PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ



पहिलोपोस्ट

सगरमाथाको बेसक्याम्पमा पुगेर सुधीर चौधरीले भने : माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ

काठमाडौं : भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथा (माउन्ट एभरेस्ट)मा भारतको पनि दावी हुनुपर्ने बताएका छन्। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका हुन्।

सगरमाथाको बेसक्याम्पसम्म पुगेका चौधरीले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने समेत बताएका छन्।

उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’

राधानाथ सिकदर बंगालका प्रख्यात गणितिज्ञ भएको बताउँदे चौधरीले उनले नै सगरमाथाको पहिलो पटक उचाइ नापेको दावी गरेका छन्।

‘त्यतिबेला अंग्रेजहरुको शासन थियो, र यहाँ काम गर्ने अग्रेजहरुले नै यसको नाम माउन्ट एभरेस्ट राखे, एन्ड्रु स्कट वले यसको नामाकरण गरेका हुन्। आज हामी यो भन्न चाहन्छौँ कि यो हिमालको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्थ्यो, र राधानाथ सिकदरको नाममा नै हुनुपर्छ। र, भारतलाई यसको लागि एक अभियान चलाउन आवश्यक छ र हामीलाई पनि माउन्ट एभरेस्टमा आफ्नो दावी पेश गर्न आवश्यक छ सारा संसारको सामु।’

बेसक्याम्पमा पुगेर चौधरीले सगरमाथाको नामाकरण गर्न समेत भ्याए। राधानाथ सिकदरले नै पहिलो पटक नाप लिएको दावी गर्दै उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्ने समेत बताए।

‘आज म यहाँ राधानाथ सिकदरलाई याद गरिरहेको छु, कि सिकदरले यो हिमालको पहिलो पटक नाप लिए। त्यत्रो ठूलो काम गरे उनले र हामीलाई यस्तो लाग्छ कि यो माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ।’

माउन्ट एभरेस्ट कहिल्यै नदेखेका जर्ज एभरेस्टको नामबाट यसको नामाकरण गरिनु जायज नभएको भन्दै उनले यस्तो दावी गरेका हुन्। चौधरी हेलिकप्टरमार्फत बेसक्याम्प नजिक पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell