PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतको इसारामा ओलीले प्रतिनिधिसभाको विघटन गरेको प्रचण्डको संगीन आरोप, भने : दूतसँगको गुप्तगुको परिणाम देखियो



पहिलोपोस्ट

भारतको इसारामा ओलीले प्रतिनिधिसभाको विघटन गरेको प्रचण्डको संगीन आरोप, भने : दूतसँगको गुप्तगुको परिणाम देखियो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इसारामा प्रतिनिधिसभा विघटन गरेको संगीन आरोप लगाएका छन्।

उनले आफूलाई राष्ट्रवादी देखाउन खोजे पनि अहिले आएर स्पष्ट भएको टिप्पणी गरे। पार्टीको प्रचण्ड-माधव नेपाल समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए।

'जी न्यूजको इन्टरभ्यू देख्नुभयो नि। नाटक हो त्यो,' उनले भने, 'नाटक हो भन्ने कुरा आज पुष्टि भयो नि माउन्ट एभरेष्टको नाम फेरिदिने रे त्यही जी न्यूजले।'

 

उनले भारतले हटाउन खोजेको भनेर बाहिर हल्ला पिटेको पनि आरोप लगाए।

'मलाई भारतले हटाउन खोज्यो भन्नुहुन्थ्यो। पार्टीका साथीले पनि हटाउन खोजे भन्नुभयो,' प्रचण्डले अगाडि भने, 'हामीले हटायौँ त? हटाएनौँ नि। भारतले भन्दैमा हटाउने हो र?'

उनले अहिले प्रतिनिधिसभा भंग भारतले भनेर गरेको जनताले बुझेको बताए।

'भारतले भनेर गर्‍या हो। जनतले देखे बुझे। मेरो प्रश्न मैले भारतलाई केही भन्न खोजेको होइन। केपीजीको देखियो नि कस्तोलाई दूत बनाएर बोलाउनु भयो। गुप्तगु गर्नुभयो। देख्यो नि त नेपाली जनताले।'

उनले अहिले संविधानमाथि आक्रमण गरेको बताए।

'म प्रधानमन्त्री भइन भने कुर्सी भाँची दिन्छु भन्थे। कुर्सीमात्र भाँच, नयाँ बनाउँला भन्ने थियो,' उनले भने, ' तर अहिले संविधानलाई नै भाँचभुँच पार्ने। लोकतन्त्रलाई पनि भाँचभुँच पार्ने गर्नु भयो। अनि यस्तो जनताले सहन्छ त? सहँदैन।'

उनले संविधान भाँचेर हाँसी हासी ताण्डब नृत्य गरिरहेको समेत आरोप लगाए।

'केही नभएजस्तो उहाँ हाँसी हाँसी हिँड्या देख्छु। हामीलाई त गल्ती गरेपछि डर लाग्छ नि। तर उहाँ भाङ खाएर ताण्डब नृत्य गर्दै हिड्नु भा'छ।'

उनले ओलीको नौटंकी अनुसार संवैधानिक निकाय नचल्ने बताए।

'केपी ओलीको नौटंकी राजनीतिक जोकको पछाडि कोही लाग्ने छैन,' प्रचण्डले भने, 'सुन्न पनि कान थुन्नु। देखिन्छ आँखाले के थुन्नु? ७२ प्रतिशत केन्द्रीय सदस्य भगौडा अनि ३० प्रतिशत नभएको चाहीँ रैथाने! यस्तो पनि कहीँ हुन्छ? केपी ओलीको दिमाग बाहेक?'  

ओली नै भगौडा भएको उनको दाबी थियो। 'बैठकबाट सँधै भाग्ने। बैठक छाडेर निरंकुश तरिकाले पार्टीलाई लात हानेर भाग्ने भगौडा नहुने? हामी पार्टीको निर्णय अनुसार बैठक बस्ने भगौडा रे!' उनले भने, 'मान्छेलाई लाज लाग्नुपर्ने हो। हामीलाई त लाग्छ। केपीलाई लाजै छैन। झुटोलाई पनि हो कि हो कि बनाउन सिपालु।'

'११ बजे बामदेवलाई बोलाउनु भएछ र प्रधानमन्त्री पनि तपाईँ नै हो। १ बजे माधवलाई बोलाएर अबको अध्यक्ष र प्रधानमन्त्री तपाईँ नै हो भन्ने,' उनले अगाडि भने, '४ बजे म गएको एमालेभित्र कोही नपाएर तपाईँलाई ल्याएको हो भन्नुभयो। कस्तो सकेको हो? हामीलाई त डर लाग्छ। उहाँलाई झुटो बोल्नु दूधभात खाए जस्तो रहेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell