PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जंगी देउवा, शाही ओली : को भीष्म, को कौरव?



नेत्र तामाङ

जंगी देउवा, शाही ओली : को भीष्म, को कौरव?
फाइल फोटो

'महाभारतका भीष्मको रूपमा नरहनुहोला है प्लिज!' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो शनिबार एक जना कार्यकर्ताबाट भाषण गर्दा गर्दै पाएको सुझाव हो यो।

'के रे?' देउवाले पनि सोधिहाले।

ती कार्यकर्ता पनि के कम। दोहोर्‍याइहाले, 'नेपाली महाभारतमा भीष्मको रूपमा नरहनुहोला के।'

त्यसपछि देउवा जंगिए, 'दोहोरो कुरा गर्ने होइन के, दोहोरो कुरा गर्ने होइन।'

देउवाले चुनावमा जान तयार हुनुपर्छ भनेपछि भाषण सुन्नेकै प्रतिरोध : महाभारतको भीष्मको रुपमा नरहनुहोलाhttps://t.co/pXT2ar3HUA pic.twitter.com/qIVf0sU51t

— PahiloPost (@PahiloPost) January 9, 2021

पुस ५ पछि देश आन्दोलित छ। झन्डै दुई तिहाई मत बटुलेको नेकपा सत्ता र सडकमा सर्लक्क चिरा परेको छ। प्रचण्ड माधवको ट्याग पाएको नेकपा सडकमा र प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मञ्चमा शक्ति प्रदर्शनमा उत्रिएका छन्। अर्कोतिर प्रमुख प्रतिपक्षीको दर्जा पाएको नेपाली कांग्रेस, जसपा र राप्रपा पनि सडकमा उत्रिसकेका छन् प्रतिनिधिसभा विघटनविरुद्ध।

धेरैको ध्यान अहिले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवामा छ। 'यी शीर्ष नेताले के बोल्छन्' यसको अर्थ खुट्टाउन र अर्थ्याउने विषय भएको छ चिया गफमा।

यी चारमा पनि दुई शीर्ष नेता हुन् ओली र देउवा, जसको बोलीमा विशेष चासो रहने गर्छ। सत्ता प्रमुख र विपक्ष प्रमुख भएर पनि होला दुई नेताको भनाइलाई लिएर राजनीतिक भविष्यको अनुमान पनि गरिन्छ।

यसो त देउवालाई पछिल्लो समय ओलीसँग साँठगाँठको आरोप लागेको छ। सर्वोच्चमा विचाराधीन भन्दै देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाबारे बोल्न मानेका छैनन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनुअघि देउवाको बालुवाटार भेटले त्यो आशंकालाई थप मलजल पुगेको थियो। गत निर्वाचनमा नराम्रो हार व्योहारेपछि त्यसै त पार्टीमा देउवा पेलिएका छन्। महाधिवेशन गर्न नसकेर अहिले निकै आलोचित पनि छन्। त्यहीमाथि देउवालाई शनिबारको विरोध कार्यक्रममा एक कार्यकर्ताले नै भीष्मको रूप नलिनसमेत चेतावनी दिन भ्याए।

प्रदेश निर्वाचन क्षेत्रको विरोध कार्यक्रम राखिएको थियो बुढानीलकण्ठमा। घर पायक परेकाले पनि होला देउवा प्रमुख अतिथि बने र सम्बोधन सुरु गरे। उनले पहिलेझैँ चुनावतिरै आफ्नो भाषण फोकस गरे।

'चुनाव भयो भने चुनावका लागि तयार हुनुपर्छ। चुनाव लड्नका लागि जनता ठूलो हो, सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता हो। त्यसैले जनताबाट भाग्न हुँदैन,’ देउवाले यति भन्नसाथ कार्यक्रममा उपस्थित एक महिलाले ठूलै आवाजमा भनिन्, 'जनतामा गए पनि जितिँदैन।

ती महिलाले फेरि थपिन्, 'देशको लागि सोचौँ।'

त्यसपछि देउवाले भने, 'तपाईं पछि बोल्नुस्, सुन्नुस् न।'

त्यतिकैमा अर्का एक पुरुष देउवासँग सवालजवाफ गर्न तम्सिए, 'महाभारतमा भीष्मको रूपमा रहन हुँदैन के!'

देउवाले बेवास्ता गर्दै बोल्ने प्रयास गरेपछि ती पुरुषले शालीन स्वरमा फेरि भने, 'नेपाली महाभारतमा भीष्मको रूपमा नरहनुहोला है प्लिज!'

त्यसपछि देउवाले सोधे, 'के रे?'

पुरुषले जवाफ फर्काए, 'नेपाली महाभारतमा भीष्मको रूपमा नरहनुहोला के।'

त्यसपछि देउवा जंगिए, 'दोहोरो कुरा गर्ने होइन के, दोहोरो कुरा गर्ने होइन।' एकै छिनमा देउवाले प्रसंग मोडे, 'रक्सी खाए होलान्। दिउँसै रक्सी खाएर आउँछन्।'

त्यसपछि कार्यक्रममा हाँसो छायो र देउवाले सम्बोधन अघि बढाए।

देउवासँग घम्साघम्सी पहिलो घटना होइन

काँग्रेस सभापति देउवासँग कार्यकर्ताको घम्साघम्सी पहिलोपटक होइन। देउवामाथि नेताले मात्र हैनन् कार्यक्रमस्थलमै कार्यकर्ताले पनि प्रश्नको वाण हान्न बाँकी राख्दैनन्।

उनी कहिलेकाहीँ कार्यकर्तासँग दोहोरो प्रतिवादमा उत्रन्छन्। मुख छाड्न पनि पछि पर्दैनन्। बोली बुझिएन भनेर कार्यकर्ताले कार्यक्रमस्थलमै प्रतिवाद गर्न खोज्छन्। राष्ट्रिय सभागृहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उनको बोली बुझ्न नसकेको बताएकी थिइन्। राष्ट्रिय सभागृहमै नेविसंघको कार्यक्रममा हारबारे नेविसंघ कार्यकर्ताले देउवाको भाषण चलिरहँदै प्रश्न उठाएर प्रतिवादमा उत्रिएका थिए। त्यति बेला पनि देउवाको प्रयत्न थियो : यहाँ दोहोरो कुरा गर्ने होइन। कहिलेकाहीँ पत्रकारसँगको भेटमा पनि झोक्किन्छन् देउवा। कुरा सकिँदै आउँदा पुनः नरम देखिन्छन्।

यही हो काँग्रेसको लोकतन्त्र?

सभापति देउवाको शैलीलाई लिएर कतिपय कांग्रेस नेताहरूले नै लोकतान्त्रिक दलका नेताको अधिनायकवादी शैली भनी आरोप लगाउँछन्। केन्द्रीय समितिमा पनि देउवाको शैलीमाथि टिप्पणी हुने गर्छ। देउवाको शैली सुधार्नुपर्नेबारे निरन्तर खबरदारी गर्ने नेतामा एक पर्छन् युवा नेता गगन थापा। थापा पार्टीमा देउवाको शैलीलाई अधिनायकवादी शैली मान्न तयार देखिँदैनन्।

बरु, देउवामा लोकतान्त्रिक संस्कार भएको उनी बताउँछन्। कांग्रेसले नेकपालाई अधिनायकवादतिर लाग्यो भन्दै गर्दा कांग्रेसकै सभापति देउवा अधिनायकवादी भयो भन्ने आरोप छ नि भनी प्रश्न गर्दा थापाले भनेका थिए, 'यो कुराको सन्दर्भमा म डिफेन्ड गर्छु। नेपाली कांग्रेसको लिडरसिपलाई नेकपा लिडरसिपसँग तुलना गर्नुभयो भने। प्राइभेट कन्भर्सेसनमा नेकपाका साथीहरू भन्छन् के। तपाईँहरूले जस्तो पार्टीभित्र आफ्ना विचारहरू खुल्ला ढंगले राख्न पाउने नेताकै बारेमा प्रश्न उठाउन पाउने यस्तो अवसर हाम्रो पार्टीमा भइदिएको भए भनेर ईर्ष्या गर्छन्। हाम्रो त सदस्यता हैन नागरिकता नै जान्थ्यो होला भनेर भन्छन्। हामी त हाम्रा कुरा भनिरहेका छौँ। बाझिरहेका छौँ। म यसपालिको महाधिवेशनबाट पार्टीको सबै नेताहरूलाई बिदा हुनुपर्छ भन्दैछु। यही भनेर पार्टीमा स्पेस बनाइरहेका छौँ नि।' भदौ २४, २०७४ मा पहिलोपोस्टसँगकै अन्तर्वार्ताका क्रममा थापाले देउवाबारे भनेका हुन्।

पढ्नुस्ः शेरबहादुर देउवामाथि गगन थापाको कस्तो छ दृष्टिकोण? {अन्तर्वार्ता}

प्रतिवादमा उत्रिएका कार्यकर्तालाई कारबाहीको स्तरमा उत्रेको सुनिँदैनन् देउवा। न त देउवाले नियोजित भीडलाई नै जम्मा पारेको सुनिन्छ। सानेपामा नेविसंघले घेरेर आजित भएका देउवाले रत्नपार्कमा नेविसंघले नै आयोजना गरेको कार्यक्रममा झोक्किँदै नेविसंघ खोजे, ‘कहाँ छ नेविसंघ? गाउँमा छ? स्कुलहरूमा छ? गाउँमा देखिँदैन। त्यति बेला उनले नेविसंघलाई लाज लाग्नुपर्ने हो भन्नसम्म भ्याए। 'म नेविसंघ सभापति भएँ। चार पटक प्रधानमन्त्री भइसकेँ। यस्तै हिसाबले तपाईँहरू कोही चारपटक प्रधानमन्त्री हुन सक्नुहुन्छ? लाज पनि छैन यार,’ देउवाले भनेका थिए।

बीबीसी साझा सवालको ५०० इपिसोडमा एक युवाको प्रश्नमा झोक्किएर त्यति बेला प्रधानमन्त्री रहेका देउवाले 'तपाईं बढ्ता बोल्दै हुनुहुन्छ?' भनी प्रतिवादमा उत्रेका थिए। देउवाको उक्त बोली निकै समय भाइरल भयो।

साझा सवालका त्यति बेलाका सम्पादक रहेका दीपक भट्टराईले देउवाले उक्त भिडियोमा सेन्सरसिपको कुनै दबाब नआएको बताएका छन्। सुटिङपछि सम्पादनका क्रममा ती सिन रोकिन सक्थ्यो नि? पहिलोपोस्टको प्रश्नमा कात्तिक १६, २०७५ गते भट्टराईले भनेका छन्, 'कार्यक्रम सकिएपछि उहाँ एकदम खुसी हुनुभएको थियो। सुटिङपछि इडिट गर्नुपर्ने दबाब आउने कुरै भएन। प्रसारण भएपछि पनि बालुवाटारबाट कुनै गुनासो आएन,' उनले भनेका थिए। उनको बाहिरी रूप जस्तो भए पनि भीष्मको रूपमा नउत्रिन कार्यकर्ताले दिएको सुझाव व्यवहारमा कतिको देखिएला, त्यो भविष्यकै गर्भमा छ। तर, उनलाई भीष्म बन्न छुट भने कदापि छैन। किनकि सबैभन्दा श्रेष्ठ, ज्ञानी, पराक्रमी, असल-खराब छुट्टाउन सक्ने भएर पनि भीष्मले महाभारतमा कौरवको तर्फबाट युद्ध गरेर आफ्नो जीवन गुमाए। तर, कांग्रेसको जीवन समाप्त पार्ने अधिकार देउवालाई छैन।

शाही शैलीमा उत्रिए ओली

देउवामाथि कार्यकर्ताले धावा बोलिरहँदा प्रधानमन्त्री ओली भने जयजयकारको कावा खान मस्त छन्। असंवैधानिक कदम चालेर कामचलाउ सरकारको नेतृत्व गरिरहेका ओलीलाई उनका कार्यकर्ताले 'राजा आउ देश बचाउ' को शैलीमा 'केपी ओली जिन्दाबाद' भन्दै हुटिङ गरिरहेका देखिन्छन्। शनिबार देउवा बुढानीलकण्ठमा कार्यकर्ताको प्रतिरोध झेलिरहँदा प्रज्ञा भवन कमलादीमा ओली कार्यकर्ताको जयजयकार खाएर दंग थिए। केही अघिमात्र सुन्तला घारीको कुरा गरेका ओलीले सुन्तलाको माला बाँड्दा समर्थनमा हुटिङ चलेको थियो।

प्रचण्ड माधव सडकमा ओर्लिएपछि छताछुल्ल ओली शैलीको जबर्जस्त ढाकछोपका लागि अहिले उनका कार्यकर्ता लागिपरेका छन्। विरोध गर्ने जतिलाई ओलीले राजनीतिक हैसियत सम्झाउँदै कारबाहीको लाठी बर्साउने डर छ। त्यसैले जयजयकारमा उत्रनै पर्‍यो। ओली पनि गिरेरै वक्तव्यबाजीमा व्यस्त छन्। प्रचण्ड र माधव नेपाललाई तथानाम भन्न भ्याएकै छन्। 'हाम्रो त सदस्यता हैन नागरिकता नै जान्थ्यो होला,' ओलीको पछिल्लो रौद्र रूपले गगनसँग कम्युनिस्ट नेताहरूले भनेको यो कुरा प्रमाणित हुन्छ नै। स्थायी कमिटी फेस गर्न नसकेर र अविश्वासको प्रस्तावबाट भागेका ओलीको बचाउनमा सडकदेखि सामाजिक सञ्जालमा साइबर सेनाको परिचालित भएका छन्। यो सबै ओलीको कमजोरी ढाकछोपका लागि चालिएको कदम त हैन? असंवैधानिक कदममाथि पनि कार्यकर्ताको घोर समर्थन निरंकुश राजतन्त्रकालमा भन्दा बढ्ता देखिन्छ।

प्रतिनिधिसभा विघटनपछि सार्वजनिक कार्यक्रममा निस्केका प्रधानमन्त्री ओली यसरी प्रस्तुत भएका छन् कि जुन राजसी छाँट राजामा भन्दा बढी देखिन्छ। दायाँबायाँ जिन्दावादका नारा घन्काउँदै साइरन बजाउँदै ओहोरदोहोर चलिरहेको सुनेर ओलीको। कार्यकर्ताको महिमा गान सुनेर ओली पक्कै मक्ख परेका छन् होला। सुदूरपश्चिमको धनगढी पुग्दा होस् या बबरमहलको कार्की ब्याङ्क्वेटमा ओलीको असंवैधानिक कदमको प्रशंसा गर्दै नाराबाजी गर्नेको कमी देखिँदैन। के विपक्षीले भनेझैँ यही हैन र अधिनायकवादको शैली?

लाग्छ प्रधानमन्त्री ओली हान्स क्रिश्चियन एन्डरसनले लेखेको कथा 'बादशाहको नयाँ पोसाक'को पात्र बन्ने लयमा छन्। त्यसै त हैन प्रधानमन्त्रीज्यू?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell