PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ट्रम्पका लागि कष्टकर हुनेछन् यी ९ दिन, महाअभियोगको सामनादेखि उपराष्ट्रपतिबाट हटाइनेसम्मको खतरा



पहिलोपोस्ट

ट्रम्पका लागि कष्टकर हुनेछन् यी ९ दिन, महाअभियोगको सामनादेखि उपराष्ट्रपतिबाट हटाइनेसम्मको खतरा

अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले अबको ९ दिनमा सपथ लिँदैछन्। ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पका लागि अब ९ दिनमात्र बाँकी छ। उनका पछिल्ला ९ दिन राजनीतिक रुपमा कष्टकर हुनेछ।

गत बिहीवार युएस क्यापिटोल (अमेरिकी संसद भवन) मा ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि उनीमाथि महाअभियोग लगाएर हटाउनेदेखि २५ औं संशोधन प्रयोग गर्दै उपराष्ट्रपतिले हटाउनेसम्मका कदमबारे चर्चा चलिरहेको छ।

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगसहित हटाउनका संसदले तयारी गरिरहेको बताएको एनबीसी न्यूजले जनाएको छ। एनबीसीसँगको अन्तर्वार्ताका क्रममा उनले सोमवार नै प्रक्रियालाई अगाडि बढाउने बताएकी छिन्।

त्यसका लागि सोमवार हाउस मेजरिटी लिडर स्टेनी होयरले हाउसमा उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनको प्रयोग गर्दै ट्रम्पलाई काम गर्न अयोग्य घोषित गर्दै हटाउन निर्देशन दिने प्रस्ताव पेश गर्ने पेलोसीले बताएकी छन्। सो प्रस्तावका लागि सर्वसम्मतिको प्रयास हुने बताएकी छिन् उनले। यदि प्रस्ताव सर्वसम्मत भएन भने मंगलवार सदनमा मतदान हुने बताएकी छिन्।

यदि उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र राष्ट्रपतिलाई नहटाए तत्काल सदनमा महाअभियोगको प्रस्ताव अगाडि बढाइने समेत सभामुख पेलोसीले बताएकी छिन्।

'हाम्रो संविधान र प्रजातन्त्र बचाउनका लागि हामी तत्काल नै कदम अगाडि बढाउने छौँ। किनकी दुवैमाथि राष्ट्रपतिबाट खतरा भएको छ। दिन घर्किँदै जाँदा थप खतरा बढ्दै जाने छन्। त्यसैले पनि तत्काल कदम चाल्न आवश्यक छ,' पेलोसीले भनेकी छिन्। 

यसअघि सिनेटर पाट टोमीसहितका रिपब्लिकन सिनेटरहरुले राष्ट्रतपि ट्रम्पलाई राजीनामाका लागि आग्रह गरेका थिए। ट्रम्पलाई महाअभियोगबाट हटाउन समय लाग्ने भए पनि हाउसले ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव पारित गर्ने र सो सम्बन्धि प्रस्ताव जो बाइडेनको पहिलो १०० दिनपछि सिनेटमा पठाउने गरी तयारी गरेको बताएका छन्। जसले उनलाई पुन राष्ट्रपतिमा उठ्न प्रतिवन्ध लगाउने छ।

संसदबाट महाअभियोगको तयारी भइरहँदा बहुमत अमेरिकी जनताले ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउनुपर्ने प्रतिक्रिया दिएका छन्। आइतवार सार्वजनिक भएको एबीसी न्यूज/आइपीएसओस सर्वेक्षणले ५६ प्रतिशत अमेरिकीले ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउनुपर्ने जनाएका छन्। ४३ प्रतिशतलेमात्र उनलाई हटाउन नहुने बताएका छन्।

जनवरी ८ र ९ मा गरिएको सर्वेक्षणमा ५० प्रतिशत भन्दा बढी अमेरिकीले ट्रम्पलाई महाअभियोग वा २५ औं संशोधनबाट हटाउनुपर्ने बताएका हुन्।

सन् २०१९ मा डेमोक्र्याटहरुले ट्रम्प माथि महाअभियोग लगाउँदा ४० प्रतिशत अमेरिकीले मात्र उनलाई महाअभियोग लगाउनुपर्ने पक्षमा मत दिएका थिए।  अमेरिकी संसदमा भएको आक्रमणसँगै ट्रम्प माथि महाअभियोग लगाउनुपर्ने मत बढेको हो। 

पछिल्लो सर्वेक्षणले ६९ प्रतिशतले ट्रम्पले अमेरिकी प्रजातन्त्रको रक्षा नगर्ने प्रतिक्रिया दिएका छन्। ३० प्रतिशतले मात्र ट्रम्पले अमेरिकी प्रजातन्त्रको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, ५३ प्रतिशतले वाइडेनले प्रजातन्त्रको रक्षा गर्ने विश्वास लिएका छन्।

सर्वेक्षणले माइक पेन्सले पनि प्रजातन्त्रको रक्षा गर्ने कुरामा अमेरिकी विश्वस्त नभएको देखाएको छ। ५८ प्रतिशतले पेन्सले प्रजातन्त्रको रक्षा गर्न नसक्ने जनाएका छन्। त्यस्तै रिपव्लिकन कंग्रेसले पनि गर्न नसक्ने मत बढी छ।

६० प्रतिशतले अमेरिकी सर्वोच्च अदालतले प्रजातन्त्रको रक्षा गर्ने विश्वास ब्यक्त गरेका छन्। त्यस्तै ६८ प्रतिशतले बाइडेनको विजयी न्यायसंगत रहेको बताउँदै गर्दा ६७ प्रतिशतले अमेरिकी संसदमा भएको आक्रमणमा ट्रम्पको हात रहेको मानेका छन्। त्यसैले पनि ५६ प्रतिशतले उनलाई कार्यकाल अगावै ह्वाइट हाउसबाट हटाउनुपर्ने बताएका हुन्। 

ट्रम्पलाई कार्यकाल अगावै हटाउनुपर्ने मत अमेरिकी इतिहासमा पहिलो पटक देखिएको हो। यसअघि विल क्लिन्टनलाई मोनिका लेविन्स्कीसँगको अफेयर पछि भएको सर्वेक्षणमा ४० प्रतिशतले मात्र हटाउनुपर्ने पक्षमा मत राखेका थिए।

तर, अहिलेको महाअभियोग क्लिन्टनको भन्दा फरक छ। त्यतिबेला क्लिन्टन प्रसिद्ध थिए भने महाअभियोग थिएन।  त्यस्तै रिचर्ड निक्सन माथिको महाअभियोगको पक्षमा पनि करिब ४० प्रतिशतको मत थियो। सन् १९७४ को फेब्रुअरी मा उनीमाथि महाअभियोगको चर्चा थियो।

पछिल्लो समय उनको पक्षमा रिपब्लिकनहरुको समर्थन पनि घट्दै गएको छ। १५ प्रतिशत रिपव्लिकन पनि उनलाई महाअभियोग लगाएर हटाउनुपर्ने पक्षमा उभित्रएका छन्। अमेरिकी संसदमाथि भएको आक्रमणले अमेरिकीहरु राष्ट्रपति ट्रम्पप्रति खुशी छैनन्। र, राष्ट्रपतिलाई कार्यकाल अगावै हटाउनुपर्ने अलोकप्रिय पक्षमा ठूलो कदम चाल्नुपर्ने राय ब्यक्त गरिरहेको सीएनएनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell