जलेश्वर : नेपाल भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका-१७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
मण्डल आज बिहान करिब ११ बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका-८ स्थितबाट पक्राउ गरेको हो। उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउण्ड गोली र एक राउण्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो। पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
ट्र्याक्टर नियन्त्रणमा
मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर कार्यालय हेटौँडाले अवैधरुपमा ल्याइएको काठ र ट्र्याक्टर तथा चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीे टोलीले जाँचका क्रममा उक्त अवैध काठसहित ट्र्याक्टर र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ।
जाँचका क्रममा उक्त ट्र्याक्टरबाट चिलाउने ३२.०२ क्युफिट, कर्माको ७.०३ क्युफिट र कर्माको ७.०३ क्युफिट गोलिया काठ बरामद गरेको बताइएको छ। हेटौँडाको भोर्लेस्थित धरान चतरा सडकखण्डमा हर्नामारी हुँदै हटियातिर जाँदै गरेको ना ७ त ११३५ नम्बरको ट्र्याक्टरमा लोड रहेको काठका कागजपत्रबिना फेला परेपछि नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेमा ट्र्याक्टर चालक हेटौँडा उपमहानगरपालिका-१८ का ३४ वर्षीय सन्तबहादुर जिम्वा, ४७ वर्षीय आइतराम जिम्वा तथा हेटौँडा-१७ का २९ वर्षीय अशोक तामाङ रहेको बताइएको छ। प्रहरीले नियन्त्रणमा लिएको काठसहित ट्र्याक्टर तीन जनालाई जिल्ला बन कार्यालय मकवानपुरमा कारबाहीका लागि आज पठाएको छ।