काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदैछ। कोभिड १९ का कारण यसपटक निर्धारित समयभन्दा केही पछाडि यो कार्यक्रम आयोजना गरिन लागेको हो। अवार्डको यो १७ औं संस्करणमा विगत वर्षहरुमा भन्दा फरक हुनेछ।
२०५२ साल भदौ २५ गते स्थापित मञ्चले धेरै आरोह र अवरोध पार गर्दै आएको छ। सुरुवातका केही वर्ष अवार्ड आयोजना गरे पनि यसले नियमितता पाउन सकेको थिएन।
२०६० सालमा नयाँ नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो। तर विनाशकारी भूकम्पका कारण वर्ष २०७२ मा अवार्ड कार्यक्रम आयोजना हुन सकेन।
कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमीभर्चुअल माध्यमबाट हुनेछ। विगत वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्दै आएको कार्यक्रम यसपालि सातदोबाटोस्थित कराँते हलमा सेमी भर्चुअलको माध्यमबाट आयोजना गरिँदैछ।
पल्सर स्पोर्टस अवार्ड २०७६ मा १० विधामा अवार्ड प्रदान गरिने छ। यस वर्ष एक नयाँ विधा थप गरिएको छ। गत वर्ष थपिएको विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष पनि निरन्तरता दिइने जनाइएको छ।
विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गर्ने मञ्चले जनाएको छ।
यसअघि नै मञ्चले पिपल्ल च्वाइज र अन्य चारविधाका लागि मनोनयन सार्वजनिक गरिसकेको छ।
को को खेलाडी छन् पिपल्स च्वाइज अवार्डमा?
यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र करातेका मण्डेकाजी श्रेष्ठ रहेका छ्न्। यसअन्तर्गत उनीहरुलाई भोटिङ पनि भइसकेको छ।
इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ।
'पीपल्स च्वाइस अवार्ड'का मनोनीत हुने यी हुन् पाँच खेलाडी
यी हुन् चारविधामा मनोनित खेलाडी
वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्।
वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्।
वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।
मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो।
२०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले खेलाडी मनोनयन घोषणा कार्यक्रममा बताएका थिए।
वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। लाइफटाइम, पारा र टिम अफ दी इयरको अवार्ड विजेता भने आजै घोषणा गरिनेछ।
अवार्डको विभिन्न चार वटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको युटुब र फेसबुक पेज सहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिने एनएसजेएफले जनाएको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: चार विधाको मनोनयन सार्वजनिक
अघिल्लो वर्ष
अघिल्लो वर्ष पुरुषतर्फ प्याराग्लाइडिङका युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव र प्रशिक्षकतर्फ प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए। यसैगरी पिपल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितेकी थिइन् भने स्पेसल अवार्ड पनि फुटबलका रोहित चन्दले हात पारेका थिए। त्यस्तै पारा एथलिट अवार्ड दृष्टिविहीन मनकेसी चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायलाई प्रदान गरिएको थियो। टिम अफ द इयरमा प्याराग्लाडिङलाई घोषित गरियो। एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाकिस्तानका अमजद अजिज मलिकलाई प्रदान गरिएको थियो।
