PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

निर्मला हत्या प्रकरणमा सांसदले प्रश्न सोध्दा जवाफ दिएनन् प्रधानमन्त्रीले, धनगढी सभामा पनि शब्दै उच्चारण गरेनन्



पहिलोपोस्ट

निर्मला हत्या प्रकरणमा सांसदले प्रश्न सोध्दा जवाफ दिएनन् प्रधानमन्त्रीले, धनगढी सभामा पनि शब्दै उच्चारण गरेनन्

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार धनगढी पुगे। प्रतिनिधिसभा विघटन गरेर पार्टीभित्र आफ्नो समूहलाई बलियो बनाउने अभियानमा रहेका ओली प्रधानमन्त्री भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशको राजधानी ओर्लिएका थिए। त्यहाँ उनले बृहत आमसभालाई सम्बोधन गरे। सुदूरपश्चिमको विकासका स-साना कुरादेखि लिएर राजनीतिक घोचपेच समेत गर्न भ्याए।

तर बलात्कारपछि हत्या भएको कञ्चनपुरकी १३ वषीय बालिका निर्मला पन्तको बारेमा एक शब्द उच्चारण गरेनन्।

सुदूरपश्‍चिम विकास र समस्याबारे एक एक कुरा बोलेका ओलीलाई निर्मला पन्तको बारेमा थाहा नहुने कुरै भएन। उनको कार्यकालमा हालसम्म टुंगो लाग्न नसकेको र सरकार बद्नाम भएको यो घटनालाई प्रधानमन्त्रीले आफ्नै क्षेत्रमा आउँदा सम्बोधन गर्ने धेरै सुपवासी र कार्यकर्ताको आशा थियो। तर ओली चुइक्क बोलेनन्। मौन रहँदा सुदूरपश्चिममा ओलीको आलोचना भइरहेको छ।

यसैक्रममा आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गरे। सांसदहरुसँग सवाल जवाफ भयो। सुदूरपश्चिमको भेलामा त निर्मलाबारे नबोलेका ओलीले आफ्ना प्रगतिका विवरण राष्ट्रियसभामा सुनाउँदा यो घटनाबारे बोलेनन्।

धन्न एक जना सांसदले सवाल जवाफमा प्रधानमन्त्रीलाई प्रश्न गरिन्। ‘धनगढीमा भएको आमसभामा निर्मला पन्तको बलात्कारी खै भन्ने टिसर्ट लगाएकोलाई समातियो। अब संविधानको मौलिक हक अन्तर्गत धारा १७ पनि विघटन भएको हो?’ सांसद अनिता देवकोटाको प्रश्न थियो।

साथसाथै उनले राष्ट्रपतिलाई महाराजाजस्तै बनाउन खोजिएको भनेर प्रश्न गरिन्, ‘संविधानको १०१ मा महा लेखेको छ। धारा ११९ मा राज लेखेको छ। यहाँले महाराज घोषणा गरियोस् भनेर राष्ट्रपतिकहाँ पठाउनुहोला। राष्ट्रपतिले त्यो जारी गर्नुहोला? के हामीले महाराज भनेर मान्ने?’

यो प्रश्नले प्रधानमन्त्री ओलीलाई बिझायो। ‘जम्मा जम्मी लालछाप लगाउने राष्ट्रपति छ। के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै हिसाबले चल्ने राष्ट्रपति चाहियो हामीलाई? महाराजधिराज जस्तो राष्ट्रपति चाहियो हामीलाई हुकुम तामेल गर्ने?’ ओलीले प्रश्नको वर्षा गर्दै आक्रोश पोखे, ‘त्यस्तो हामीले खोजेको होइन। सेरेमोनियल, मर्यादामा बस्ने राष्ट्रपति चाहिएको हो। संविधानबाहिर गएर चल्ने चाहिएन।’

तर ओलीले निर्मला पन्तबारे सोधिएको प्रश्नको जवाफ दिएनन्।

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा संसद विघटनको सिफारिसका धारा र प्रावधानबारे भने उनले धाराप्रवाह रुपमा प्रष्ट्याउने प्रयास गरेका थिए। धनगढीको सम्बोधन र आजको आफ्नो सम्बोधनमा निर्मलाबारे नबोलेका ओलीले सांसदले प्रश्न सोध्दा समेत जवाफ दिन आवश्यक ठानेनन्। सभामा निर्मलाको अपराधी खोई भनेर लेखिएको टिसर्ट लगाएको आधारमा नै पक्राउ गर्नुले प्रधानमन्त्रीको थप आलोचना भइरहेको छ।

हुनत विगतमा निर्मलाको विषयमा बोल्दा प्रधानमन्त्री ओलीले चर्को आलोचना खेप्नुपरेको छ। प्रश्न उठ्दा पनि अहिलेको मौनता भने रहस्यमयपूर्ण छ। दुईबर्ष वितिसक्दा पनि निर्मलाको हत्यारा अझैं पत्ता लाग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell