PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

हुन छाड्यो उखु खेती तर पनि टोखामा निरन्तर बन्दैछ चाकु

हुन छाड्यो उखु खेती तर पनि टोखामा निरन्तर बन्दैछ चाकु

सहयोग रञ्जित/पहिलोपोस्ट


मीनपचासको जाडो। काठमाडौंमा चिसो ह्वातै बढेको हुन्थ्यो। अहिले जस्तो ज्याकेट वा बाक्ला लुगाहरु थिएनन्। पातलो लुगा नै लगाएर किसानहरु खेतमा काम गर्थे। जाडो कटाउनै गाह्रो। तर, काम त गर्नै पर्‍यो, अन्न उब्जाउँदा शरीरलाई तातो बनाउनै पर्‍यो। यही समयमा नेवार समुदायमा शरीरलाई तातो बनाउने खाद्यपदार्थहरुको आविस्कार भयो। य:मरिको सिर्जना भए जस्तै बन्यो चाकु।

एक हिसाबमा मौसम अनुसार हुने खेतीको उपभोगका लागि यस्ता पर्वहरु विकास भएको देखिन्छ।

माघ १ गते माघे संक्रान्तीका दिनलाई नेवार समुदाय ‘घ्य:चाकु संल्हू’ का रुपमा मनाउँछन्। यो दिन चाकुसँगै घ्यु खाने र ठूलाको हातबाट तेल लगाउने र घाम ताप्ने गरिन्छ। घ्यु चाकु खाँदा शरीरलाई ताप मिल्नुका साथै शक्ति मिल्ने विश्वास छ।

माघ नजिकिँदै गर्दा चाकुको माग ह्वात्तै बढ्छ। सँगै चर्चामा आउँछ टोखा।

लिच्छवीकालमा नै टोखा एउटा व्यवस्थित शहर बनिसकेको कथन छ। काठमाडौं उपत्यकामा मनाइने अधिकांश जात्रापर्व टोखामा पनि आफ्नै तरिकाले धुमधामका साथ मनाइन्छ। टोखामा मनाइने बिस्का: जात्रादेखि यँया: (इन्द्रजात्रा) को आफ्नै महत्व छ।

कुनै बेला चीनको तिब्बतसम्म जाने मार्गको रुपमा रहेको टोखा चाकुको लागि निकै प्रख्यात छ।

नहोस् पनि कसरी। टोखाको नाम चाकुको आविस्कारसँगै जोडिएको जो छ।

टोखालाई नेपाल भाषामा ‘तुख्य:’ भनिन्छ। ‘तु’ अर्थात ‘उखु’ र ‘ख्य:’ भनेको ‘खुला ठाउँ’।

उखु विशेष गरी तराई भेगमा धेरै फल्ने। जाडोमा काठमाडौंमा उखु राम्रो सँग फल्ने भनेको टोखामा मात्रै। कुनैबेला टोखामा उखु बारी नै उखु बारी हुन्थ्यो। त्यही उखुको रस निकाल्ने, अनि सख्खर बनाएर त्यसबाट चाकु बन्यो। उखुको खेतै खेत भएकोले तुख्य: भनिए पनि पछि अपभ्रंश हुँदै टोखा बन्यो।

+++

चार पुस्ता भयो। टोखाको देकोमा बुद्ध श्रेष्ठको परिवारले चाकु उत्पादन गर्दै आएको।

बुद्धका बुबा काशीलाल श्रेष्ठले आफ्ना हजुरबुबाको पुर्ख्यौली पेशालाई संचालन गर्दै टोखामा चाकु उत्पादनलाई निरन्तरता दिए। करिब ४० वर्ष अघिसम्म उनकै परिवारले टोखाको चाकु व्यवसाय धान्दै आएको थियो। अहिले भने व्यवसाय विस्तार भएको छ। हाल टोखा परम्परागत चाकु संरक्षण समाज अन्तर्गत करिब १४ वटा कारखानाले चाकु उत्पादन गरिरहेको छ। समाजको उपाध्यक्ष बुद्ध पनि आफ्नो पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै टोखा र चाकुको पहिचान स्थापित गर्नेमा तल्लिन छन्।

बाल्य अवस्थामा बुबासँगै सिकेर चाकु उत्पादन गर्नु र अहिले चाकु बनाउने अवस्थामा निकै परिवर्तन आएको उनको बुझाइ छ।

‘हजुरबुबाले आफै सख्खर निकालेर चाकु बनाउनुहुन्थ्यो। २० ग्राम चाकु खाँदा नै शरीरमा गर्मी महसुस हुन्थ्यो। शरीरलाई ताप दिन्थ्यो। तर अहिले १०० ग्राम खाँदा पनि त्यस्तो अनुभव हुन्छ जस्तो लाग्दैन,’ उनले भने।

आयातित उखु!

पहिला टोखामा नै उखु उत्पादन हुन्थ्यो। अर्गानिक बन्थ्यो चाकु। अहिले भने टोखामा उखु फल्ने खेतमा घर ठडिसके। त्यसैले उखु र सख्खर तराईबाट आयात गर्नुपर्छ। त्यसकारण चाकुबाट अहिले पहिला झै अर्गानिक रहेन।

उपत्यकामा मलिलो माटो रहेको टोखामा अहिले भने उखु फल्दैन। हाल सर्लाही, कपिल्वस्तु, नेपालगञ्ज लगायतका स्थानबाट उखु र सख्खर आयात गरिन्छ। उताबाट सख्खर आयात गरिने भएकाले पनि चाकु पहिला जस्तो नभएको श्रेष्ठको ठम्याई छ।

‘त्यो बेला टोखाको मलिलो माटोमा राम्रो उखु पाउँथ्यो। त्यस्तो उखुको स्वाद निकै मिठो हुन्थ्यो। उखुको रसबाट बनेको सख्खरलाई हातले नै आकार दिन सकिन्थ्यो। अहिले भने हातले नै चाकुलाई आकार दिन गाह्रो छ,’ उनले भने।

श्रेष्ठका अनुसार पहिला चाकु कालो रंगको बन्ने गर्थ्यो। अहिले भने किलामा ठोकेर हल्का रातो रंग निकाल्ने गरिएको छ। रंग ल्याउन कुनै प्रकारको अन्य रसायन मिसाइँदैन।

‘त्यो बेला चाकु कालो हुन्थ्यो। चाकुमा रंग ल्याउने विधि आइसकेको थिएन,’ उनले भने, ‘अहिले भने सखरलाई हामी परम्परागत विधिबाट नै पकाउँछौं। तर रंग प्रयोग गर्दैनौं। किलामा हानेर चाकुमा रंग ल्याउछौं र बजारमा पठाउँछौं।’

त्यसबेला चाकुलाई जाडो भगाउनेका साथै ‘इम्युनिटी’ बढाउने माध्यमका रुपमा समेत लिइन्थ्यो। अहिले पनि जाडोको समयमा चाकुको माग बढ्दो छ।

बढ्दो माग

पहिला पहिला टोखाबाट खर्पनमा बोकेर साँखु, खोकना, बनेपासम्म चाकु लगिन्थ्यो। अहिले गाडीको सुविधा भयो। प्रविधि पनि विकास भयो। तर पनि बजारको माग अनुसार जति अझै चाकु उत्पादन भने गर्न सकिएको छैन।

‘कोरोनाका कारण यसपटक माग धेरै आउँदैन भन्ने थियो। तर हामीले दिनरात काम गरे पनि बजारको माग अनुसार सामान पुर्‍याउनै सकेका छैनौं,’ उनले भने।

उनी आउने वर्षदेखि चाकु उत्पादन बढाउन अघि नै काम गर्ने बताउँछन्।

‘पहिला १५ दिन-१ महिना काम हुन्थ्यो। अहिले दुई महिना अघिबाट नै काम गरेका छौं। तर पनि माग अनुसार उत्पादन गर्न सकिरहेका छैनौं। त्यसले अर्को वर्ष ३ महिना अघि देखि नै उत्पादन गर्ने योजना बनाएका छौं,’ योजना सुनाए उनले।

अब के?

बुद्धले आफ्नो पुर्खौली पेशालाई निरन्तरता त दिए। तर भविष्यमा के होला?

‘पुस्ताले धान्ला नधान्ला भन्ने कुरा उनीहरुमा नै निर्भर गर्छ। तर जबसम्म म छु यो काम काम त भइरहन्छ। अहिले छोराले पनि यो कामलाई निरन्तरता दिइरहेको छ। मलाई लाग्छ यो पेशा पाँचौं पुस्तासम्म चल्नेछ,’ उनले भने।

उनले चाकु व्यवासयको निरन्तरताका लागि सरकार र सरोकारवाला निकायहरुले पनि ध्यान दिनुपर्ने बताए।

‘चाकु त नेपालको मौलिक उत्पादन हो। अहिले यहाँको चाकु विदेशमा पनि निर्यात हुन्छ। यो त एउटा सभ्यता नै हो,’ उनले भने, ‘चाकु बनाउन उखु चाहिन्छ। उखु किसान भुक्तानी पाएन भनेर काठमाडौं आउँछन्। यस्तै अवस्था रह्यो भने काम गर्न सबैलाई गाह्रो हुन्छ। हामी पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ। मिलेसम्म पुर्खौली पेशा बचाउन हामी त लाग्छौं नै।’



ट्रेन्डिङ पोस्ट

Ncell