PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड-१९ विरुद्ध आपतकालीन प्रयोजनका लागि भारतको सेरमले उत्पादन गर्ने 'कोभिसिल्ड'लाई अनुमति, रकम जोहो गर्न सहयोग माग्दै सरकार



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध आपतकालीन प्रयोजनका लागि भारतको सेरमले उत्पादन गर्ने 'कोभिसिल्ड'लाई अनुमति, रकम जोहो गर्न सहयोग माग्दै सरकार

काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ।

सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ। विभागले दुई दिनअघि आपतकालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो। भारतमा पनि यस खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकिएको छ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोष सार्वजनिक गर्दै योगदान गर्न आह्वान गरेको छ। 

मन्त्रालयले नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृत प्राप्त भएका खोपको खरिदका लागि राष्ट्रिय खोप कोषमा सञ्चालन गर्नका लागि कोषमा योगदान पुर्‍याउनका लागि आह्वान गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदको कार्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएका खोपहरूको खरिदलाई प्राथमिकतामा राखेर कोभिड १९ को खोप लगाउन पहिचान भएका लक्षित वर्ग तोकेर आवश्यक कार्यहरू गरिरहेको समेत मन्त्रालयले जनाएको छ। 

'यसरी निःशुल्क खोप लगाउने अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यथासम्भव सबै विधि र प्रक्रियाहरूलाई अबलम्बन गर्दै अहोरात्र जुटिरहेको छ,' मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ।

सरकारले खोप ऐन, २०७२ परिच्छेद- ५ (दफा २१ देखि २५) राष्ट्रिय खोप कोष (सञ्चालन) नियमावली र खोप नियमावली २०७४ मै भएको कानुनी व्यवस्था अनुसार मन्त्रालयले योगदान पुर्‍याउनका लागि आह्वान गरेको छ।

'सूचनामा भनिए अनुसार तोकिएको बैंक खातामा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संघ संस्थाबाट रकम जोहो हुन गएमा हालको कोभिड १९ को खोप अभियान सञ्चालनका अतिरिक्त नेपाल सरकारले सञ्चालन गरिरहेका विभिन्न बाह्य किसिमका खोपहरूको अभियान र भोलिका दिनमा थप गर्नु पर्ने खोपहरूका अभियानहरूमा समेत सहजीकरण हुनेछ भन्ने अपेक्षा राखिएको व्यहोरा सबैमा अनुरोध छ,' वक्तव्यमा अगाडि भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell