PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बुलबुले विस्तार तर व्यवस्थापन नहुँदा जताततै फोहोर, 'पानी नै छैन, ताल रे!'



पी बी खड्का

बुलबुले विस्तार तर व्यवस्थापन नहुँदा जताततै फोहोर, 'पानी नै छैन, ताल रे!'

सुर्खेत : कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बुलबुले उद्यान पूर्वाधारसहित थप स्तरोन्नति गरिएको छ। सुर्खेत उपत्यका नगरविकास मातहत रहेको कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्य बुलबुले तालको विस्तार गरिए पनि व्यवस्थापन भने निकै कमजोर छ। पर्यटकको प्रमुख आकर्षणको केन्द्र ताल सरसफाइ र उचित व्यवस्थापन नहुदाँ पर्यटकहरु खिन्न बनेर फर्कन्छन्।

मुख्य तालको अवस्था नै नाजुक भएपछि पर्यटकहरु निराश हुने गर्छन्। बुलबुले तालको विस्तार गरिए पनि तालको कुनै भाग सुक्खा छ भने, पानी भएको भागतिर झार, प्लास्टिक र सिसाका बोत्तलजस्ता फोहोरले भरिएको छ।

‘पछिल्लो समय बुलुबले तालको पूर्वाधार विकास गरिएको रहेछ। गार्डेनहरु सबै राम्रो छ,’ नेपालगञ्जबाट ताल हेर्न आइपुगेकी रेश्मी भुषाल भन्छिन्, ‘बुलबुले धारा र ताल वरीपरी सरसफाई र फोहोर व्यवस्थापन गरे थप राम्रो हुने थियो।’

पर्यटकका लागि समेत फोहोर फाल्ने डस्टविनको व्यवस्था बढी गर्नुपर्ने बताउँछिन् उनी। ‘बगैँचा र ताल वरीपरी फोहोर फाल्ने डस्टविनहरु राखिदिनुपर्छ,’ भन्दैथिइन्,‘तर, तालको अवस्था देखेर दुख लाग्यो। ताल रे तालमा पानी नै छैन।’

बुलबुले उद्यानको पूर्वाधारसहित थप स्तरोन्नती भएपछि पर्यटकको संख्या भने ह्वात्तै बढेको बुलबुले उद्यानले जनाएको छ। उद्यानको तथ्यांकअनुसार तालको विस्तार भएसँगै सरदर दैनिक पाँचदेखि सात हजारको हाराहारीमा पर्यटक आउने गरेका छन्। शनिबार र अरु बिदाको दिन २० देखि ३० हजारसम्म घुम्न आउने गरेको तथ्यांक छ।

बुलबुलेमा अहिले पिकनिक र घुम्न आउनेको लर्को लाग्ने गरेको छ। कैलालीबाट पिकनिक समूहमा आइपुगेकी मेलिना अधिकारी पनि सरसफाईमा जोड दिनुपर्ने बताउँछिन्। ‘यसअघि बुलबुले ताल भनेर नाम मात्रै सुनेको थिए अहिले आएर देख्न, घुम्न पाईयो,’ अधिकारी भन्छिन्,‘जति बुलबुले भनेर चर्चा र बयान हुन्छ, त्यत्तिकै सरसफाई व्यवस्थापनमा ध्यान दिनुपर्ने देख्छु।’

यसो त घुम्न आउने स्वयंम सरसफाइमा ध्यान दिनुपर्ने र बजार क्षेत्रको ढल व्यवस्थापनमा हुनुपर्ने हरिप्रसाद पौडेलको तर्क छ।

‘फोहोर व्यवस्थापनका लागि घुम्न आउने व्यक्ति पनि जिम्मेवार भएर राखिएका डस्टविनहरु र फोहोर फाल्ने यरियामा फोहोर फाल्ने गर्नुपर्छ,’ पर्यटक पौडेल भन्छन्, ‘बजार क्षेत्रको ढल पनि बुलबुले एरियमा आउने हुदाँ बजार क्षेत्रको ढल व्यवस्थापनमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ।’

बुलबुले उद्यानको २० वर्षे गुरुयोजनाअनुसार बुलबुले ताल विस्तारको काम अघि बढेको हो। ताल विस्तारका लागि जिम्मा पाएको वन तथा वातावरण निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६ मा टेन्डर प्रक्रियामार्फत् काम थालिए पनि गत आर्थिक वर्ष मात्रै काम अघि बढेको हो।

विस्तार हुनुपूर्व ११ हजार वर्गमिटर फराकिलो बुलबुले ताल तीन गुणा अर्थात २८ हजार वर्गमिटर फराकिलो बनाईएको छ। ताल विस्तारका लागि हालसम्म एक करोड ८४ लाख रुपैयाँ खर्च भएको वन तथा वातावरण निर्देशनालयका निर्देशक शिवराम अधिकारीले जानकारी दिए। तालभित्र माटो नखसोस् भनेर रिटेरिङ्ग पर्खाल लगाइएको छ। तालको वरिपरि २० वटा सोलार बत्ती जडान गरिएको छ। तालको पश्चिमतर्फ इत्राम खोलाको दुवैतर्फ ७६ लाख बराबरको ग्याभिङ्गको काम भइरहेको छ भने, बाँकी पूर्वाधारको काम अघि बढाइएको छ।

‘बुलबुलेको गुरुयोजना अनुसार काम हुन त अझै केही वर्ष लाग्छ,’ निर्देशक अधिकारीले भने, ‘११ हजार वर्गमिटर रहेको ताल अहिले तीन गुणा विस्तार गरेका छौँ।’

तालमा मनोरञ्जनका लागि डुंगाको व्यवस्थापनसँगै, माछा मार्ने, सुरक्षाका लागि तालको रिटेरिङ वालमा रेलिङ लगाउने काम बाँकी रहेको छ।

‘पर्यटकलाई मध्यनजर गरेर तालमा डुंगा, माछा मार्ने र तालको रिटेरिङ वालमा रेलिङ लगाउने काम गर्नै छ,’ अधिकारी भन्छन्, ‘तालको कुनै भागमा पानी अडिने छ, तालको बाँकी मर्मत सुधार र सरसफाईको लागि मन्त्रालयमा बजेट माग गरेका छौँ।’ मन्त्रालबाट बजेट प्राप्त भए तालको बाँकी काम अघि बढाईने निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell