PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

उत्तर कोरियाली वर्कर्स पार्टीको विधान परिवर्तन, किम बने शक्तिशाली महासचिव, बहिनी किम पोलिटव्यूरोबाट आउट



पहिलोपोस्ट

उत्तर कोरियाली वर्कर्स पार्टीको विधान परिवर्तन, किम बने शक्तिशाली महासचिव, बहिनी किम पोलिटव्यूरोबाट आउट

सत्तारुढ वर्कस् पार्टीको महाधिवेशन चल्दै गर्दा उत्तर कोरियाली सेनाले प्योङयाङमा सैन्य परेड प्रदर्शन गरेको छ। दक्षिण कोरियाको सेनाले सोमवार प्योङयाङमा सैन्य परेड भएको जनाएको दक्षिण कोरियाली न्यूज एजेन्सी योन्हापले जनाएको छ।

गत मंगलवार देखि उत्तर कोरियाको वर्कर्स पार्टीको ८ औं महाधिवेशन प्योङयाङमा चलिरहेको छ।

'हाम्रो सेनाले प्योङयाङको किम इल सङ स्वायरमा हिजो राती सैन्य परेड प्रदर्शन भएको संकेत फेला परेको छ,' दक्षिण कोरियाको संयुक्त सैन्य प्रमुखले जारी गरेको वक्तव्यमा भनिएको छ, 'दक्षिण कोरिया र अमेरिकी सैन्य अधिकारीहरुले यस विषयमा नजिकबाट नियालिरहेका छन्। र सम्भावित गतिविधिलाई निगरानी गरिरहेका छन्।'

प्योङयाङमा गत वर्ष अक्टोबर १० मा वर्कर्स पार्टीको स्थापना दिवसका दिन सैन्य परेड भएको थियो। त्यतिबेला प्योङयाङले नयाँ अन्तरदेशीय बलास्टिक मिसायल र सव मरिन लन्च बलास्टिक मिसायल प्रदर्शन गरेको थियो।

पार्टीको महाधिवेशनको क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले नयाँ हतियार प्रणाली विकास गरिरहेको बताएका थिए। त्यस्तै उनले अमेरिका सबैभन्दा ठूलो सत्रु भएको भन्दै आणविक कार्यक्रमलाई अगाडि बढाउने बताएका  थिए।

सत्तारुढ पार्टीले सैन्य प्रणाली बढाउँदै लैजाने निर्णय गरेको थियो।    

यसैबीच महाधिवेशनका क्रममा किम जोङ उनकी बहिनी किम यो जोङको भूमिकाको विषयमा प्रश्न उठाइएको योन्हापले जनाएको छ।

६ दिने महाधिवेशनका क्रममा आइतवार उनकी कान्छी बहिनीलाई पार्टी सदस्यको रुपमा राखिएको छैन। साथै उनलाई पार्टीको वैकल्पिक पोलिटव्यूरोमा समेत नराखिएको त्यहाँको कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाई उदृत गर्दै योन्हापले लेखेको छ।

पोलिटव्यूरोमा उनको अनुपस्थितिलाई लिएर दक्षिण कोरियाको गुप्तचर संस्थाले विश्लेषण गर्न सुरु गरिसकेको छ। यसअघिसम्म उनी डिफ्याक्टो दोस्रो नेताको रुपमा रहँदै आएकी थिइन्। प्रर्यवेक्षकहरुले किम यो जोङको उपस्थितिको विषयमा अहिले नै विश्लेषण गर्न गाह्रो हुने बताएका छन्।

सन् २०१८ सम्म गोप्य राखिएकी उनी त्यसयता उत्तर कोरियाको शासनमा प्रत्यक्ष संलग्न हुँदै आएकी थिइन्। सन् २०१८ मा इन्टर कोरियन समिटका बेला उनी आफ्ना दाजु किम जोङ उनको साथमा देखिएकी थिइन्। त्यसअघि दक्षिण कोरियामा भएको २०१८ को विन्टर ओलम्पिकमा उत्तरको प्रतिनिधित्व गर्दै उनी उपस्थित हुँदा विश्वको ध्यान तानिएको थियो।

उनले सन् २०१९ को अन्त्यमा पार्टीको अन्तर कोरियाली विभागको नेतृत्व गर्दै आएकी थिइन् भने २०२० को अप्रिलमा उनलाई वैकल्पिक पोलिटव्यूरो सदस्यको रुपमा मनोनयन गरिएको थियो। 

त्यस्तै, केही समय किम जोङ उन सार्वजनिक नहुँदा उनी फेरी चर्चामा आएकी थिइन। उनले नै अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा वक्तव्य दिएकी थिइन्। साथै जुनमा दक्षिण कोरिया विरुद्ध उनले अभियान चलाएकी थिइन्।

पर्यवेक्षकहरुले किम परिवारकी सदस्य रहेका उनको भूमिका कारण उनको भूमिका स्थायी खालको हुने अनुमान गरेका छन्। किम यो जोङ कहिल्यै पनि दाजु किमले जाँदा पोलिटव्यूरोमा वैकल्पिक वा पूर्ण सदस्यको रुपमा मनोनित गर्न सक्ने बताएका छन्।

त्यस्तै उनीहरुले उत्तर कोरियाले कुनै नयाँ एजेन्सी खोलेर त्यसको नेतृत्वको जिम्मा किमो यो जोङलाई दिन सक्ने आँकलनसमेत गरेका छन्। 

यता उत्तर कोरियाको वर्कर्स पार्टीको महाधिवेशनले सर्वोच्च नेता किमलाई महासचिवमा चयन गरेको छ। प्योङयाङमा सोमवार ८ औं महाधिवेशनको छैटौँ सत्रले महासचिवमा निर्वाचित गरेको योन्हापले जनाएको छ।

पार्टीको विधानलाई परिवर्तन गर्दै महासचिव प्रणाली लागू गर्दै किमलाई महासचिवमा निर्वाचित गरेको केसीएनएले जनाएको छ। परिवर्तित विधानमा महासचिव पार्टीको प्रमुख हुने र सम्पूर्ण पार्टी सञ्चालन गर्ने उल्लेख छ। पार्टीले केन्द्रीकृत र एकात्मक नेतृत्वलाई चयन गरेको छ।

साथै किम जोङ उन जुछे क्रान्ति र देश र जनताका महान प्रतीक भएको महाधिवेशनले पारित गरेको प्रस्तावमा भनिएको छ। साथै पार्टीको सिद्धान्त किम इल सङवाद र किम जोङ इलवादलाई अगाडि बढाउँदै पार्टीलाई अगाडि बढाउने विश्वास समेत गरिएको छ।

यसैबीच उत्तर कोरियाली सत्तारुढ पार्टीको महासचिवमा निर्वाचित भएको भन्दै विभिन्न देशका कम्यनिस्ट पार्टीहरुले किमलाई बधाई सन्देश पठाएको केसीएनएले जनाएको छ। 

कम्युनिस्ट पार्टी अफ सिरिया, सोसियलिस्ट युनियोनिस्ट पार्टी अफ सिरिया, रिभोलुस्नरी पार्टी अफ ब्रिटेन (माले), न्यू युगोस्लाभ कम्युनिस्ट पार्टी, युनिफाइड कम्युनिस्ट पार्टी अफ इटाली, अफ्रिकन नेशनल कंग्रेस अफ साउथ अफ्रिका, कम्युनिस्ट पार्टी अफ इक्वेडर, कम्युनिस्ट पार्टी अफ अष्ट्रेलिया, कम्युनिस्ट पार्टी अफ मेक्सिको, भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी), वर्कर्स पार्टी अफ बंगलादेश, बंगलादेश नेशनल सोसियलिस्ट पार्टी, बंगलादेश विपल्स लिग लगायतका पार्टीले बधाई सन्देश पठाएको समाचारमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell