PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भोलीबाट शुरु हुने प्रधानमन्त्री कपको तयारी पूरा, क्षमताको आधामात्र दर्शकलाई अनुमति दिने तयारी



पहिलोपोस्ट

भोलीबाट शुरु हुने प्रधानमन्त्री कपको तयारी पूरा, क्षमताको आधामात्र दर्शकलाई अनुमति दिने तयारी
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट शुरु हुँदैछ। कोभिड महामारीसँगै लामो समय मैदान बाहिर रहेका क्रिकेटरहरु राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा उत्रने छन्।

यसअघि अघिल्लो महिना नेपाली क्रिकेटरले चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशालामा गौतमबुद्ध कप क्रिकेट खेलेका थिए। त्यसो त नेपाल क्रिकेट संघ (क्यान)ले महामारी पछि आयोजना गरेको यो पहिलो प्रतियोगिता भने होइन। यसअघि पनि दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट सम्पन्न गरिसकेको छ। जसमा प्रदेश १ ले उपाधि उचालेको थियो।

भोलिबाट पुरुषतर्फ पनि प्रधानमन्त्री कप शुरु हुँदैछ। प्रतियोगिताका खेलहरुका लागि मूलपानी क्रिकेट मैदान र टीयू क्रिकेट मैदान गरि दुईवटा मैदानमा खेल खेलाइने क्यानले जनाएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा भोलि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले उद्घाटन खेल खेल्नेछन्। प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।

क्षमताको आधाभन्दा नबढ्ने गरी दर्शक

क्यानका सचिव अशोकनाथ प्याकुरेलले सबै तयारी पूरा भइसकेको भन्दै धेरै दर्शकलाई भने अनुमति नहुने बताए।

उनले प्रतियोगितामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मैदानको क्षमताको आधा भन्दा नबढ्ने गरीमात्र दर्शकलाई प्रवेश दिने तयारी भइरहेको पहिलोपोस्टलाई जानकारी दिए।

'तयारी लगभग सकियो। भोलिबाट प्रतियोगिता शुरु हुँदैछ। मुलपानीमा चाहिँ बाँकी रहेको केही काम जारी छ,' प्रतियोगिताको तयारीबारे उनले भने, 'सुरक्षाका लागि प्रहरीसँग समन्वय गरेका छौ। प्रोटोकललाई पालना गरिहाल्छौं हामी।'

दर्शकहरुका लागि टिकटको बारेमा पनि छलफल भइरहेको उनले बताए। स्वास्थ्यको जुन पालना गर्नुपर्ने गाइडलाइन पालना गर्नेगरी सीमित मानिसहरुलाई मात्र भित्र प्रवेश गराउने योजना रहेको उनले बताए।

'यति नै दर्शक आउने भन्ने छैन तर हाम्रो सिटिङ क्यापसिटीको आधा भन्दा नबढ्ने गरी गर्ने भन्ने कुरा सैदान्तिक रुपमा भएको छ,' सचिव प्याकुरेलले भने, 'फाइनल अघि त्यति धेरै भीड पनि नहोला। भीडभाड नबनाउने कोभिडको कुराहरु विचार गरेर सीमित संख्यामा आउन दिने भन्ने कुरा छ।'

चलयमान बन्दै क्रिकेट

कोरोना महामारीका क्रममा लकडाउन र निषेधाज्ञा चलिरहँदा नेपाली क्रिकेट मैदानमा गतिविधि भएन तर क्यानले भने आफ्नो अन्य गतिविध गरिरह्यो। बीचमा केही खेलाडीहरु व्यक्तिगत अभ्यासका लागि कीर्तिपुर मैदान पुगेपनि त्यो औपचारिक अभ्यास थिएन।

यसबीचमा क्यानले खेलाडीको वर्गीकरण गरेको थियो। यद्यपि यसमा विवाद देखिएपछि वर्गीकरणमा पुनर्विचार गर्नु परेको थियो। त्यस्तै महिला क्रिकेटरहरुको पनि यसपाला 'सेन्ट्रल कन्ट्र्याक' भयो।

पछिल्लो समय युएईको टी १० लिगका लागि नेपाली क्रिकेटर करण केसी, सोमपाल कामी र कुशल मल्लले अवसर पाएका छन्। त्यस्तै पूर्वकप्तान पारस खड्का टीम अबुधावीमा मेन्टरको भूमिकामा देखिने छन्।

त्यस्तै, चितवनमा निर्माणाधीन गौतमबुद्ध स्टेडियममा केही महिना अघि गौतमबुद्ध कप क्रिकेट सञ्चालन भएको थियो। जहाँ महामारी पछि पहिलो पटक क्रिकेटरहरु मैदानमा उत्रिएका थिए।

त्यस्तै, अघिल्लो महिना क्यानले प्रधानमन्त्री कप महिला क्रिकेट दाङको लमहीमा आयोजना गरेको थियो। जसमा प्रदेश १ ले एपीएफलाई हराउँदै उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell