इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई पराजित गरेको छ। टर्फ मोरमा भएको खेलमा युनाइटेडले घरेलु टोली बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पाउल पोग्बाले युनाइटेडको जितका लागि निर्णायक गोल गरे। उनले खेलको ७१ औं मिनेमा मार्कस रासफोर्डको पासमा गोल गरेका हुन्।
त्यस्तै गएराति नै भएको अर्को खेलमा एभर्टनले वुल्भरह्याम्टनलाई हराएको छ। घरेलु टोली वुल्भ्सलाई २-१ गोलअन्तरले हराउँदै एभर्टन चौथो स्थानमा पुगेको हो।
गएरातिको जितसँगै म्यानचेस्टर युनाइटेड तालिकाको शीर्ष स्थानमा पुगेको छ। युनाइटेडले १७ खेलबाट ३६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ३३ अंक जोडेको छ। त्यस्तै तेस्रो र चौथो स्थानमा रहेका लेस्टर सिटी र एभर्टनको समान ३२ अंक छ।
