काठमाडौं: संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन्।
मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरे।
मन्त्री गुरुङले समाचारको माध्यमबाट माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको टिप्पणी गरे।
अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको उनको भनाई थियो। सरकारले राम्रो काम गरे पनि बिरोध नै गर्नुपर्ने भन्ने प्रश्न गर्दै उनले पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको बताए।
‘राम्रो कामको प्रतिपक्षी दलले पनि प्रशंसा गर्ने गरेको छ। संचार जगत किन पूर्वाग्रही भएको होला?’ उनले प्रश्न गरे।
मन्त्री गुरुङसँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।
