PahiloPost

Nov 28, 2024 | १३ मंसिर २०८१

उपेन्द्र यादवले भने, ‘पार्टीको झगडा मिलाउन नसकेका ओलीले सन्केर संसद विघटन गरे’



राधेश्याम पटेल

उपेन्द्र यादवले भने, ‘पार्टीको झगडा मिलाउन नसकेका ओलीले सन्केर संसद विघटन गरे’

वीरगंज : जनता समाजवादी पार्टीका प्रमुख कार्यकारी अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्र समाप्त नभएसम्म लोकतन्त्र नआउने बताएका छन्। जसपा पर्साले वीरगंजमा आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओलीतन्त्रको कारण लोकतन्त्र खतरामा रहेकोले बुद्धिजीवी, समाजसेवी, लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलगायत जनताहरू एकजुट भई अगाडि बढ्न आह्वान गरे।

उनले नेपाली कांग्रेसले अहिले दोहोरो चरित्र देखाउँदै विरोधको नाटक मञ्चन गरेको आरोप लगाए। ओली सरकारसँग मिलेर संवैधानिक अंगलगायत अन्य विशिष्ट तहमा आफ्नो नेता, कार्यकर्ताहरूलाई भर्ना गरिरहेको र अर्कोतिर विरोधको नाटक गरेर दोहोरो चरित्र देखाएको उनले दावी गरे। अध्यक्ष यादवले देशमा ओलीतन्त्रले निरङ्कुश शासन लाद्न खोजेको, सेना परिचालन गरी देशलाई धरापमा पार्ने योजनाबद्ध तरिकाले वर्तमान सरकार अगाडि बढेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले सरकार तथा पार्टी चलाउन नसकेको कारण असफल भएको र पागलपन देखाउँदै संसद विघटन गरेको आरोप लगाए। पार्टीको झगडा मिलाउन नसकेका ओलीले सन्केर संसद विघटन गरेर लोकतन्त्र र संविधानको हत्या गरेको बताए।

पार्टीका कार्यकारी सदस्य लक्ष्मणलाल कर्णले अन्य तानाशाह जस्तै प्रम ओली तानाशाह बन्दै गएको बताए। संविधान च्यातेर संविधानभित्र प्वाल पारेर कुनामा थुपारेका ओलीले चाँडै संविधान सिध्याउने चलखेलमा लागेको बताए। संविधान निर्माणको बेला ओलीले स्वीकार नगरेको संविधान लागू हुन नदिन संसद विघटन गरेको उनले आरोप लगाए। नेता कर्णले संसद पुनर्स्थापना भयो भने ओलीलाई जनताले घिसारेर रोडमा ल्याउने बताए।

उनले ओलीको अर्को योजना अनुरूप राष्ट्रियसभासमेत खारेज गर्ने कदम चाल्न थालेको बताए। राष्ट्रियसभा सञ्चालन हुँदा सांसदहरूले प्रश्न गर्न थालेपछि प्रम ओलीले जवाफ दिनुको साटो चौबीस घण्टाभित्र संसद अधिवेशन अन्त्यको घोषणाले राष्ट्रियसभा सिध्याउन शुरू गरेको बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ओलीले जनतालाई भ्रममा पारिरहेको बताए। संविधानले दिएको अधिकारलाई संरक्षण गर्दै जसपा अन्य अधिकारको लागि लडिरहेको बेला बीचमै संविधानविरोधी काम भएकोले आम जनतालाई सडकमा आउन आग्रह गरे। देशमा प्रगति तथा विकासको काम स्थिर भएको भन्दै उनले राजनीतिक माहोल गर्माएको बताए।

उनले भने, ‘सदन छैन, सडकमा आन्दोलन भइरहेको छ। अर्कोतिर ओली सरकारले काण्डैकाण्डमा मुछिन थालेपछि देशको अस्तित्व नै खतरामा परेको छ।’

कार्यक्रममा सहभागी हुन आएका जसपाका कार्यकर्ताहरू बाजा, हात्ती, घोडासहित जुलुस निकालेर चर्को नाराबाजी गर्दै सभास्थलमा पुगेका थिए। पालिका तथा वडास्तरीय ब्यानरसहित कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell