PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भाइरल भिडियो : कार्यकर्ता फकाउन पुगेका मन्त्री रायमाझीलाई कार्यकर्ताको र्‍याखर्‍याख्ती



पहिलोपोस्ट

भाइरल भिडियो : कार्यकर्ता फकाउन पुगेका मन्त्री रायमाझीलाई कार्यकर्ताको र्‍याखर्‍याख्ती

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको घोषणा गरेका छन्। वैशाखमा निर्वाचन गराइ छाड्ने दाबीसहित कार्यकर्ता बटुल्न ओली आफै खटिइरहेका छन्। अर्कातिर आफ्ना मन्त्रीहरुलाई पनि गाउँगाउँमा खटाएका छन्।

पार्टीमा विभाजन देखिँदै गर्दा केही पूर्व माओवादी समूहका नेताहरुले ओलीलाई साथ दिएका छन्। साथ दिने मध्ये टोपबहादुर रायमाझी पनि एक हुन्। ओलीलाई प्रतिनिधिसभा विघटनमा साथ दिएसँगै मन्त्री पड्काएका रायमाझी आफ्नो गृह जिल्ला पुगेका छन्। गृह जिल्लामा पुराना कार्यकर्ताहरु फकाउन उनी पीएसो र प्रहरी सुरक्षाका बिच बारीबारी पुगेर भेटिरहेको भिडियो यतिखेर भाइरल छ।

कार्यकर्ताहरुले उनलाई सोधेको एक मात्र मुख्य प्रश्न : 'अहिले प्रतिनिधिसभा विघटन गर्‍यौँ। ठिक छ। चुनाव त प्रहरी प्रशासन लगाएर पनि गरौला। तर, भोलि आउनेले पनि ६ महिनामा नै मध्यावधिक चुनाव घोषणा गर्‍यो भने तिमीहरु के गर्छौँ?'

सामाजिक सञ्जाल फेसबुकमा गोर्खे साइलो 'सुरज अधिकारी' नामका प्रयोगकर्ताले आइतवारको यस्तै सम्बादलाई पोस्ट गरेका छन्।

भिडियोमा कार्यकर्ता फकाउँदै मन्त्री रायमाझी भन्दैछन् : 'मैले यसपाली गाँउको विकास गर्न पहल गर्दै थिएँ। म हिरो हुने बेलामा पार्टी फुट्यो। तर अब हामी सबै मुल नेतृत्वमा अडिग छौँ। थोरै पाँच प्रतिशत यताउता हुनुहुन्छ। तिनलाई छाडिदिम्।'

२०४८ सालदेखि साथ दिएको बताउँदै ती कार्यकर्ताले प्रश्न गरे, 'अहिले जसरी हिँड्नु भएको छ नि त्यसैगरी पार्टी फुट रोक्दै गर्दा ६ महिनाको कार्यकालमा अर्घाखाँची आएर कार्यकर्तालाई किन भेट्नु भएन?'

'इमान्दारिताका भन्नुपर्छ मैले नसकेर हो। महिनामा तीन पटक आउने म यो ६ महिनामा तीन पटक आउन पाइन्। उहाँ गोठालाईँ गर्नुपर्‍यो नि। कहाँ विर्गार्छन् भने रात दिन। अहिले त म अलिअलि पग्रिएको हो। मेरो हालत त ल अब कोरोनाले सिद्याउने भयो। यही बेला कोरोना लाएर सिद्याउने हो कि भन्ने भयो। मेरो दिल यति टुट्यो कि, यी जनताका कुरा विकास सिकास छाडेर लाइयो। एक्कासी घचक्कै भइसकेपछि माथि समाल्ने कि, जिल्ला समाल्ने कि होसमा आउने कि...?,'

उनले यति भन्दै गर्दा फेरि ती कार्यकर्ताले सोध्छन्- 'माथि त समाल्न सक्नुभएन्। भताभुंग भइहाल्यो। असफल त हुनु भयो।'

फेरी उनलाई रोक्दै मन्त्री रायमाझीले भने: '६ महिना त टोपबहादुर रायमाझीले रोक्यो नि त। पार्टी फुट्यो। नफुट्या भए त टोपबहादुर रायमाझी हिरो हुन्थ्यो नि त। पार्टी फुट्यो, पिर त पर्छ नि।'

कार्यकर्ताहरुले उनलाई आफ्नो परिवेश सम्झिन सुझाब दिए। साथसाथै रायमाझीसँग अब हामीले के गर्ने भनेर प्रश्न गरे।

'अझै पनि हामीले देश सपार्न प्रयास गर्छौँ। अझै पनि साथीहरुलाई गलाएर कसैको हैसियत छैन चुनाव लडेर जित्ने। जिल्लामा पार्टीलाई एक ढिक्का राक्छौँ। हिजो हामीले फुटेर बिगार्‍यौँ। अर्घाखाँची जिल्लामा मूल नेतृत्व एक ठाउँमा राखेर जाने भनेका छौँ।'

फेरि अर्का कार्यकर्ताले प्रश्न गरे : 'नेता मात्र भएर हुन्छ कि कार्यकर्ता पनि लिएर हिड्नुहुन्छ?'

उनले पाँच सात दिन घुमेपछि ८० प्रतिशत ठिक भएको र अझै १५ प्रतिशत आफ्नो हुने र पाँच प्रतिशत कहाँ जान्छ त्यो छाडिदिम भन्दै पन्छिन खोजे।

'तपाईँले संबिधान र गणतन्त्र निर्माणका लागि जनयद्वमा जाँउ भन्नुभो, हामी सबैले आर्थिक, भौतिक सम्पूर्ण सहयोग गरेर सफल बनायौं। संविधान निर्माण गर्न भोट माग्न आउनु भयो। युवा उर्जाशील उमेद्ववार भनेर तपाईँलाई साथ दियौँ। पहिलो पठायौँ। संविधान बनेन्। फेरि पठायौँ। संविधान बल्लबल्ल बन्यो। दुई तिहाई थेग्न नसक्ने तपाईँहरूलाई अब के आधारमा तपाईँका पछि लाग्ने?,' ती कार्यकर्ताले सोधे।

अहिले बिग्रेको आफ्नो कारणले नभई माथिको कारणले भएको बताएर छाहारीतिर ओत लाग्न पुगे उनी। त्यसपछि रायमाझीसँगै आएका अर्का ब्यक्तिले सम्झाउने प्रयास गरे- 'अहिले पार्टी फुट्नुमा भारतीय शक्ति लागि परेको छ।'

यति भन्दै गर्दा अर्का कार्यकर्ता बोले- 'अहिले दुई तिहाईको सरकारलाई विदेशी लाग्नु भन्ने कुरा ठिक छ छाड्नुस्। अहिले दुई तिहाईको सरकारबाट प्रधानमन्त्रीले मध्यावधिक निर्वाचन घोषणा गर्नुभएको छ। फेरि भोलि केपीले भन्दा अर्को व्यक्ति आएर फेरि बहुमत ल्याएर ६ महिनापछि मध्यावधिक चुनाव ल्यायो भने तपाईँहरु के भनेर जानुहुन्छ त्यो भन्नुस्? त्यसले मध्यावधिक चुनाव माग्न पाउने कि नपाउने? संविधानमा त्यो उल्लेख छ कि छैन? चुनाव त हुँदैन। त अब प्रहरी प्रशासन पत्रकार लगाएर चुनाव गराए भने केपी ओलीले। बहुमत गराएर फेरि ६ महिना पछि मध्यावधिक चुनाव गराए भने के गर्ने?'

छहारीमा छेलिएका मन्त्री रायमाझीले मुख फोरे : 'एक वर्ष असिनाले मकै गहुँ खायो भनेर गहुँ नरोप्ने त कुरा भएन् नि?'

कार्यकर्ता अझ सन्तुष्ट हुँदै थिए। सोधे : 'संविधान तपाईँको हो कि होइन?'

रायमाझीसँग आएका ब्यक्ति फेरि बोल्न थाले : 'संविधान सच्चिन्छ। संशोधन हुन्छ। मृत्य दस्तावेज होइन।'  

त्यति भन्दै गर्दा कार्यकर्ताको माझवाट आवाज आयो : '१५ हजार शहीदको रगतले बनेको संविधान हो।'

यति भन्दै गर्दा कार्यकर्ता बोलिरहे। रायमाझीसँग आएका अर्का कार्यकर्ताले 'ल धेरै भयो बिदा' भन्दै अगाडि बढे। रायमाझी पनि हात हल्लाउँदै 'फेरि बसौँला है' भन्दै हात जोडे। र, लागे उकालोतिर।

तर, कार्यकर्ताबाट आवाज आउँछ :  'अब नयाँ जेनेरेशनलाई दिने हो।'

रायमाझीले उनलाई माथि आउन भने। तर, ती पुराना कार्यकर्ताले भने : 'तपाईँका कुरा धेरै सुनियो। नसुनेकालाई सुनाउनु होला। अब भाषणका पछि लाइन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell