काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा भोलि आयोजना गर्न लागेको १७ औं पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको तयारी पूरा गरेको छ।
कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागेको एनएसजेएफले जनाएको छ। अवार्ड कार्यक्रम सेमी भर्चुअल हुनेछ।
अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको युट्युब र फेसबुक पेज सहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ।
यस वर्ष समेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ। वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन्।
पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन्। ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन्।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने छ।
वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ।
