PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

चुनाव नगराई सबै निकाय कब्जा गर्न चाहन्छन् ओली : उपेन्द्र यादव



राधेश्याम पटेल

चुनाव नगराई सबै निकाय कब्जा गर्न चाहन्छन् ओली : उपेन्द्र यादव

वीरगंज : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखेको आरोप लगाएका छन्। संघीय प्रेस फोरम पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको बताए। ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो कब्जामा लिएर तानाशाह बन्ने रहेको यादवको भनाइ थियो। उनले ओलीले वैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा गर्दै संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न प्रधानमन्त्री ओलीले चुनावको प्रोपोगण्डा ल्याएको बताए।

अदालतबाट संसद पुर्नस्थापनाको निर्णय सदर भएर वैशाखमा चुनाव भएको खण्डमा उक्त चुनावमा जसपाले भाग लिने वा नलिने भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष यादवले कुनै टिप्पणी गरेनन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीले नेपाललाई विदेशी शक्तिहरुको चलखेल गर्ने खेल मैदान बनाउने वातावरण बनाइ दिएको आरोप लगाए। उनले ओलीको असंवैधानिक कदमले देशभित्रकै प्रतिगमनकारी शक्तिहरुको अघोषित साँठगाँठ रहेकाले अहिले लोकतन्त्र खतरामा परेको बताए।

लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाका लागि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एकजुट भएर प्रतिगमनकारी कदमलाई खारेज गराउनु नै आजको आवश्यकता रहेको कुरामा यादवले जोड दिए। उनले नेपाली काँग्रेस पनि अन्तत लोकतन्त्रकै पक्षमा उभिने दाबी गरे। संघीय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपाका कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सुनिल रोहित, विघटित प्रतिनिधिसभाका सदस्य प्रदीप यादव र हरिनारायण रौनीयार, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको पनि उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell