PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

कांग्रेस सभापति देउवा चढेको हेलिकोप्टर कोदोबारीमा आकस्मिक अवतरण



रासस

कांग्रेस सभापति देउवा चढेको हेलिकोप्टर कोदोबारीमा आकस्मिक अवतरण

गोरखा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ। काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकोप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो।

‘कैलाश एयरको हेलिकोप्टर मध्याह्न करीब १२:४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने, ‘कांग्रेसका सभापति देउवा पर्वततर्फ जान लाग्नुभएको रहेछ।’

आकस्मिक अवतरण गरिएको हेलिकोप्टर करीब ३५ मिनेट आँपपीपलमै रोकिएको प्रहरी उपरीक्षक गुरुङले बताए। मौसममा सुधार आएलगत्तै हेलिकोप्टर १:२० बजे गोरखाबाट फेरि पर्वततर्फ उडेको प्रहरी उपरीक्षक गुरुङले बताए।

स्थानीयवासी सञ्जीव रानाका अनुसार बाक्लो कुहिरो लागेका कारण रिपगाउँको कोदोबारीमा हेलिकोप्टर अवतरण गरिएको थियो। सभापति देउवा पर्वतमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell