PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

चुनाव हुने नहुने टुंगो छैन तर निर्वाचन आयोगले थाल्यो काम, माघ २१ भित्र मतदाता सूची अपडेट हुँदै



पहिलोपोस्ट

चुनाव हुने नहुने टुंगो छैन तर निर्वाचन आयोगले थाल्यो काम, माघ २१ भित्र मतदाता सूची अपडेट हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन्। निर्वाचन हुने नहुने टुङ्गो भने छैन। संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दा विचाराधीन छ।

तर, सरकारका विभिन्न निकायहरु निर्वाचन तयारीमा जुटिसकेको छ। सोमवार गृहमन्त्री रामबहादुर थापाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर निर्वाचनमा जुट्न निर्देशन दिएका छन्। त्यस्तै बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको छ।

त्यस्तै, निर्वाचन केन्द्रको सङ्ख्या र स्थान पहिचान भइसकेपछि प्रहरीले थप सुरक्षा रणनीति बनाउने देखिएको छ। निर्वाचन गराउने मुख्य जिम्मेवार निकाय निर्वाचन आयोगले पनि निर्वाचनको तयारी गरिरहेको जानकारी दिएको छ। अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने गरि कार्यतालिका  सार्वजनिक गरेको छ।

निर्वाचन आयोगले विभिन्न प्रदेशमा काम गर्ने कम्युटर अपरेटरलाई समेत तालिम दिइसकेको छ। केही प्रदेशमा तालिम भइरहेको छ। त्यस्तै, मतदानास्थल र मतदान केन्द्र पुनरावोलन काम सुरु गर्ने निर्देशन दिइसकेको छ। पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन हुँदैछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदानस्थल र मतदान केन्द्र सिफारिस समिति बनाइएको छ। समितिले जिल्लाका सुरक्षा निकाय तथा अन्य सम्वन्धित निकायलाई बैठक डाकेर मतदानस्थल र केन्द्रको निरीक्षण गरी निर्वाचन आयोगलाई जानकारी गराउँछ।

'निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ। अहिले मतदानस्थल र केन्द्रको पुनरावलोकन गर्न पत्रचार भइसकेको छ,' निर्वाचन आयोजका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने।

नेपाल प्रहरीले आवश्यक देखेको आधारमा म्यादीको अनुमानित सङ्ख्या गृह मन्त्रालयललाई पठाउँछ। त्यसपछि सरकारको निर्णयमा म्यादी प्रहरी भर्ना गर्ने गरिन्छ। प्रहरीले आवश्यक जनशक्तिको लागि गृह मन्त्रालयमा खाका बुझाइसकेको छ।

गएको निर्वाचनमा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो। यसपटक निर्वाचन भएको खण्डमा पनि १ लाख हाराहारीमा नै म्यादी प्रहरी परिचालन गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell