PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गृहमन्त्री बादलको प्रश्नैप्रश्न : एकता ठिक कि अस्थिरता? तपाईंहरु तटस्थ बस्न पाउनुहुन्न



मुकुन्द घिमिरे

गृहमन्त्री बादलको प्रश्नैप्रश्न : एकता ठिक कि अस्थिरता? तपाईंहरु तटस्थ बस्न पाउनुहुन्न

काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।

अखिल नेपाल खेलकुद महासंघको प्रशिक्षणमा बोल्दै बादलले सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको बताए।

‘समाज निरन्तर अघि बढ्छ। तर, यहाँ अवरोध खडा गरियो। त्यसलाई हटाउन हामी लागेका छौं। सबै परिवर्तनकारी हुन्छन्, त्यसलाई परिवर्तनशील भन्छौं। आज यहीँ समाजको परिवर्तन चाहनेहरूमाझ जुन प्रश्न उभिएको छ त्यसको जवाफ कसरी दिने? कुन कित्तामा उभिने? त्यसको निर्णय गर्नुपर्ने घडीमा छौं,’ उनले भने।

खेलाडीलाई राजनीतिक पाठ

कार्यक्रममा गृहमन्त्री बादलले खेलाडीहरु राजनीतिक पाठ पढाए। ‘राजनीति भनेको समाज परिवर्तनको दर्शन हो। दल भनेको परिवर्तन हो। राजनीति र नेतालाई बुझ्न आवश्यक छ। देश अहिलेको अवस्थामा आएको छ। परिवर्तन भएको छ। त्यो राजनीतिका कारणले हो। राजनीतिकै कारणले परिवर्तन हात पारेका छौं। राजनीतिकै कारण आमुल परिवर्तन भयो। समाजलाई हामी अझ अघि बढाउन चाहन्छौं। हामी सबैले समृद्ध र सुखी बनाउन चाहन्छौं। बहुसंख्यक दु:खी छौं। सुख समृद्धिबाट मात्र प्राप्त हुन्छ,’ उनले भने।

आर्थिक रूपमा अझ परिवर्तन नभएको र आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै बादलले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गरे। ‘तर अहिले बाधा खडा गरिएको छ। चुनौती उत्पन्न भएको छ। नेकपा विभाजित भएको छ। जुन संयन्त्र हो त्यो विघठित छ। राजनीतिक अस्थिरता र द्वन्द्व सिर्जना भएको छ। बाधा उत्पन्न भएको छ,’ मन्त्री थापाले भने।

बादलले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पुर्‍याउँदै देश विकास गरिरहँदा अहिले अवरोध गरिएको जिकिर गरे। ‘हामीलाई रोक्न नेकपा विभाजित गरियो। विभाजित ठिक थियो कि थिएन। वा फुटको पक्षमा उभिने कि जुट्ने? नेकपालाई फुटाएर देशको विकास सम्भव छ?,’ बादलले प्रश्न गरे, ‘नेकपाको नेतृत्व र प्रमलाई हटाएर विकास हुन्थ्यो त? नेकपा भित्रका एकथरीले प्रमलाई हटाउने कदम स्थायित्वको पक्षमा थियो कि अस्थिरताको?’

मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए। ‘यसको ठिकठिक उत्तर दिन आवश्यक छ। तपाईहरु बीचमा बस्न सक्नु हुन्न। विकासको पक्षमा उभिने कि अस्थिरता र विभाजनको पक्षमा?’ उनले प्रश्न गरे।

युवाहरूले यसको ठिक उत्तर नदिइरहन नसक्ने उनको भनाई छ। ‘नेकपा नेतृत्व गर्ने जनसंगठन पनि विभाजित भएका छन्। तपाईं कस्को पक्षमा? प्रचण्ड-माधव कि ओली-बादल पक्षमा? यो भेलाले स्थायित्वको पक्षमा लागेको देखिएको छ। तपाईंहरूले सही जवाफ दिनुभएको छ,’ बादलले भने।

क्रान्तिकारीले क्रान्तिकै पक्ष लिन आवश्यक रहेकोमा उनले जोड दिए। ‘यो आमुल परिवर्तन हो। हामी यहीँ चाहन्छौं। नेकपा क्रान्तिकारी संगठन हो। जुन विचार अवलम्बन गरेका छौं त्यो क्रान्तिकारी हो। यसका लागि २ कुरा चाहिन्छ। पहिलो क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार हो,’ बादलले भने।

अध्यक्षलाई कारवाही गर्दा प्रतिगामीले फाइदा लिने उनको भनाई थियो। ‘एकथरीले अध्यक्षलाई कारवाही गर्ने नीति लिए, त्यो सही हो त? त्यसले एकता कायम राख्छ त? त्यसको फाइदा प्रतिकामीले लिन्छ,’ उनले भने, ‘अर्को प्रश्‍न प्रमलाई बीचमा अविश्वासको प्रस्ताव ल्याउनु आवश्यक हो? यसले देशलाई कता लैजान्छ? यो कदम सही वा गलत? संसद विगटन पश्चगामी हो कि अग्रगामी यो अवस्थामा? औचित्य सकियो संसदको।’

मन्त्री थापाले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको जिकिर गरे। ‘नत्र अस्थिरता पैदा हुने अवस्था आयो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell