
सुर्खेत : पछिल्लो समय टिपर आतंक बढेको भन्दै टिपर सञ्चालनमा निश्चित समय नतोकिने बेलासम्मका लागि सुर्खेतमा टिपर सञ्चालनमा बन्दको आह्वान गरिएको छ।
दैनिक जसो टिपरले ठक्कर दिई पैदल यात्री र मोटरसाइकलमा सवार यात्रुको ज्यान लिइरहेको भन्दै टिपर पीडित परिवार संघर्ष समितिले अनिश्चितकालका लागि टिपर सञ्चालन बन्द गरिएको घोषणा गरेको छ। यदी कोही कसैले अटेर गरी टिपर सञ्चालन गरे वा गराएमा टिपरलाई हुने क्षतिप्रति सम्बन्धित निकायनै जवाफदेहि हुनुपर्ने संघर्ष समितिले चेतावनी दिएको छ।
टिपर ओभरलोड, तीव्र गति, टिपर सञ्चालन हुने निश्चित समय सीमा नहुँदा टिपरको आतंक दिन प्रति दिन भयावह हुँदै गएको समितिले औँल्याएको छ। समितिले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई टिपर बन्दको जानकारी गराएको छ।
यता, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरोकारवाला निकायबीचको छलफलपछि टिपर सञ्चालनमा निश्चित समय तोक्ने बताएका छन्। टिपर दुर्घटनामा ज्यान गुमाएका पीडितलाई उचित क्षतिपूर्ति नदिने तथा टिपर चालक र मालिकलाई कडा कारबाही नहुँदा पनि टिपर दुर्घटना बढेको समितिको ठम्याइ छ।
बढी सडक दुर्घटना हुने वीरेन्द्रनगरको मुलपानी चोक, पिपिरा, भेरीगंगाको मदानीचौर, छिन्चु चेकपोष्ट, गुर्भाकोटको मेहेलकुना लगायतका स्थानहरुमा बढी दुर्घटना हुने गरेको छ।