PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भारत र चीनको विवादमा सी जिनपिङ र मोदीबीच मध्यस्थता गर्न सक्छु : प्रम ओली



पहिलोपोस्ट

भारत र चीनको विवादमा सी जिनपिङ र मोदीबीच मध्यस्थता गर्न सक्छु : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भुगोल र जनसंख्यामा नेपाल भारतभन्दा सानो भए पनि सार्वभौमिकतामा सधैँ समान भएको बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजमा सम्पादक सुधिर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले देश सानो ठूलो आकारमा भएपनि देशको रुपमा सानो ठूलो हुन नसक्ने बताए।

उनले यो पुरानो ‘कोलोनियन’ युग नभएको भन्दै अहिले पारस्परिक सम्मानको युग भएको बताए। सीमाको विषयमा नेपाल-भारतबीच वहस भइरहेको उनको भनाइ थियो।

‘वहसले नै सत्य बाहिर ल्याउँछ, वहस भएन भने सत्य बाहिर आउँदैन। वहस सत्य पत्ता लगाउने हिसाबले हुनुपर्छ,’ उनले भने।

उनले आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्दै मोदी उमेरले आफूभन्दा जेठो भएपनि प्रधानमन्त्रीको रुपमा बराबर भएको बताए।

‘उमेरमा मोदी ठूला होलान् तर प्रधानमन्त्रीका रुपमा बराबर हो। अहिले धेरै साना उमेरका प्रधानमन्त्री तथा राष्ट्रपति आएका छन्, जब म राजनीतिमा लागेको थिए उनीहरु जन्मिएका थिएनन्। तर सबै राष्ट्रपति, प्रधानमन्त्री बराबर हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले मोदीलाई बराबर सम्बन्ध बनाउन कुनै समस्या नभएको बताउँदै बराबर सम्बन्ध बनाउँदा बाहिरका मान्छेलाई असहजता महशुस हुने टिप्पणी गरे।

भारत र चीनसँगको नेपालको सम्बन्धको बारेमा ओलीले दुवै छिमेकी बराबर भएको बताए। आकार, जनसंख्या र विकासमा दुवै देश अगाडि रहेको र नेपाललाई त्यो गर्वको कुरा भएको उनले बताए।

उनले भने, ‘हामीबीच व्यापार र उत्पादनमा असन्तुलन छ। यसलाई अन्त्य गर्नुपर्छ। हामी दुवैसँग सन्तुलिन राख्न चाहन्छौँ।’

प्रधानमन्त्री ओलीले एक देशको समर्थन गरेर अर्को देशविरुद्ध पनि नलाग्ने स्पष्ट पारेका छन्।

‘एक देशको कार्ड अर्कासँग खेल्दैनौँ। यसबाट कसैको भलो हुँदैन। हामी यो शैलीमा जाँदैनौँ,’ उनले भने।

गलवानमा सीमा विवाद हुँदा नेपालले नयाँ नक्सा किन छाप्यो भन्ने प्रश्नमा प्रम ओलीले गलवानसँग नेपालको कुनै सम्बन्ध नभएको स्पष्ट पारे।

उनले भने, ‘त्यहीँ बेला नेपाल भुमि राखेर नक्सा छापियो अनि त्यसो नगर त भन्नुपर्‍यो नि। त्यसपछि सडक पनि खोलियो। वार्ताको लागि पहल गर्दा अस्वीकार गरियो। त्यसैले हामीले नयाँ नक्सा सार्वजनिक गरेका हौँ।’

प्रम ओलीले नेपालको तटस्थाको नीति रहेको बताए। उनले अरु देशजस्तो कसैको पक्ष लिने नलिने नेपालको नीति नभएको समेत बताए। उनले भारत र चीनको विवादमा सी जिनपिङ र मोदीको बीचमा मध्यस्थता गर्न सक्ने समेत बताए।

प्रम ओलीले भने, ‘वार्तामा बस्नुस् भनेर भन्नेछौँ। किनकि हामी एकै उमेरका साथी हौँ, लामो समयदेखि राजनीतिमा छौँ। हामी साथी जस्तो होइन साथी नै हौँ।’

प्रम ओलीले आगामी निर्वाचनमा कमजोर हालत भए पनि प्रमुख पार्टी आफूहरु नै हुने दावी गरे। निर्वाचनपछि पनि आफूले नै नेतृत्व गर्ने अवस्था आउने पनि ओलीको दावी छ। उनले निर्वाचनपछि नेपाल भारत सम्बन्धलाई उचाईमा पुर्‍याउने बताए।

दुवै देशको बीचमा समस्यारहित सम्बन्ध चाहन्छौँ। ठूला छिमेकी लड्न थाले त्यसको असर हामीमा पर्नेछ। त्यसकारण अब एसियाको भविष्यको कुरा छ, यसको विकासमा लाग्नुपर्छ। हिजोको विकासको मोडल अरुको लुटेर लाने थियो। अहिले आफैँ आफ्नो विकास गर्नुपर्छ। यसका लागि मित्रता र शान्ति आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell