काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सरकारलाई काम गर्न नदिएको भन्ने आरोपमा सत्यता नभएको बताएका छन्। आफू पक्षीय कार्यकर्ताको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले पार्टीले भनेको ओलीले नमान्दा यस्तो भएको बताए।
'अहिले तपाईँ सुन्नुहुन्छ पार्टीले काम गर्न दिएन र प्रतिनिधिसभा विघटन गरिदिएँ भन्दै हिँड्दै छन्,' उनले अगाडि भने, 'म चुनौती दिन चाहन्छु; पार्टीले काम गर्न नदिएको एउटा उदाहारण देखाइदिनुस्। सरकारले गर्न खोजेको एउटा काम भन्नुस् जसलाई पार्टीले गर्न दिएन। बरु अहिलेको अवस्था पार्टीले भनेको नमान्दा यस्तो भएको हो।'
उनले सरकारलाई महामारी नियन्त्रणका लागि साझा पहल गरौँ भन्दा नमानेको समेत उनले बताए।
'महामारीलाई नियन्त्रण गर्न केन्द्रदेखि तल एउटा साझा संयन्त्र बनाएर राष्ट्रिय अभियान चलाउँ भन्यौँ,' उनले अगाडि भने, 'उहाँले ब्यंग्य गर्दै हिँड्नुभयो। उल्टो महामारीको समयमा भ्रष्टाचार भएको कुरा आयो। त्यसमा सरकार जोडिएको छ भन्ने कुरा पनि आयो। अनि उहाँले काम गर्न दिएन भन्ने?'
प्रचण्डले ओलीलाई ऐना हेर्न सुझावसमेत दिए।
'एकपटक राम्रोसँग ऐना हेर्नुपर्दैन ओलीले?' उनले भने, 'संविधान बनाउँ। त्यसपछि तपाईँलाई म प्रधानमन्त्रीको प्रस्ताव गर्छु भने। प्रधानमन्त्री बनाएँ, मिलेर जाउँ चुनावपछि म तपाईँलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर फेरि प्रधानमन्त्रीको प्रस्ताव मैले नै गरेँ। अनि प्रचण्डसँग उहाँको किन आक्रोश प्रचण्डलाई खेदिरहनुपर्ने?'
उनले पार्टीभित्र विवाद भए त्यसलाई समाधान गर्नु ओलीको जिम्मेवारी रहेको बताए।
'पार्टीमा विवाद हुन्छ। मतान्तर हुन्छ। मतान्तर भएन भने रहँदैन,' उनले भने, 'पार्टीमा उहाँले या त पार्टीलाई विश्वास लिनुपर्थ्यो या त राजीनामा दिएर पार्टीलाई गो अहेड भन्नुपर्थ्यो।'
आफूले दुई पटक प्रधानमन्त्रीबाट हिँड्दा पार्टी नफुटाएको बताए।
'म पनि दुई पटक प्रधानमन्त्री भएँ। मलाई समर्थन गर्नेको समर्थन अन्तैतिर गएपछि मैले राजीनामा दिए। पार्टी फुटाउँछु। संविधान मान्दिन भनिन,' प्रचण्डले भने, 'माधवजी यहीँ हुनुहुन्छ। उहाँ पनि प्रधानमन्त्री हुनुभयो। राजीनामा दिनुभयो, पार्टी फुटाउनु भएन्। झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो। ओलीले नै राजीनामा माग्दै वक्तव्य जारी गरेको हामीलाई थाहा छ। उहाँले पार्टी फुटाउँछु राजीनामा दिन्न भन्नु भएन।'