PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

निर्वाचनका कार्यक्रम रोक्ने प्रचण्ड-नेपालको आग्रहमा आयोगले भन्यो : सर्वोच्चको आदेश भएमात्रै रोकिन्छ



पहिलोपोस्ट

निर्वाचनका कार्यक्रम रोक्ने प्रचण्ड-नेपालको आग्रहमा आयोगले भन्यो : सर्वोच्चको आदेश भएमात्रै रोकिन्छ

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले निर्वाचन कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए। निर्वाचन आयोगमा उनीहरुले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेको निर्वाचन आयोगका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए।

आयोगले भने नेकपा नामकै विवाद भएकाले आफूसँग भएका कागजातको नक्कल उपलब्ध गराउने र बाँकी सर्वोच्चबाट लिन जवाफ दिएको छ। 'नेकपा नामकै पनि बिवाद छ। ऋषि कट्टेलसँग नेकपा बनेपछि बिवाद भएको थियो। यसबारे हामीसँग भएका कागजातको नक्कल लानुहोला भनेका छौं। बाँकी सर्वोच्चमा भएकाले उतैबाट लिन अनुरोध गरेका छौं,' गौतमले भने।

सर्वोच्चमा संसद विघटन सम्बन्धिको मुद्दा बिचाराधिन भएकाले निर्वाचनका कार्यक्रम रोक्न आफूहरुले माग गरेको नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए। 'संसद विघटन सम्बन्धिकै मुद्दा सर्वोच्चमा बिचाराधिन भएकाले हामीले निर्वाचनका कार्यक्रम रोक्न निर्वाचन आयोगलाई लिखित आग्रह गरेका छौं,' उनले भने।

निर्वाचन आयोगले भने निर्वाचनका कार्यक्रम रोक्न सर्वोच्चको आदेश चाहिने भएकाले तत्काल नरोकिने बताएको पोखरेलले जानकारी दिए। 'सरकारले निर्वाचन घवषणा गरेपछि कार्यक्रम अघि बढाउने हाम्रो दायित्व हो भन्नु भयो। निर्वाचनका कार्यक्रम सर्वोच्चले आदेश गरेपछि मात्रै रोक्न सम्भव छ भन्नु भयो,' निर्वाचन आयोगलाई उदृत गर्दै पोखरेलले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेर बैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वचन आयोगले तयारी अगाडि बढाएको हो।

व्यवहारिक रुपले विभाजित भइसकेका ओली र प्रचण्ड माधव समूह आधिकारिकताका लागि निर्वाचन आयोगलाई पर्खिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell