछि केही साथीलाई कसैले ताने होलान्,' उनले भने, 'सर्वसम्मत निर्णय भएर सिफारिस गरेको हो।'
मन्त्रिपरिषद्को प्रतिनिधिसभाको विघटनको निर्णय गरेसँगै ओली क्याविनेटमा रहेका सात मन्त्रीले राजीनामा दिएका थिए।
मन्त्रीहरु योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, विना मगर, र रामेश्वर राय यादवले प्रधानमन्त्रीको कदमको विरोधमा राजीनामा दिएका थिए।
प्रधानमन्त्रीले विघटनको प्रस्ताव ल्याउँदा ओली समूहकै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन लगायतले बैठकमै विरोध जनाएको खबरहरु आएका थिए।