PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नागरिक आन्दोलनमा पुस्तान्तरण : 'जनआन्दोलन -२ को सम्पत्ति नयाँ पुस्तामा हस्तान्तरण'



पहिलोपोस्ट

नागरिक आन्दोलनमा पुस्तान्तरण : 'जनआन्दोलन -२ को सम्पत्ति नयाँ पुस्तामा हस्तान्तरण'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक अस्थिरता बढ्दै गएको छ। विघटनविरुद्ध प्रमुख राजनीतिक शक्ति आन्दोलनमा होमिँदा नागरिक समाजको एउटा हिस्सा पनि संघर्षमा छ। 

हरेक राजनीतिक परिवर्तनमा योगदान पुर्‍याउँदै आएको नागरिक समाजले आन्दोलनलाई अगाडि बढाउँदै पुस्ता हस्तान्तरणको बहस समेत सुरु भएको छ। २०६२/०६३ सालको जनआन्दोलन त्यसभन्दा अगाडि र पछाडिका राजनीतिक परिवर्तनका आन्दोलनमा देखिने नागरिक समाजका अनुहारहरु एउटै छन्। 

अहिले पनि प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा पनि तिनै अनुहारहरु अगाडि छन्। यस्तोमा अहिले नागरिक समाजको आन्दोलनमा पुस्ता हस्तानतरणको बहस चल्न थालेको हो। 

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई प्रतिगमनकारी कदमको रुपमा चित्रित गर्दै मंगलबार प्रज्ञा प्रतिष्ठानमा नागरिक सभाको आयोजना गरियो। यसै सभाबाट पुस्ता हस्तान्तरणको बहस पनि सुरु भएको हो। 

२०६२/६३ सालको आन्दोलनमा नागरिक समाजको आन्दोलनको तर्फबाट नेतृत्व गरेका देवेन्द्रराज पाण्डे कार्यक्रममा उपस्थित भएनन्। उनले भिडियो सन्देश पठाए। 'मुलुक र जनताका लागि मिलेर काम गर्नुपर्छ। यो त्यसकै लागि आन्दोलन हो। राजनीतिक दललाई घच्घच्याउनु पर्छ,' सन्देशमा उनले भने।

पाण्डेले पुस्तान्तरणको सुरुवात गरे। 'यो नागरिक आन्दोलनको सम्पत्ति हो,' एउटा कागजले बेरेको बिटो दिँदै केही दिन अगाडि उनलाई भेट्न पुगेका नागरिक समाजका अगुवाहरुसँग भनेका थिए, 'नागरिकको आन्दोलनका लागि यसको प्रयोग हुनुपर्छ।'

उनले कागजमा बेरेर दिएको सम्पत्ति थियो २०६२/०६३ सालको जनआन्दोलनका लागि भनेर संकलित सहयोग रकमबाट बचेको खर्च २० हजार ५६ रुपैयाँ।

कार्यक्रममा पत्रकार नारायण वाग्लेले ०६२/६३ को आन्दोलन नागरिक अभियन्ताहरुकै कारण सफल भएको भन्दै अब फेरि त्यस्तै आन्दोलनको आवश्यकता रहेको बताए। उनले यति भन्दै गर्दा पुस्तान्तरको पनि कुरा उठाए। 

'सत्ताको मारमा परेको प्रेस, मानव अधीकारकर्मी, बार एसोशिएशनले कर्फ्यू तोडेर सुरु गरेको आन्दोलनको जगमा आन्दोलन विकसित भएको हो,'
उनले भने, 'मानव अधीकारकर्मी कृष्ण पहाडी नै आन्दोलनको सुरुवातमा किन छोपिए?' 

०६२/६३ सालको आन्दोलनका अभियन्ता डा .पाण्डेले आफूलाई नागरिक आन्दोलनको धन लेखेको चिर्कटो भएको एउटा पोको दिँदै भनेको स्मरण गरे- 'नागरिक आन्दोलनको नासो हामीहरुमाथि आएको छ।' 

कार्यक्रममा उनले प्रतिपक्षी दलको ढुलमुले चरित्रलाई कटाक्ष गर्दै भने, 'प्रतिपक्षी नाम त किन लिनु तर पनि पुनःस्थापना भए संसदमा जान्छौँ निर्वाचन भए जनतामा जान्छौँ भन्ने प्रतिपक्षी छ,' नेकपाका नेतामाथि पनि उनले ब्यंग्य कसे, 'उहाँहरु व्यापक आन्दोलन गरौँ भन्नुन्छ, किन भन्दा त उहाँहरुको कुर्सीको कोण मिलेन रे!' 

अर्कोतिर कार्यक्रममा पुस्ता हस्तान्तरणको बहससँगै नयाँ अनुहारहरु पनि देखिएका छन्। अहिले सामाजिक सञ्जालमा युवाहरु सक्रिय छन्। त्यसको प्रयोगलाई पनि पुस्तान्तर र आन्दोलनको एउटा पाटोको रुपमा अगाडि बढाउने तयारीमा नागरिक समाज जुटेको छ। 

मंगलबार नै नागरिक आन्दोलनका लागि भन्दै सहयोग संकलन भएको थियो। सो सहयोगलाई पारदर्शी बनाउने साहित्यकार युग पाठक भन्दै थिए- 'फेसबुक र ट्वीटर मार्फत हिसावकिताब सार्वनिक हुन्छ। सबै पारदर्शी होस भनेर हामीले यसो गरेका हौं।'

कार्यक्रममा पाका पुस्ता कम युवाहरुको सहभागिता धेरै देखिन्थ्यो। नागरिक आन्दोलनको एउटा पक्ष र नयाँ कलाकर्मी थिए। केही महिलाहरुको महिलाहरुको फ्ल्यास मब प्रदर्शन् थियो। पोलिटिकल लिट्रेसी फर वमन अगाडि देखिन्थ्यो। 

सिल्पी थियटरका रंगकर्मी कवितामै अभिनय प्रस्तुत गर्दै ओलीको पतनको बाटो देखाउँदै थिए। केही कलाकार क्यानभास तयार गर्दै थिए। र बिक्यो ओलीको 'नयाँ युग' २० रुपैयाँमा। 

पत्रकार वाग्लेले आन्दोलनको उद्घोष गरे -अबको आन्दोलन शासकको नाक भाँच्नेगरि हुनेछ।

'अब नागरिक आन्दोलन पुस्तान्तर हुँदै पुराना पुस्ताको अभिभावकत्वमा नयाँ पुस्ताले नेतृत्व गर्नेछ' -त्यसैको झल्को देखियो प्रज्ञामा मंगलबार।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell