PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अहिलेका सत्तासीनले एकीकरणको महत्व बुझेनन्, धर्मनिरपेक्षताका नाममा हिन्दु धर्म क्षतविक्षत पार्ने काम भएको छ: आरके मैनाली



पहिलोपोस्ट

अहिलेका सत्तासीनले एकीकरणको महत्व बुझेनन्, धर्मनिरपेक्षताका नाममा हिन्दु धर्म क्षतविक्षत पार्ने काम भएको छ: आरके मैनाली

काठमाडौं: पुराना वामपन्थी नेता राधाकृष्ण (आरके) मैनालीले पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणको महत्व नबुझिएको बताएका छन्।

‘शाह राजकालमा पृथ्वीनारायण शाहको के महत्व थियो? त्यो भन्दा धेरै आज गणतन्त्रकालमा नेताहरुले बुझ्नुपर्थ्यो। संघीयता पृथ्वीनारायण शाहको एकीकरणको विरुद्धमा छ। धर्मनिरपेक्षताको नाममा हिन्दु धर्मको विरोध भइरहेको छ,’ २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मैनालीले भने।

पृथ्वीनारायण शाह एक राजामात्र नभएर देश एकीकरणको महान व्यक्तित्व भएको मैनालीको भनाई छ। ‘अहिले जसरी शाहको विरोध गर्न लागिएको छ त्यो विरोध गर्दा के बिर्सनुभएन भने पृथ्वीनारायणले एकीकरण नगरेको भए आज नेपालै हुँदनथ्यो। नेपालै नभए हामी नेपालीको मुद्दामा बहस गर्ने ठाउँमा हुने थिएनौं,’ उनले भने, ‘किनभने दक्षिणको ब्रिटिस साम्राज्यले हाम्रा साना साना राज्यलाई निल्दै थियो। त्यस्तो अवस्थामा आज आम नेपालीले पृथ्वीनारायण शाहलाई राजामात्र होइन राष्ट्रिय एकीकरणको महान व्यक्तिको रुपमा सम्झिनुपर्छ र यो वास्तविकता पनि हो।’

शाहको योगदान र एकीकरणको महत्वलाई अघि लैजान जरुरी रहेको मैनालीको जोड छ। ‘अहिले सत्तासीनहरुले त्यसको महत्व बुझेका छैनन्। देश विखण्डनको दिशामा अघि बढिरहेका छन्। हिन्दु धर्मलाई क्षतविक्षत पार्ने दिशामा अघि बढेका छन्। त्यसको विरोधमा राष्ट्रिय एकताको महान अभियानलाई अघि बढाउनुपर्छ,’ उनले आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell