काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज बसेको बैठकमा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिँदै निर्वाचन केन्द्रित वजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वजेटको अभाव हुन नदिइने प्रतिवद्धता समेत व्यक्त गरे।
निर्वाचनको पक्षमा क्रमश माहोल बन्दै गइरहेको वर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरूलाई आआफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न गराउन गृह मन्त्रालयले अनुरोध गरेको छ।
बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागले हाल मौजुदा स्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। आगामी २०७८ साल वैशाख १७ र २७ गतेको लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा बैठकमा छलफल भएको थियो।
गृहमन्त्री थापाको अध्यक्षतामा भएको बैठकमा अर्थमन्त्री पौडेल, गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
