PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जोगबनीका पसलेले सोसल मिडियाबाटै डाक्न थाले नेपाली ग्राहक, प्रहरी असुलीमै व्यस्त



अनन्तराज न्यौपाने

जोगबनीका पसलेले सोसल मिडियाबाटै डाक्न थाले नेपाली ग्राहक, प्रहरी असुलीमै व्यस्त

विराटनगर : कोभिडका कारण सिलबन्दी गरिएको नेपाल–भारत सिमानालाई नेपाल सरकारले खोलेको छैन तर विराटनगरबाट पारि जोगबनी बजार गएर किनमेल गर्न अप्ठ्यारो पनि छैन।

नेपाल प्रहरीको कमजोर उपस्थिति र निस्क्रियताका कारण सर्वसाधारणलाई सीमावर्ती बजार जोगबनी गएर किनमेल गर्न सजिलो भएको हो।
दुई महिनाअघि विहारमा भएको विधानसभाको निर्वाचनसँगै भारतले सीमा क्षेत्र खुकुलो बनाए पनि नेपाल सरकारले अझै सीमा खोल्ने निर्णय गरेको छैन। तर, विराटनगर–जोगबनी आसपासका चोर बाटाबाट दिनहुँ हजारौँ नेपाली जोगबनी बजार गएर किनमेल गर्ने क्रम भने बढिरहेको छ।

विराटनगर–जोगबनी मूल नाकाको पूर्वमा पर्ने इस्लामपुर र मटेरवा तथा पश्चिमको दरैया बस्ती जोगबनी बजार आवतजावतका लागि मुख्य नाका बनेका छन्।

पारि जोगबनी गएर धेरै मूल्यका मालवस्तु खरिद गरेर ल्याउने सर्वसाधारणसित तीन वटै नाकामा खटिएका सुरक्षाकर्मीले ५ सय देखि ५ हजार रुपैयाँसम्म असुल्दै आएका छन्।

अवैध रूपमा यसरी सङ्कलन गरिएको रकम एक नाकामा मात्र दैनिक १ लाखभन्दा बढी हुने दाबी जानकारहरूले गरेका छन्। यसप्रकार दैनिक ३ लाखभन्दा बढी रकम नेपाल प्रहरीले नाकाबाट मात्र अवैध रूपमा सङ्कलन गरिरहेको छ। 

अर्कातिर जोगबनीका व्यवसायीले टेलिफोन गरीगरी र सीमा कटाउने भरिया राखेर व्यापार चलाइरहेका छन्। यसैबिच जोगबनीका तीन वटा कपडा पसलले फेसबुकमा खुल्लमखुल्ला सूचना बुस्ट गरेर भरियासमेतको मोबाइल नम्बर दिएका छन्।

कलकत्ता क्लोथ स्टोर, स्टोर वन र कीमेन गरी जोगबनीका ३ कपडा पसलले फेसबुकमा संयुक्त रूपमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘गएको वर्षमा कोरोनाले सारा विश्वलाई नै एउटा आतङ्कको माहौलमा बाँच्नुपर्ने अवस्थामा बस्न बाध्य गराएको थियो। हामी पनि यसबाट अछूतो रहेनौँ। सीमा बन्द भएका कारण केही समय अघिसम्म जोगबनी बजार छिर्ने अवस्था थिएन।’

सूचनामा अगाडि भनिएको छ,  ‘तर बिस्तारै भन्सार क्षेत्र भएर आवतजावत नखुले पनि दरैया, इस्लामपुर र मटेरवा बस्ती हुँदै जोगबनीसम्म आउन सजिलो हुँदै गएको छ। विराटनगर बजारबाट यी प्वाइन्टसम्म र भारततिर पनि जोगबनी बजारसम्म सवारीसाधन हमेसा उपलब्ध हुन्छ।’

सूचनामा सपिङ गर्ने सुनौलो अवसर भएको उल्लेख गर्दै नयाँ स्टक र भेराइटी लिन आउन अनुरोध गरिएको छ।

सूचनामा थप जानकारीका लागि ४ वटा नेपाली मोबाइल नम्बर पनि दिइएको छ।

सामाजिक अभियन्ता एवम् पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले सीमावर्ती भारतीय पसलेले सामाजिक सञ्जालमा सूचना नै निकालेर तथा त्यसलाई बुस्ट गरेर व्यवसाय चलाउन खोज्नु नेपालको प्रहरी–प्रशासनलाई ठाडो चुनौती हो भन्ने प्रतिक्रिया व्यक्त गरे।

ढुङ्गेलले प्रदेश नम्बर १ का डीआइजीको कार्यालयबाट डेढ किलोमिटर दक्षिणमै प्रहरीले खुल्लमखुल्ला घुस खाएर अवैध पैठारी गराउँदा नेपालको व्यवसायमा धक्का पुग्ने बताए।

चिनी व्यवसायी जीवन रिजालले भारतबाट तस्करी भएर आएको चिनी विराटनगरदेखि ४२ किलोमिटर उत्तरको धरानसम्म पुग्ने गरेको उल्लेख गरे।

‘दुई महिनादेखि तस्करीको चिनी छ्याप्छाप्ती छ,’ व्यवसायी रिजालको भनाइ छ,  ‘यसका कारण नेपालका उद्योगले उत्पादन गरेको र आधिकारिक रूपमा पैठारी गरेर ल्याएको चिनी सीमा छेउछाउका बजारमा बिक्री हुन गाह्रो भइरहेको छ।’

जोगबनी बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलोग्राम ६२ र तराईको खुल्ला बजारमा ८० रुपैयाँ छ। 

चामलका आयातकर्ता जितु तापडियाले लकडाउनका बेला सीमा क्षेत्रका उपभोक्ता आफ्नो पसलमा आएर चामल खरिद गरेको जानकारी दिए।
‘तर असार महिना लागेपछि दक्षिण क्षेत्रका उपभोक्ता आउन कम भयो, अहिले त ठप्प नै छ,’व्यवसायी तापडियाले भने,  ‘इस्लामपुर, दरैया र मटेरुवा नाकाबाट गरी दिनहुँ १ हजार बोराभन्दा बढी चामल अवैध रूपमा भित्रने गरेको छ। कडाइका लागि हामीले प्रशासनलाई बारम्बार गुहारे पनि कुनै सुनवाइ छैन।’

मोरङ प्रहरीका एसपी सन्तोष खड्काले तीन वटा छोटी नाकाबाट सामान्य आवतजावत गर्नेलाई प्रहरीले छाडेको भए पनि सङ्गठित तस्करीलाई कडाइ गरेको जानकारी दिए।

एसपी खड्काले चाडपर्व, बिहाबारी र बिहेबटुलोजस्ता कामका लागि आवतजावत गर्नेलाई प्रहरीले खुकुलो बनाएको भए पनि किनमेल गर्नेलाई नछाडेको दाबी गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell