PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पार्टी एकता अभियान वामदेवको बाध्यता कि 'बार्गेनिङ टुल'? देखिएन नेताकार्यकर्ताको रुचि, न्युट्रल बस्दा बन्ला त तेस्रो शक्ति?



प्रकाश भण्डारी

पार्टी एकता अभियान वामदेवको बाध्यता कि 'बार्गेनिङ टुल'? देखिएन नेताकार्यकर्ताको रुचि, न्युट्रल बस्दा बन्ला त तेस्रो शक्ति?

वैशाख ८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको उत्कर्षको समय रह्यो। अध्यादेशले पार्टी किचलो सतहमा देखिदाँ प्रधानमन्त्री केपी ओली रक्षात्मक बने। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले ओलीको राजीनामा मागे।

सचिवालयमा अधिकांश नेताले ओलीलाई साथ नदिएपछि प्रचण्ड-नेपालको पल्ला भारी देखिन्थ्यो। ओली इतर खेमामा सबैभन्दा आक्रमक थिए उपाध्यक्ष गौतम। बहुमत नेता आफ्नोविरुद्ध उभिँदा ओलीका विकल्प साँघुरिदै गए। शुरुमा ओलीले प्रचण्डलाई फकाए। तर, पाएनन् ग्रिन सिग्नल।

आफ्नो राजीनामा माग्न बसेको वैशाख १७ को सचिवालय बैठकमा ओलीले फ्याट्ट वामदेव कार्ड फ्याँके। प्रधानमन्त्री बनाउने ओलीको अफरले गौतम पछि हटे। बरु साउन १३ को सचिवालय बैठकमा ६ बुँदे प्रस्ताव ल्याए-पाँचै वर्ष ओली नै प्रधानमन्त्री र अध्यक्ष।

आफूलाई काँध थाप्ने नीति वामदेवको देखेपछि ओलीले मित्रता बढाए। बैठककै भोलिपल्ट साउन १४ गते ओली वामदेव निवास भैंसेपाटी पुगे। कालो चिया पिएर फर्किएका ओलीले राहत महसुस गरिरहेका थिए।

गौतमको युटर्नले प्रचण्ड-नेपाल समूह भने अप्ठेरोमा पर्‍यो। ९ सदस्यीय सचिवालयमा ओली पक्षमा पाँच नेता देखिए।

राजीनामालाई डेडलाइन बनाएको प्रचण्ड-नेपाल खेमा एक कदम पछि हट्यो, ओली-प्रचण्डबीच सहमति भयो। साउन ३० मा कार्यदल गठन र भदौ २६ को सहमति वामदेव पछि हट्दाको परिणाम थियो।

वामदेवको ढुलमुले नीति : दुई महिनाभित्रै कहिले ओलीतिर कहिले प्रचण्डमाधवतिर

वामदेवको बल धेरै दिन ओलीलाई रहेन। भदौ २६ देखि कातिक २२ सम्मको झण्डै दुई महिनाको अवधिमा गौतमले फेरि गुट बदले। प्रचण्ड-नेपाल समूहमै फर्किए गौतम। कातिक २२ मा गौतमसहितका ५ नेताले सचिवालय बैठक बोलाउन माग गर्दै ओलीलाई पत्र लेखेका थिए। त्यसयता गौतमको साथ ओलीलाई रहेन। बालुवाटारले लगातार गौतमलाई आफ्नो समूहमा ल्याउन पहल गरे पनि उनी टसमस भएनन्, बरु पत्र युद्धमा गौतम खुलेरै प्रचण्ड समूहमा लागे। कातिक २८ को सचिवालय बैठकमा प्रचण्डले ओलीलाई आरोप लगाउँदै पेश गरेको १९ पृष्ठको प्रस्तावलाई बालुवाटारले प्रचण्डको मात्रै भनेर प्रचार गरेको थियो। तर वामदेवले सबैभन्दा पहिला मुख खोल्दै त्यसमा आफूसहित पाँचै नेताको सहमति रहेको अडान राखेपछि भने वालुवाटार गौतमसँग झस्किएको थियो।

त्यसयता बसेका बैठकमा गौतमले ओलीको कार्यशैलीको चर्को आलोचना गरे। ओलीमा कम्युनिष्ट नेतामा हुनुपर्ने गुण नै नभएको र कहिल्य नसुध्रिएको भन्दै ओलीलाई सुध्रिन सुझाव दिइरहे वामदेवले। मंसिर ३ को सचिवालय बैठकमा ओलीले प्रचण्डको आरोप पत्रलाई जवाफ दिन १० दिनको समय माग्दा पनि गौतमले सुध्रिनुको साटो इगो बोक्ने नेताको संज्ञा दिएका थिए, ओलीलाई। मंसिर १३ को सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिँदै खारेज गरेको घोषणा गर्दा पनि गौतमले ओलीलाई सुध्रिन सुझाव दिइरहेका थिए। बालुवाटारले लगातार प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दा पनि गौतमले प्रस्ताव फिर्ता नहुने बरु प्रचण्डकै प्रस्तावअनुसार ओली सच्चिनुपर्ने अडानमा देखिए। गौतम खुलेरै प्रचण्ड समूहमा लाग्दा पनि प्रचण्ड नेपाल समूहले उनीप्रति भरोसा भने गरेन। बरु उनलाई एउटै अडानमा कायम रहन प्रचण्ड-नेपाल समूहका नेताले सुझाव दिइरहे।

प्रतिनिधि सभा विघटनपछि वामदेव मौन

पुस १ नेकपा विवादको क्लाइमेक्सको समय रह्यो। बालुवाटारमा १ बजेका लागि थियो स्थायी कमिटी बैठक तर त्यसअघि नै प्रचण्ड नेपालका नेता संसदको विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। त्यसबारे भने आफूलाई जानकारी नै नभएको गौतमले दाबी गरेका छन्। राष्ट्रिय सभाको २३ पुसको बैठकमा उनले ओलीलाई अविश्वासको प्रस्ताव ल्याउनेबारे आफू अनभिज्ञ भएको बताएका थिए। नेकपाका नेताहरुले कित्ता क्लिएर गरिसक्दा समेत वामदेव भने राष्ट्रियसभामा समेत आफ्नो प्रष्ट धारणा राखेनन्। उनले एकातिर ओलीको आलोचना गरे भने अर्कोतिर अविश्वसको प्रस्तावका लागि कोसिस भएको भन्दै विरोध गरे।

मंसिर महिनाभर ओली विरोधी गतिविधिमा प्रचण्ड माधव खेमामै रहेका वामदेव पुसमा भने उक्त समूहमा रहेनन्। पुस ५ मा ओलीले संसद विघटन गरेपछि ओली इतर खेमाका नेताहरुले तत्काल विरोध जनाएका थिए। तर वामदेवले भने आफूले संसद विघटनको पक्ष विपक्षमा केही नबोल्ने धारणा सार्वजनिक गरे। तर उनको अडान एक दिन पनि टिकेन। अपरान्हमात्रै संसद विघटनको कदम गलत भएको भन्दै विज्ञप्ति निकाले। त्यसयता उनी कुनै पनि समूहका भेलामा सहभागी भएका छैनन्। बालुवाटार र खुमलटारका नेताहरुसँग लगातार सम्पर्कमा रहे पनि उनी हालसम्म कतै खुलेका छैनन्।

अब भने तेस्रो शक्ति निर्माणतिर

नेकपा विवाद क्लाइमेक्ससम्म पुग्दा ओलीको चर्को विरोध गरेका वामदेवको ध्यान हाल भने आफ्नो समूहलाई नेकपाको तेस्रो शक्ति बनाउनमा केन्द्रित छ। पहिलोपटक पुस १७ को राष्ट्रिय सभामा सहभागी भएर फर्कँदै गर्दा गौतमले आफू नेकपाको तेस्रो शक्ति भएको बताएका थिए।

त्यसका लागि उनले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। उनी निकट मानिने नेता हरि पराजुलीले दुबै समूहका नेताले आफूलाई साथ दिन अनुरोध गरिरहेको बताए। पराजुलीका अनुसार वामदेवले त्यसका लागि केही शर्त राखेका छन्। 'दुबै समूहमा जान उहाँका केही शर्त छन्। नेकपा नमिलेसम्म कुनै पनि समूहमा नजाने भन्ने अडान नै छ। हामी गएपछि त कसले नेकपा मिलाउँछ?,' उनले भने। वामदेवले एकातिर दुबै समूहमा बार्गेनिङ गरिरहेका छन् भने अर्कोतिर आफ्नो समूहलाई गाउँसम्म बिस्तार गरिरहेका छन्। अहिले पालिका स्तरमा कमिटी निर्माण भइरहेको पराजुलीले बताए। ती कमिटी मार्फत दुबै समूहलाई मिल्न दबाव सिर्जना गर्ने पराजुलीको भनाई छ।

'प्रेसर बनाउन पालिका स्तरमा कमिटी निर्माण गर्ने र दुबै समूहका नेतालाई मर्यादित रुपमा आग्रह गर्ने र दुबै समूहका नेतालाई मिलेर आउनुस नभए हाम्रो साथ तपाइहरुलाई भन्ने काम भइरहेको छ,' उनले भने।

वामदेव समूहले जिल्लामा १७ वटा कमिटी बनाइसकेका छन्। केन्द्रमा ४ सय ५१ सदस्यीय केन्द्रीय कमिटी र १ सय १ को कार्यसम्पादन कमिटी पनि बनिसकेको छ।

ओली पक्ष र प्रचण्ड माधव पक्षको दाबी : यो अभियान औचित्यहीन छ, कित्ता क्लियर गरेकै राम्रो

वामदेवले आफूलाई नेकपाको तेस्रो समूह दाबी गर्दै एकता अभियानमा जोड दिँदा दुबै समूहका नेताले गौतमको अभियानको औचित्य नभएको बताएका छन्। ओली समूहले गौतमलाई एकता अभियानको औचित्य नभएको गौतमलाई बताइसकेको छ भने प्रचण्डले सम्भव भए एकताका लागि पहल गर्न भनेका छन्। 'एकताका लागि सम्भव हुन्छ भने गर्नुस् भनेको छु। उहाँले यसलाई साथ दिने त भन्नुभएको छैन,' प्रचण्डले भृकुटीमण्डपको विरोध सभामा भनेका थिए।

खानेपानी मन्त्री तथा हाल ओली समूहमा रहेका मणि थापाले गौतमको अभियानको औचित्य नभएको बताए। नेकपाको विभाजन मुख्यगरी ओली र प्रचण्डको संघर्षका कारण भएकाले उनीहरु नै पहिला मिल्नुपर्ने भनाई छ, थापाको। 'उहाँको अभियानले मात्रै एकता कायम हुदैन। अहिलेको अवस्थामा त्यति औचित्य देख्दिन म। नेकपा विवाद मुख्य गरी दुई नेताबीच स्ट्रगल भएर भएको हो,' उनले भने। उनले गौतमलाई कित्ता क्लिएर गरेर एउटा समूहलाई रोज्नु नै ठीक भएको सुझाव दिए।

प्रचण्ड माधव समूहले पनि गौतमको अभियानलाई बार्गेनिङका रुपमा बुझेको छ। गौतमको अभियानले एकताको वातावरण नबनाउने प्रचण्ड माधव समूहका नेताहरु बताउछन्। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य अब एकता सम्भव नै नभएको दाबी गर्छन्।

'सम्भावना छैन। एकता के का लागि गर्ने त्यसका आधार के हुन्। त्यतिकै मिल्न त सकिदैन। विधी आधार हुन्छ। केपी कमरेडले सच्याउनु पर्‍यो। हामीले त बसेर छलफल गरौं भनेका थियौं। कुरै नसुन्ने विचारबाट पार्टी नचलाउने। यसले पार्टीलाई ठुलो नोक्सान गर्‍यो,' शाक्यले भनिन।

वामदेवको अभियानले आफ्नो समूहलाई कुनै असर नगरेको शाक्यको भनाई छ। उनको समूहमा भन्दा पनि आफ्नो कित्ता क्लिएर गरेरै लाग्नेको संख्या धेरै भएकाले गौतको अभियानको असर पार्टीमा नपर्ने उनको तर्क छ।

'मलाई अप्ठेरो गर्छ जस्तो लाग्दैन। कार्यकर्ता पनि धेरै सचेत भइसके। बिचमा भन्दा पनि एउटा समूहमा स्पष्ट रुपमा लाग्नुपर्छ भन्ने छ,' उनले भनिन्।

गौतमले नेताहरुसँग समूहमा मिसिन बार्गेनिङ गरिरहेको संकेत गरिन्।

'अलिकति लोभलाच राख्ने पनि पार्टी भित्र भइहाल्छ त्यो एक हिसाबले लाग्छन्। उहाँले गरिराख्नुभएको पहलको अर्थ छैन। अहिले लोकतन्त्रमा प्रहार भइरहेको छ यसको विरोधमा लाग्दा नै उचित हुन्छ,' गौतमलाई सुझाव दिँदै शाक्यले भनिन्।

नेकपा विवादका बेला दुबै गुटका लागि निर्णायक देखिएका वामदेव हाल भने आफै निर्णयविहीन बनेका छन्। उनका लागि यो रुचिकर नभएपनि बाध्यता बन्न थालेको छ। कहिले प्रचण्ड माधवविरुद्ध त कहिल्य ओलीविरुद्ध प्रयोग भएका वामदेलाई कित्ता क्लिएर गर्न जति कठिन हुँदैछ त्यो भन्दा धेरै राष्ट्रिय राजनीतिमा स्पेस बनाउनु हुने देखिएको छ। त्यसैले वामदेव फेरि पनि आफूलाई तेस्रो शक्ति बनाउने ध्याउन्नेमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell