PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केपी ओलीको 'नयाँ युग' को मूल्य २० रुपैयाँ, नागरिक अगुवाले भने 'अबको आन्दोलन शासकको नाकमै हान्ने गरि हुनेछ'

केपी ओलीको 'नयाँ युग' को मूल्य २० रुपैयाँ, नागरिक अगुवाले भने 'अबको आन्दोलन शासकको नाकमै हान्ने गरि हुनेछ'

प्रकाश भण्डारी/पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं भेला र युवासंघको कार्यक्रम सम्पन्न गरेको थियो, नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा केही दिन अघि। मंगलवार भने प्रतिष्ठानको डबलीमा राजनीतिक दलको विरोध कार्यक्रम थिएन। प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्दै नागरिक अगुवाहरुले दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन्। बृहत नागरिक आन्दोलन अन्तर्गत आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विरोधसभा आयोजना गरियो।  २ बजे निर्धारित कार्यक्रम ठिक समयमा सुरु भएन, ४५ मिनेट ढिलो भयो।

ओली समूहको कार्यक्रमा जस्तो मानिसहरु उपस्थिति थिएनन्। कारण- नारा जुलुस लगाउँदै न कहिबाट मानिसहरु आएका थिए न संगठित कार्यकर्ता नै थिए। धेरैजसो स्वसफुर्त सहभागी भएका थिए।

तडक भडक रहित

राजनीतिक दलका कार्यक्रमहरुमा प्रायजसो सहभागी दिक्क मान्ने गर्छन्। आसनग्रहणको कार्यक्रम नै लामो हुन्छ नेताहरुको। यता नागरिक समाजको सभामा भने त्यस्तो देखिएन। डबलीको अगाडीको भागमा माइक स्ट्याण्ड राखिएको थियो। मञ्चमा कोही अथितिलाई आसन ग्रहण गराइएन। वक्ताहरु पूर्व घोषित नै थिए। कार्यक्रममा एउटा पनि कुर्सि  राखिएको थिएन। सबैजसो डबलीको सिँढीमा बसे। वक्ताहरु पनि त्यहीँ थिए। कार्यक्रममा पाका उमेरका मानिसहरु कम र युवाको सहभागिता धेरै थियो।

'कानुन माथि को रैछन्, केपी ओली पो रैछन्'

डबलीमा कार्यक्रम भएकाले डबली र प्रतिष्ठानको बाहिर छरिएर बसे सहभागी। सानो सानो समूहमा कुराकानी गरिरहेकाहरुको ध्यान एकाएक डबलीको सिँढीतर्फ केन्द्रित भयो। धिमे बाजा बजे लगतै लहरै बसेका महिलाहरु उठेर फ्ल्यास मब प्रदर्शन गर्न थाले।

पोलटिकल लिट्रेसी फर वमेनका सदस्यहरुले नारा लगाए, 'कानुन माथि को रैछन्, केपी ओली पो रैछन्', 'जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्।' उनीहरुको प्रदर्शन रचनात्मक रह्यो।

रघुजी पन्तको उपस्थिति

नागरिक अगुवाहरुको कार्यक्रम भएकाले राजनीतिक दलका नेताहरुको सहभागिता हुने कुरै भएन। विभिन्न पेशा व्यवसायमा रहेकाहरुको सहभागिता रहेको आन्दोलनमा केही विद्यार्थी नेता भने सहभागी थिए। यद्यपि, कार्यक्रममा नेकपा प्रचण्ड र नेपाल समूहका नेता रघुजि पन्त भने कार्यक्रममा सुरु देखि नै देखिए। सहभागीहरु धमाधम घर फर्किरहँदा समेत उनी अन्तिम सम्म डबलीमा बसे र अरु भाषण सुनिरहेका थिए। आफू भने बोलेनन्। 

बानेश्वरमा नेकपाको प्रचण्ड माधव समूहले गरेको नागरिक समाजको अन्तर्क्रियामा धेरैजसो नागरिक समाजका अगुवा सहभागी थिए। आजको कार्यक्रममा भने पन्त बाहेक अन्य कुनै नेता देखिएनन्। 

नागरिक समाजकै आलोचना

२०६२/६३ सालको आन्दोलनमा नागरिक समाजको आन्दोलनको तर्फबाट नेतृत्व गरेका देवेन्द्रराज पाण्डे कार्यक्रममा उपस्थित भएनन्। उनले भिडियो सन्देश पठाए।

'मुलुक र जनताका लागि मिलेर काम गर्नु पर्छ। यो त्यसकै लागि आन्दोलन हो। राजनीतिक दललाई घचघच्याउनु पर्छ,' उनले भिडियोमा भने।

कार्यक्रममा तराई मधेश राष्ट्रिय परिषदका सदस्य सिएन थारु पनि वक्ताका रुपमा थिए। उनले नागरिक समाज र संविधान निर्माण प्रक्रियाकै आलोचना गरे। उनले २०७२ सालको संविधान अघि भएको १६ बुँदे सहमतिलाई षडयन्त्रको संज्ञा दिए।

'१६ बुँदे सहमति षडयन्त्र हो। त्यहिबाट बनेको थियो संविधान। टिकापुरमा दिउँसै घर जलाइन्थ्यो। नागरिक अभियान्ता कहाँ थिए। नागरिक अभियान्ताले गर्ने आन्दोलन बृहत् हुन्छ,' उनले भने।

नागरिक समाजकै भुमिकामाथि प्रश्न गर्ने अर्की वक्ता थिइन सडक ‍विस्तार पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठ। उनले उपत्यकामा विकास निर्माणका नाममा रैथानेमाथि आक्रमण हुँदा नागरिक समाज नबोलेको भन्दै आलोचना गरिन।

'उपत्यकामा विकास निर्माणका काम गरेर प्रतिगमन भएको थियो। संविधानमा मात्र प्रतिगमन भएको हो त? जनताको अस्तित्वमा प्रतिगमन हुँदा नागरिक समाजले साथ दिएन,' उनले भनिन्।

डोनेसन बक्स

मञ्चमा वक्ताहरुले बोलिरहेका बेला डबली वरिपरि केही व्यकित 'डोनेसन बक्स' लिएर हिँडिरहेका थिए। नागरिक समाजलाई आन्दोलन गर्न खर्चको आवश्यक परेपछि चन्दा मागिएको थियो। नागरिक आन्दोलनलाई नागरिककै पैसाले सञ्चालन भएको छ भन्नेबारे सन्देश दिन चन्दा उठाइएको हो।

नागरिक समाजका अगुवा तथा विश्लेषक युग पाठकले आन्दोलनका लागि उठेको पैसा पारदर्शी हुने बताए। 'फेसबुक र ट्वीटर मार्फत हिसावकिताब सार्वनिक हुन्छ। सबै पारदर्शी होस भनेर हामीले यसो गरेका हौं' उनले भने। 

कार्यक्रमको अन्तिममा संकलन भएको पैसा सार्वजनिक गरियो। १८ हजार २ सय ८० रुपैयाँ उठ्यो मंगलवार डबलीको कार्यक्रममा। ६२/६३ को आन्दोलनका बेला उठेको २० हजार ५६ रुपैयाँ बराबरको रकम अहिलेको अभियानका लागि नागरिक समाजका अगुवा देवेन्द्रराज पण्डेले हस्तान्तरण गरेको पत्रकार नारायण वाग्लेले बताए।

 'अब हामी बनाउछौं संविधान'

राजनीतिक दलले गर्ने विरोध भन्दा निकै फरक त थियो नै नागरिक आन्दोलन। त्यो भन्दा बढी कलात्मक थियो। शिल्पी थिएटरका कलाकारले घिमिरे युवराजको संयोजनमा कवितालाई अभिनय मार्फत प्रस्तुत गरेका थियो। ओली संविधान अनुसार न चल्दा उनी नै पतन हुने सारांश थियो कविताको।

कार्यक्रमको सुरु देखि नै लाइभ पेण्टिङ गरिरहेका थिए केही कलाकार। संविधानलाई ओली नेतृत्वको सरकारले प्रहार गर्दा तहसनहस भएको  सन्देश थियो पेन्टिङमा।

नयाँ युगको मूल्य रु २०

२०७५ मंसिर ११ मा केपी ओलीले सामाजिक सुरक्षाको कार्यक्रम घोषणा गर्दा 'नयाँ युगको सुरुवात' भएको घोषणा समेत गरेका थिए। त्यो दिन काठमाडौंबाट प्रकाशित हुने सबैजसो दैनिक पत्रिकाको ज्याकेटका ओलीको तस्विर सहित नयाँ युगको विज्ञापन छापिएको थियो।

मंगलवारको आन्दोलनमा ओलीको तस्विर सहितको त्यो दिनको पत्रिकालाई भने नागरिक समाजले बिक्रीमा राख्यो। ओलीले नयाँ युगको सुरुवात भनेर प्रतिगमन गरेको भन्दै विरोध स्वरुप आन्दोलनमा ती पत्रिका बिक्रीमा राखिएको थियो। पत्रिका बेचेर मात्रै ४८० रुपैयाँ नागरिक समाजले संकलन गरेको छ।

बालवाटार घेर्ने

कार्यक्रमको समापनका लागि मञ्चमा देखिए पत्रकार नारायण वाग्ले। थप आन्दोलनका कार्यक्रम घोषणा गर्न आएका वाग्ले आक्रामक सुनिए।

उनले नेपाली कांग्रेसको भुमिकालाई लिएर चर्को आलोचना गरे। 'प्रमुख प्रतिपक्ष हैन? नाम किन लिनु। उसले आफ्नो धर्म त निभाएन। सरकारले जे गर्‍यो त्यसमै सही गर्‍यो। अहिले के भनिरहेको छ भने अदालतले सदर गरे चुनाव नगरे प्रतिनिधि सभा,' उनले भने।

नेकपाको लडाइँ पनि कुर्सिका लागि मात्रै भएको वाग्लेको तर्क थियो। नागरिक अगुवाको आन्दोलनले नेताहरुलाई पनि घचघच्याउनुपर्ने उनको भनाई थियो।

उनले अबको आन्दोलन अहिलेका शासकको नाकमै हान्ने गरि हुने बताए। 'अबको हाम्रो आन्दोलन शासकको नाकमा हान्नेगरि हुनेछ। बालुवाटार घेर्ने कार्यक्रम छ,' उनले भने।

आन्दोलनका कार्यक्रम बारे भने विज्ञप्तिमार्फत जानकारी गराइने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell