PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पर्सा, बारा र रौतहटमा भव्यताका साथ मनाइयो पृथ्वी जयन्ती



पहिलोपोस्ट

पर्सा, बारा र रौतहटमा भव्यताका साथ मनाइयो पृथ्वी जयन्ती

वीरगंज : पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती वीरगंजमा मनाइएको छ। राजभक्त, देशभक्त समूह पर्साको आयोजनामा महावीर मन्दिरमा भएको कार्यक्रममा राजावादीहरू पशुपति विक्रम शाह, उषा शाह, राजकिशोर चौबे, शम्भु चौरसिया, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले मन्तव्य व्यक्त गरे।

कार्यक्रम समूहका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको थियो। यसैगरी, राष्ट्रिय सरोकार मञ्चले घण्टाघरमा शाहको जन्मजयन्ती मनाएको थियो। संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति विक्रम शाह, डा दीपक शाक्य, उषा शाह, पत्रकार महेशचन्द्र गौतम, युवराज खड्कालगायतले मन्तव्य व्यक्त गरे।

यसैबीच, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोसत्व निजगढमा पनि मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिको आयोजनामा राजमार्गको शहीद चोकबाट निस्किएको र्‍याली बुद्धचोक हुँदै पुनः शहीद चोकमा पुगी सभाका परिणत भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एंव राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य मोहन यादव रहेका थिए। लोकतन्त्र, संघीय गणतन्त्रमा दलहरूले राजा र राजसंस्थाप्रति जति नकारात्मक भ्रमहरू छरेपनि यर्थात कुरा जहिले पनि घाम जस्तै छर्लङ्ग हुने भन्दै राजतन्त्र बिना मुलुकका शान्ति, सुरक्षा, अमन चयनसँगै विकास नहुने यादवले बताए।

राजाहरूको योगदान, त्यागबाट नै राष्ट्र स्वभिमान रहेको स्मरण गराउँदै राजसंस्था पुनर्स्थापना, हिन्दुराज्य कायम हुनु पर्ने राप्रपाको प्रमुख एजेण्डा रहँदै आएको उनले बताए।

‘नेपाल राष्ट्र सम्झने बित्तिकै जो कोही नेपालीहरूको मन मस्तिकमा राष्ट्र निर्माता बडा महाराज उनै पृथ्वीनारायण शाहको योगदान झलझली सम्झना आउने छ,’ उनले भने।

त्यसैगरी, राष्ट्रवादी समूह सिम्रौनगढका अध्यक्ष शिवशंकर ठाकुरको अध्यक्षतामा पूर्वराजा शाहको तस्वीरमा फूलमाला अर्पण गरिएको थियो। कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बारेमा सहभागी वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए। समूहका उपाध्यक्ष प्रेम साह कानू, मुनिफ अन्सारी, उमेश पण्डित, जानकीदेवी, झकड साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी, राष्ट्रवादी समूह, विश्व हिन्दू सङ्घ, देशभक्त समूहको संयुक्त आयोजनामा रौतहटको गौरमा पृथ्वी जयन्ती भव्य रूपमा मनाइएको छ। ‘राजा ल्याऊ, देश बचाऊ’, ‘हामो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाएर राजावादीहरूले नगर परिक्रमा गरेका थिए। नगर परिक्रमापछि विपी चोकमा गरिएको कोणसभामा सत्येन्द्र सिंह, वीरेन्द्र गिरी, अशोक सिंह, सुरेश जैसवाललगायतले पृथ्वीनारायण शाहको जीवनीबारे चर्चा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell