काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एक्लिँदै गएको बताएका छन्। नेकपाको आफू पक्षीय काठमाडौं जिल्ला भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'सबै हिसाबले ओली एक्लिरहेका छन्। हेर्दै जानुहोला केपी ओली निरिह भएको हेर्न पाउनुहुनेछ,' उनले भने, 'ओली गुट गलत बाटोमा छ। सबैतिर ओली गुट निरिह हुँदैछ।'
उनले प्रधानमन्त्री ओली झुटको पुलिन्दा भएको पनि दाबी गरे।
अध्यक्ष नेपालले आफूहरुको भेला देखेर ओली समूहका मानिसहरु आत्तिएको समेत दाबी गरे। 'ओली गुटका मानिस हाम्रो भेलामा मानिसहरु देखेर कोहि अस्पतालमा त छैन्न पत्ता लगाउनुछ,' उनले भने, 'यस्तै ढंगले अगाडि बढ्ने हो भने ओलीको पार्टी सडकमा मात्र होइन सडकको धुलोछाप पार्टी हुनेछ।'
उनले वामदेव गौतमलाई आफ्नो साथमा आउन आह्वानसमेत गरे।
भने, 'वामदेव कमरेडले ओली कम्युनिष्ट नेता होइन भनेको रेकर्ड छ। मैले रेकर्ड गरेको छु। वामदेव जी आज के भन्नु हुन्छ? मैले सोध्नुछ,' उनले अगाडि भने, 'फेरि पनि उहाँ सुधार्ने कोसिस हुनुहुन्छ। तर ओली सुधिर्ने मान्छे होइनन्।'
नेपालले मन्त्रीको अधिकार खोसेर ओलीले सचिवबाट मन्त्रालय चलाएको समेत आरोप लगाए। ओलीले मदन भण्डारी फाउन्डेसनमार्फत गुट चलाएको आरोप समेत लगाए।
'ओलीको उभिने आधार भनेको मदन भण्डारी फाउण्डेसन हो। त्यसबाट समानन्तर पार्टी चलाइएको छ। पशुपति प्लाजामा ओलीले भेला गरेर पार्टी अलग बनाउनु पर्छ भन्ने सल्लाह गरेका थिए,' उनले भने, 'केपी ओली नांगै राजाका रुपमा छन्।'
उनले ओलीमा राजनीतिक चरित्र नभएको आरोप समेत लगाए। स्थायी कमिटीका केहि सदस्यले ओलीका पाउ छुने गरेको समेत नेपालको आरोप थियो। ओली पक्षमा लागेका नेताहरुलाई मुलधारमा आउन आह्वासमेत गरे उनले।
'आउनुस् उचित सम्मान दिन्छौ। बीचमा बस्नुपर्ने कारण छैन। केपी ओली नेकपा एमालेमा बिलाउनेछन्। अस्ताउँदो सूर्यमा विलाउने छन्। उदाउँदो सूर्य हामीसँग छ,' उनले भने।