काठमाडौं : शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन्।
नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाली कांग्रेस र जसपासंगै माधव-प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारी गरिरहेको दाबी गरे। संसद पुनर्स्थापनाको माग राखेर गरिरहेको आन्दोलन 'हात्तीको देखाउने दाँत' उनले संज्ञा दिए। सबैको चाहना चुनाव नै भएकोले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई प्रदेश अध्यक्ष साहले निर्देशन दिए।
साह प्रतिनिधिसभा विघटन हुनासाथ विरोध गरेका थिए। पछि उनी ओलीलाई समर्थन गर्दै मन्त्री पदको सपथ लिएका हुन्।
`अहिले सडकमा देख्न सक्नुहुन्छ, केही नेता तथा राजनीतिक दल संसद पुनर्स्थापनाको माग राखेर आन्दोलन गरिरहेका छन्। तिनीहरूको भ्रममा नपर्नुस्, उनीहरु सबै भित्रभित्रै चुनावको तयारी गरिरहेका छन्,´ मन्त्री साहले भने, `हात्तीको देखाउने दाँत र खाने दाँत फरक हुन्छ, यो पनि त्यस्तै हो। झट्ट हेर्दा आन्दोलन गरेजस्तो देखिन्छ तर उनीहरु केन्द्र देखि गाउँ गाउँसम्म चुनावी तयारीमा लागिसकेका छन्।´
उनले बैशाख १७ र २७ गते चुनाव हुने दाबी गरे।
