अमेरिकी गुप्तचर संस्था एफबीआईले सबै ५० राज्यका संसद भवनसहित वासिङटनमा रहेको अमेरिकी संसदमा हिंसात्मक आक्रमण हुने सूचना पाएको छ। राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सपथ लिनु पूर्वसन्ध्यामा यस्ता झडप हुन सक्ने एफबीआईले सूचना पाएको सीएनएनले जनाएको छ।
जनवरी १६ देखि २० सम्म सबै ५० राज्यका संसद भवनमा हतियारसहितको प्रदर्शनको तयारी भइरहेको र वासिङटनको अमेरिकी संसद भवनमा १७ जनवरी देखि २० जनवरीसम्म हतियारसहित प्रदर्शन हुने रिपोर्ट सीएनएनले प्राप्त गरेको जनाएको छ।
त्यस्तै, त्यहाँ राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउनु वा २५ औं संशोधनको प्रयोगबाट हटाइए थप प्रदर्शनको जोखिम बढ्ने सुझाव पनि दिइएको छ।
जनवरी ८ मा भएको संसदमाथिको हमलामा संलग्नहरुको खोजी कार्य भइरहेको छ र सयौँ मानिसहरुलाई पक्राउ पनि गरिरहेको छ।
तर यतिबेला अमेरिका एउटा नेतृत्व बिहन अवस्थामा पुगेको छ। ट्वीटर बिनाका ट्रम्प मौन छन्। उपरराष्ट्रपति माइक पेन्स र ट्रम्पबीच संसद आक्रमण पछि पहिलो पटक मंगलवार कुराकानी भएको छ।
उनीहरु दुई जनाबीच ओभल अफिसमा भेट भएको अमेरिकी प्रशासनका उच्च अधिकारीहरुले जनाएका छन्। ह्वाइट हाउसबाट बिदा हुनुभन्दा सात दिन अगाडि भएको भेटमा दुई नेताबीच चार वर्ष सहकार्यको विषयमा चर्चा भएको उल्लेख छ।
अमेरिकी संसदमा भएको हमलामा कसको संलग्नता थियो भन्ने विषयमा पनि छलफल भएको बताइएको छ। यसबिच ट्रम्प सातासम्म मौन जस्तै भए। सार्वजनिक रुपमा उपस्थित भएनन्। उनका सहयोगीहरुले पनि उलाई छाड्दै गए। उनले यसबिचको क्याम्प डेभिडको पूर्व निर्धारित भ्रमणलाई समेत रोकेका छन्।
चार वर्षसम्म रहँदै आएको ट्रम्प-पेन्स सम्बन्ध यतिबेला वासिङटन स्थित संसद भवनमा भएको आक्रमणपछि तिक्ततापूर्ण भएको छ। ट्रम्पको गत साताको र्यालीपछि दुईबीच कुराकानी भएको थिएन। यतिबेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्मको तयारी भइरहेको छ। अर्कातिर पेन्सले २५ औं संशोधनको प्रयोग गर्दै हटाउनका लागि इच्छा देखाइरहेका छैनन्।
यस विषयमा छलफल गर्नका लागि हाउस स्पिकर नेन्सी पेलोसी र अमेरिकी सिनेटका डेमोक्रेट नेता चुक स्कुमरले पेन्ससँग छलफल गर्न चाहेका थिए। उनीहरुले पेन्सलाई फोन गरे पनि उनका सैन्य सहयोगीले २० मिनेटसम्म होल्ड गराएर राखे अनी पेन्स उपलब्ध नभएको जानकारी गराए।
पेलोसीले अझै पनि आफूहरुले पेन्सको जवाफको प्रतीक्षामा रहेको एनबीसीको ६० मिनेट कार्यक्रममा बताएकी थिइन्। साथै उनले महाअभियोग सहित हटाउनका संसदले तयारी गरिरहेको बताएकी थिइन्।
उपराष्ट्रपतिले ट्रम्पलाई नहटाए संसदमा महाअभियोग लगाएरै भए पनि हटाउने तयारी भइरहेको समेत उनले बताएकी थिइन्।
ट्रम्प मंगलवार अल्मो टेक्सास जाँदै छन्। अहिले उनी सीमित घेरामा छन्। उनका सहयोगीहरुले उनलाई छाड्दै गएका छन्।
कार्यबाहक होमल्याण्ड सेक्युरिटी सेक्रेटरी चाड उल्फले पनि सोमवार राजीनामा दिएका छन्।
'यो कदम लिँदै गर्दा म दु:खी छु। मेरो चाहना यो विभागमा अन्तिम दिनसम्म काम गर्नु भन्ने थियो,' उनले राजीनामा लेखेका छन्, 'तर दुर्भाग्यवस यो कदमका लागि पछिल्लो घटनाले वाध्य तुल्यायो। यो घटनापछि यहाँ काम गर्न मेरो नैतिकताले दिएन।'
उनी यो पदमा कार्यबाहकको हैसियतमा १४ महिनादेखि कार्यरत थिए। उनी ट्रम्प प्रशासनमा अध्यागमन विभागमा रहेर अवैध आप्रवासीका क्षेत्रमा योजना बनाइरहेका थिए। उनी ट्रम्पलाई छाड्ने उनको क्याविनेटका पछिल्ला व्यक्ति हुन्। त्यस्तै एजुकेसन सेक्रेटरी बेट्सी डवोस, ट्रान्सपोर्टेसन सेक्रेटरी एलिन चाओले पनि राजीनामा दिइसकेका छन्।
आन्तरिक रुपमा हिंसा भड्किरहेको बेला त्यहाँको होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नै राजीनामा दिनुलाई प्रशासन माथि थप प्रश्न खडा गरेको छ। एफबीआईले थप हिंसा हुने बताउँदै गर्दा यतिबेला सुरक्षा प्रशासन सम्हाल्ने नेतृत्व नै बाहिरिएका छन्।
उल्फले सोमवार राजीनामा दिँदै गर्दा त्यहाँको सेक्रेट सर्भिस एजेन्टहरुलाई निर्देशन दिएका छन्।
सीएनएनले संकटको बेला नेतृत्वबिहीन अवस्थामा अमेरिका पुगेको विश्लेषण गरेको छ। ज्याक्री बी उल्फले भेका छन् - एक वर्षदेखि ट्रम्पको गलत नेतृत्वका कारण अहिले हामले बुझिरहेका छौँ कि नेतृत्व नहुनुको अवस्था कस्तो हुन्छ भन्ने।
यतिबेला ट्रम्प माथि दोस्रो महाअभियोगको चर्चा पनि चलिरहेको छ। अब सात दिनपछि ह्वाइट हाउसमा जो बाइडेनको प्रवेश हुनेछ। त्यस्तोमा ट्रम्पलाई महाअभियोग लगाउने विषयमा छलफल चल्दै गर्दा 'लेट इम्पिचमेन्ट'को विषयमा पनि छलफल भइरहेको छ।
लेट इम्पिचमेन्टको मुख्य दुई कारण भनेको ट्रम्पले कार्यकालको अन्तिम समयमा देखाएको ब्यवहार र उनलाई पुन राष्ट्रिय राजनीतिमा रोक लगाउनु नै हो।
वासिङटन पोस्टमा फ्र्यांक वोमन र ब्रेन काल्टले लेट इम्पिचमेन्टको चर्चा गर्दै महाअभियोगको सुरुवात अहिले गरेर उनी ह्वाइट हाउसबाट बाहिरिएपछि पारित गर्नुपर्ने जनाएका छन्।
त्यहाँको प्रतिनिधिसभामा ट्रम्पमाथिको महाअभियोग अहिले पारित गरेर ट्रम्प बाहिरिएपछि सिनेटमा प्रस्ताव लैजाने गरी काम गरेका छन्। वासिङटन पोस्टको विश्लेषणमा ट्रम्पलाई ह्वाइट हाउसबाट बाहिरिएपछि पनि महाअभियोग लगाउनु भनेको राष्ट्रिय स्वार्थले काम गरेको हुने उल्लेख छ।
त्यहाँको प्रतिनिधिसभाले राष्ट्रपतिलाई सामान्य बहुमतले महाअभियोग लगाउन सक्छ। ट्रम्पलाई हटाउनका लागि सिनेट बाधक बन्न सक्छ। त्यसका लागि थप केही सिनेटरको भोटको आवश्यक पर्छ। यसले उनलाई भविष्यमा राष्ट्रपतिमा निर्वाचित हुन तथा उनले पाउने पेन्सन हटाउन समेत सक्नेछ।