PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पर्सा बारका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण, अदालतभित्रको विकृति हटाउन वरिष्ठ अधिवक्ताहरुको सुझाव



पहिलोपोस्ट

पर्सा बारका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण, अदालतभित्रको विकृति हटाउन वरिष्ठ अधिवक्ताहरुको सुझाव

वीरगंज : नेपाल बार एसोसिएसन पर्सा एकाइको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सकिएको छ। पर्सा जिल्ला अदालत परिसरभित्र रहेको बारको सभाहलमा प्रमुख निर्वाचन अधिकृत जितेन्द्रप्रसाद कुर्मीले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका हुन्।

बारको अध्यक्षमा अधिवक्ता ओमप्रकाश गुप्ता निर्विरोध चयन भएका थिए भने उपाध्यक्षमा अजयकुमार श्रीवास्तव, सचिवमा राकेशकुमार मल्लिक, कोषाध्यक्षमा सुनीलकुमार यादव चुनावबाट निर्वाचित भएका थिए। त्यस्तै, सहसचिवमा प्रतिमाकुमारी चौरसिया र १३ जना सदस्य तथा ७ जना पार्षद् निर्विरोध चयन भएका थिए।

आज सबै जनाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, वरिष्ठ कानुन व्यवसायी राजनाथ ठाकुर, दीपकराज भण्डारी, पर्सा बार एकाइका पूर्व अध्यक्ष पन्नालाल गुप्ता, प्रमोद साह, निवर्तमान अध्यक्ष ध्रुवदेवप्रसाद कुर्मीलगायतले  नवनिर्वाचित पदाधिकारी र समितिले बार र बेन्चबीच सुमधुर सम्बन्ध बनाउँदै अदालतभित्र आर्थिक लेनदेन, विकृति तथा विसंगतिलाई न्यूनीकरण गर्न र न्याय सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका थिए।

नवनिर्वाचित बार अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा सबैलाई सँगै लिएर अघि बढ्ने र बार सदस्यको अपेक्षा अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell