PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भीम रावलको गृह जिल्लामा ओली समूहका नेताको गाडी तोडफोड, दुई पक्षबीच झडप



पहिलोपोस्ट

भीम रावलको गृह जिल्लामा ओली समूहका नेताको गाडी तोडफोड, दुई पक्षबीच झडप

काठमाडौं: अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।

थापा सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका थिए। प्रधानमन्त्रीको संसद विघटन कदमपछि दुई समूहमा विभाजित नेकपामा थापा ओली समूहमा छन् भने रावल दाहाल-नेपाल समूहमा छन्।

समूहमा विभाजनपछि ओली समूह रावलमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला थापा मंगलवार अछाम पुगेका हुन्। थापा अछाम प्रवेश गर्दा नेकपा पार्टी कार्यालय नजिक दाहाल-नेपाल समूहका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका युवा तथा विद्यार्थीले उनी चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन्।

अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले थापा चढेको गाडीमा ढुंगा लागेको बताए। ‘धेरै तोडफोड भएको होइन। दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको हो। सिसा चर्किएको छ,’ उनले भने।

डीएसपी थापाले अहिले भने निर्वाध कार्यक्रम भइरहेको जानकारी दिए। ‘उहाँहरु आउँदाखेरी अलि असहज परिस्थिति सिर्जना भयो। अहिले स्थिति सामान्य छ,’ उनले भने।

झडपपछि थापा दमाहा बजाउँदै आफ्नो समूहका कार्यकर्ताका साथ ब्यानर समातेर आमसभा स्थलतर्फ लागेका थिए। 

युवा संघका केन्द्रीय सदस्य दीपक कुँवरले असंवैधानिक कदम चालेर जनता भड्काउन आउनेहरुलाई लखेटिने चेतावनी दिए। ‘आजको कार्यक्रम सुरुवात मात्रै हो। असंवैधानिक कदम चालेर जनता भड्काउन आउनेलाई हामी छोड्दैनौं,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell