इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले ससुओलोमाथि जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले ३-१ गोल अन्तरले जित निकालेको हो।
पहिलो हाफको अतिरिक्त समयमा ससुओलोका पेड्रो ओबिएङले युभेन्टसका फेडेरिको किएजालाई पहिलो हाफको अतिरिक्त समयमा खराब ट्याकल गरेपछि रेड कार्ड खाँदै बाहिरिएका थिए। पहिलो हाफमा घरेलु टोली १० खेलाडीमा सीमित ससुओलोसँग गोल गोलरहित बराबरीमा रोकिएको थियो।
दोस्रो हाफमा ड्यानिलोले युभेन्टसलाई अग्रता दिलाए। उनले खेलको ५० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर ५८ औं मिनेटमा ग्रेगोइर डेफ्रेलले ससुओलाका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै खेलको ८२ औं मिनेटमा एरोन रमसले गोल गर्दा युभेन्टसले फेरि अग्रता कायम गर्यो। र, अतिरिक्त समयमा क्रिस्टियानो रोनाल्डोले गोल थप्दै युभेन्टसको जित सुनिश्चित गरे।
जितसँगै १६ खेलबाट ३३ अंक जोडेको युभेन्टस तालिकाको चौथो स्थानमा छ। तालिकाको शीर्षस्थानमा १७ खेलबाट ४० अंक जोडेको एसी मिलान छ भने १७ खेलबाट ३७ अंक जोडेको इन्टरमिलान दोस्रो स्थानमा र ३४ अंक जोडेको रोमा तेस्रो स्थानमा छ।
