PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीलाई 'राजनीतिक जोकर र नांगो राजा' सँग तुलना भएको सभामा प्रचण्ड-नेपाललाई कार्यकर्ताले सोधे 'ह्वाट नेक्स्ट?'



प्रकाश भण्डारी

ओलीलाई 'राजनीतिक जोकर र नांगो राजा' सँग तुलना भएको सभामा प्रचण्ड-नेपाललाई कार्यकर्ताले सोधे 'ह्वाट नेक्स्ट?'

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विभाजित समूहले एक अर्कालाई सार्वजनिक मञ्चबाटै चुनौति दिइरहेका छन्। कानुनी मान्यता मात्रै पाउन कुरिरहेको प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूह काठमाडौंमा फरक समयमा तर एकै ठाउँबाट आरोप प्रत्यारोपमा उत्रिएका छन्। राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस १८ र २५ मा भेला गरेर ओलीले प्रचण्ड माधव माथि कमेडी गर्दा बुधवार ओली इतर समूहले ओलीलाई नै जोकरको संज्ञा दियो।

कार्यकर्ताको उपस्थति उस्तै तर ब्यवस्थापनमा ओली समूह राम्रो

आजको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले ओलीको बानी व्यवहारको चर्को आलोचना गरे।

ओली समूहको जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रम जस्तो प्रचण्ड माधव समूहको भेलाको व्यवस्थापन भव्य देखिएन। प्रतिष्ठानको प्रांगणको दायाँबाया ओली समूहले भित्रका गतिविधि हेर्न मिल्ने मोनिटरको समेत व्यवस्था गरेको थियो। ओलीको स्वागतका लागि पानीको फोहोरा नै प्रयोग गरिएको थियो। 

कार्यकर्ताको उपस्थिति ओली समूह र प्रचण्ड माधव समूह्यको उस्तै रह्यो। तर, प्रचण्ड र माधवलाई हल बाहिरका रहेका कार्यकर्ताले प्रत्यक्ष हेर्न पाएनन्। सुन्न भने पाए। मोनिटर थिएन, माइकको व्यवस्था गरिएको थियो। तर भित्र बोलेका कुरा प्रस्ट सुनिएन। कार्यक्रम चलिरहेकै बेला कार्यकर्ताले भाषण राम्ररी नसुनिएको गुनासो गरे।

प्रचण्ड माधवलाई प्रश्न, ह्वाट नेक्स्ट ?

जसरी ओली समूहले जिल्ला कमिटीको भेला प्रज्ञा प्रतिष्ठानमा गर्‍यो, प्रचण्ड माधव समूहले पनि त्यही गर्‍यो। उद्धेश्य थियो- जिल्ला कमिटीमा पनि हाम्रो बहुमत नै छ भन्ने देखाउने।

जिल्ला अध्यक्ष कृष्ण राईले ओलीलाई काँध हाल्दा सचिव हिमाल शर्माले माधव-प्रचण्डलाई साथ दिएका छन्। जिल्ला कमिटिका तर्फबाट भाषण भन्दापनि स्वागत मन्तव्य थियो।

सुरेन्द्र मानन्धर आए प्रचण्ड माधवलाई स्वागत गर्न मञ्चमा। ओलीको आलोचना त गरे नै उनले प्रचण्ड माधवका अगाडी समेत प्रश्न तेर्साए।

काठमाडौं कसैको पदको लागि प्रयोग नहुने उनको भाषणको निचोड थियो। 'पिके र एमकेलाई केपीको ठाउँमा ल्याउनलाई मात्र होइन। ह्वाट नेक्सट? अब सुद्धिकरण हुन्छ की नाई? काठमाडौंले त्यो चाहन्छ। पदको लागि मात्रै लुछाचुँडी भए ठिक हुदैन्,' प्रश्न गर्दै उनले भने।

मानन्धरले नेकपाको अहिलेको विवादलाई सुंगुरको गोठसँग तुलना समेत गरे। अब फोहोर सफा गर्नुपर्ने बेला भएको उनको तर्क थियो।

प्रचण्डले नहेरी गरे हस्ताक्षर, माधव पढदै

कार्यक्रममा प्रचण्ड सुरुमै आए। उनी आएपछि मात्रै सभा सुरु भयो तर माधव नेपालको इन्ट्री बीचमा मात्रै भयो। पोखराबाट आउन ढिलो भएकाले कार्यक्रममा ढिलो पुगेको नेपालको प्रष्टिकरण थियो।

माधव नआउँदै मञ्चमा एउटा फाइल देखियो। प्रचण्डका पछिल्लो लाइनमा बसेका नेताले उनलाई साइन गर्न फाइल दिए। कानेखुसी गर्दै प्रचण्डले फाइलमा हस्ताक्षर गरे। माधव नेपाल उपस्थित भएपछि उनको हातमा पनि त्यही फाइल पुग्यो। माधव नेपालले फाइल पल्टाएर पढे र बल्ल हस्ताक्षर गरे। 

निर्वाचन आयोगले नेकपाका दुई विभाजित समूहलाई पत्र लेखेकोमा त्यही पत्रको जवाफमा हस्ताक्षर गरेका थिए नेपाल र प्रचण्डले। स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले निर्वाचन आयोगलाई जवाफ दिने फाइल पठाएको बताए। 'निर्वाचन आयोगले लेखेको पत्रको जवाफ हो,' पहिलोपोस्टसँग उनले भने।

घनश्याम उठेनन् माधवको स्वागतमा

मञ्चमा नेपाल-प्रचण्डलाई स्थायी कमिटीका नेतासँगै राखिएको थियो। सबैभन्दा दायाँतिर थिए स्थायी कमिटी सदस्य घनश्याम भुषाल। उनीसँगै अर्का स्थायी कमिटी सदस्य योगश भट्टराई  थिए। दुईजनाको दायाँतिरको मञ्चमा थिइन नेकपाकी नेता सावित्रा भुषाल र जिल्ला कमिटी सचिव हिमाल शर्मा। उनकै छेउमा थिए प्रचण्ड। माधव नेपाल बीचमा आसिन हुँदा बायाँतिर थिए स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य। शाक्य बसेकै मेचमा थिए स्थायी कमिटी सदस्य बेदुराम भुषाल। सबैभन्दा छेउमा थिए बागमती प्रदेशका सह इञ्चार्ज हितमान शाक्य।  

ढिलो आएका नेपाललाई सञ्चालकले मञ्चमा उक्लदै गर्दा प्रमुख अथितिको आसन ग्रहणको गर्न आग्रह गरिसकेका थिए। तर त्यो भन्दा नै पहिले नेपाललाई देख्ने बितिकै मञ्चमा बसेका सबै नेताले उठेर स्वागत गरे। स्थायी कमिटी सदस्य घनस्याम भुषाल भने उठेनन्। प्रचण्डको भाषण सुन्न सम्म पर्खिएका उनी माधवको भाषण सुरु नहुँदै बाहिरिए।

कित्ता क्लियर!

जिल्ला कमिटीले नेपाल-प्रचण्डलाई मञ्चमा राखेर आफ्नो जिल्लाको अबस्थाबारे ब्रिफिङ गर्‍यो। यो बीचमा को कता तिर छन् भन्न समेत भ्याए जिल्ला कमिटीका नेताहरुले। काठमाडौंका २ वटा मेयर आफ्नो समूहमा, ६ नगर कमिटीमा बहुमत, काठमाडौं जिल्लाका १३ केन्द्रीय सदस्य मध्ये ३ ओलीतिर १० आफूतिर भएको दाबी गरे सचिव हिमाल शर्माले।

कार्यक्रममा उनले अब जिल्लामा धेरै नेताको कित्ता क्लियर भइसकेको बताए। काठमाडौंमा अब आफ्नो समूहले आन्दोलनको आँधीहुरी ल्याउने शर्माको भनाई थियो। उनले मूल नेतृत्व नै आफ्नो समूहको भएकाले अबको आन्दोलनमा कार्यकर्ता बाहेक नागरिकको साथ पनि हुने बताए।

कानेखुसी नै कानेखुसी

मञ्चमा भएका नेताहरु बेलाबेला प्रचण्ड र नेपाललाई गएर कानमा केही सुनाउँथे। प्रचण्डको छेउमै रहेका शर्माले प्रचण्डसँग कानमा बेलाबेला गफ गर्थे। नेपालको इन्ट्री पछि भने प्रचण्ड-माधवले नै बढी कानेखुसी गरे। कहिले माधवले मोबाइल देखाएर प्रचण्डसँग कुरा गर्थे भने कहिले प्रचण्डले मोबाइल हेर्दै माधवसँग कानेखुसी गर्थे।

एउटै मेचमा बसेका भट्टराई र भुषाल पनि नेताको भाषण सुन्न भन्दा गफ गर्न व्यस्त थिए। वाग्मती प्रदेशकी इञ्चार्च अष्टलक्ष्मी शाक्य पनि बेला बेलामा प्रचण्डसँग गफ गर्न पुग्थिन। उनी प्रचण्डसँगको कानेखुसि गरेर कार्यक्रम नसकिदै बाहिरिन्।

माधवले गरे नांगो राजासँग तुलना, प्रचण्डले दिए राजनीतिक जोकरको उपमा

जसरी ओलीले राजधानीमा भएका आफ्ना समूहको भेलामा नेपाल-प्रचण्डमाथि निशाना लगाउने प्रयास गरे त्यसैगरी प्रचण्ड-नेपालले पनि बुधवार ओलीलाई तारो बनाए। भाषणको अधिकांश समय ओलीकै आलोचनामा खर्चिए उनीहरुले।

सुरुमा प्रचण्डले काठमाडौंका कार्यकर्तालाई फकाउने प्रयास गरे। उनले काठमाडौं नै राजनीतिक लडाइँमा निर्णायक भएको बताए। सुरुमा रसिला देखिएका प्रचण्ड जब ओलीको आलोचना गर्ने मोमेन्टसम्म पुगे उनी आक्रमक बन्दै गए। विस्तारै बोलेर भाषण सुरु गरेका उनी ओलीको शैलीको आलोचना गर्दा भने चर्को स्वरमा बोल्थे। उनले ओलीलाई राजनीतिक जोकर समेत भन्न भ्याए।

'साथीहरु पोलिटिकल जोकर बनिरहेका छन्। यो प्रहसन नभए के हो? मलाई त साथिहरु बिक्षिप्त भएकी जस्तो लाग्छ,' उनले भने।

प्रचण्डले निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुले ओलीलाई नै साथ दिए आँधीहुरी ल्याउने चेतावनी दिए।

'संवैधानिक निकायले पनि ओलीले जस्तै गरेमा कायापलट भन्छन् नी त्यस्तै हुन्छ। आन्दोलनको आँधीहुरी आउँछ। जनता सहेर बस्दैन्,' उनले भने।

 

प्रचण्डले पहिलो अध्यक्ष माधव नेपाल भएको बताए। ओलीले आफूलाई धोका दिएको तर नेपाल त्यस्तो नेता नै नभएको उनको भनाई थियो।

'अहिले माधव नै हो पहिलो अध्यक्ष। मेरो बिचार के हुन्छ भने उनले नै प्रमुख अथितिको भुमिका निभाउन्। केपी प्रचण्ड जस्तो होइन। माधव प्रचण्ड त्यस्तो हुँदैन। त्यसो भए त मैले के गर्छु के गर्छु,' उनले भने।

प्रचण्डको भाषण लगतै बोलेका नेपालले पनि ओलीको चर्को आलोचना गरे। उनले ओलीको कम्युनिस्ट आन्दोलनमा त्यस्तो ठूलो भुमिका नै नभएको दाबी गरे। ओलीले आन्दोलनको खिसिट्युरी गरेको आरोप लगाए नेपालले।

उनले भाषणका क्रममा नांगो राजाको कथा समेत सुनाउन भ्याए। ओलीलाई नांगो राजासँग तुलना गर्दै नेपालले भने,'राजा नांगै हिडँदा रहेछन्। अनि मान्छेले डरले कति राम्रो पोशाक भन्दा रहेछन्। तर जब सबैले राजा नांगै भनेपछि राजाले बाध्य भएर लुगा लगाए। हो ओलीपनि त्यस्तै हो,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell