PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'कमल पोखरीको दोहन रोक्न सकेनौं' भन्दै अनुहारमा माटो पोत्ने तयारीमा अभियन्ता



'कमल पोखरीको दोहन रोक्न सकेनौं' भन्दै अनुहारमा माटो पोत्ने तयारीमा अभियन्ता
फाइल फोटो : कमलपोखरी

काठमाडौं : काठमाडौंको कमल पोखरीलाई केही महिनाअघि सुकाइएको छ। गुरुयोजना बनाएर कमलपोखरीलाई ‘ब्युटिफिकेशन’ गर्ने नाममा पोखरी सुकाइएको थियो।

प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रिटको फूल राख्ने योजना बनाइएको छ। पोखरीलाई सुकाएर कंक्रिटको प्रयोग गरिएकोमा अभियन्ताहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन्।पोखरी सुकाउने क्रममा त्यहाँ माछा टिप्नेहरुको घुइँचो लागेको थियो। माछा बेच्न ठेक्का नै दिइएको अभियन्ताको दाबी छ।

हेर्नुहोस् : सुक्दै गरेको कमल पोखरीको हिलोमा माछा मार्नेको चहलपहल

फाइल फोटो : सुक्दै गरेको कमल पोखरीमा माछा मार्दै 

रानीपोखरीमा पनि महानगरले कंक्रिटको प्रयोग गर्ने तयारी गरेको थियो। तर अभियन्ताहरुको विरोधपछि रानीपोखरी मौलिक स्वरुपमा निर्माण गरिएको थियो। हाल कमल पोखरीमा पनि रानीपोखरीकै नियती दोहोरिएको अभियन्ताहरु बताउँछन्। त्यसैले, रानीपोखरीबाट पाठ सिक्न नसकेको र कमल पोखरीको दोहन रोक्न नसकेकोमा लज्जा बोध भएको भन्दै अभियन्ताहरुले अनुहारमा कमल पोखरीको माटो पोत्ने तयारी गरेका छन्।

सांकेतिक दबाब स्वरुप अभियन्ता र प्रकृति संरक्षणमा लागेकाहरुले शुक्रवार दिउँसो सुकाइएको कमल पोखरीमा बांकी रहेको माटो अनुहारमा पोत्न लागेका हुन्।

कमल पोखरी पुनर्निर्माण काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको ‘डिम प्रोजेक्ट’ मध्ये एक रहेको बताइन्छ। त्यसैले अभियन्ताहरुले महानगर प्रमुख शाक्यलाई रानीपोखरीमा झै गल्ती नदोहोर्‍याउन आग्रह गर्दै आएका छन्। महानगरले भने छलफलबाटै कमल पोखरीको निर्माण हुने दाबी गरेको छ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य गगन थापाले समेत हाललाई कमल पोखरीको निर्माण रोकेर सिमसार क्षेत्रबारे छलफल गरेर मात्रै अघि बढ्न आग्रह गरिसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell