नयाँ दिल्ली : भारत र चीनले पूर्वी लदाकको सीमामा रहेका सैनिकलाई विवादित क्षेत्रबाट केही पछि सारेका छन्। विवादित क्षेत्रको समस्या समाधान भएर होइन कि चर्को हिउँ र चिसो बढेका कारण दुवै मुलुकले आफ्ना सैनिकहरुलाई केही पछाडि सारेका हुन्। सीमा क्षेत्रमा भारत र चीन दुवैले एकअर्काप्रति कडा नजर राखेर बसेका छन्।
भारतको रक्षा मन्त्रालय स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार चीनले आफ्नो उच्च हिमाली सैन्य तालिम केन्द्रबाट १० हजार सैनिकलाई करिब १ सय ५० देखि २ सय किलोमिटर टाढा फिर्ता गरेको छ।
अहिले त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस पुगेको छ जसले गर्दा सेनालाई राख्न कठिन भएको हो। पेङगोङ सो, छुसोल, दिपसाङ लगायतका क्षेत्र हिउँले ढपक्कै भएका छन्।
भारतका सेना प्रमुख विपिन रावत र एयरफोर्स प्रमुख मार्कसल आर के एस भदोरिया सोमवार उक्त क्षेत्रमा पुगेका थिए। उनीहरुले भारतीय सीमामा प्रवेश गरेका चिनियाँ सैनिकलाई फिर्ता गराएका छन्। भारत चीनबीचको सीमा तनावमा सैन्य कुटनीति जारी छ।
'तनाव सकिएको अवस्था छैन। जुन क्षेत्रमा तनाव हो त्यहाँ दुवै पक्षका सेना पालैपालो खटाइनेक्रम जारी छ,' सैनिक स्रोतले भन्यो, 'चिसो अत्याधिक र भौगोलिक कठिनाइका कारण दुवै पक्षले बलियोसँग काम गर्न सक्दैन।'
भारत र चीनबीच सीमालाई लिएर ९ महिनादेखि तनाव जारी छ। भारत र चीन दुवैले कम्तिमा पनि ५० हजार सैनिक परिचालन गरेका छन्। गत वर्षको मे देखि गलवान भ्याली अशान्त रहँदै आएको छ। गत मे १५ मा भएको घम्साघम्सीमा परी २० भारतीय सैनिक र एक चिनियाँ सैनिकको मृत्यु समेत भएको छ।
भारत र चीनबीच सीमाको विवादलाई लिएर कुनै सहमति हुन नसक्दा स्थिति तनावपूर्ण नै छ।
