PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

राष्ट्रिय उद्धार कार्यक्रम : ४ प्रदेशका ५२८ सडक आश्रितहरुका लागि खाना, नाना र छानाको व्यवस्था



फूलमाया पुरी

राष्ट्रिय उद्धार कार्यक्रम : ४ प्रदेशका ५२८ सडक आश्रितहरुका लागि खाना, नाना र छानाको व्यवस्था
फोटो : मानव सेवा आश्रम।

सुर्खेत : राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत हालसम्म ५२८ जना सडकमा बस्दै आएकाहरूको उद्धार भएको छ। मानवसेवा आश्रमले तय गरेको मेची-महाकाली यात्रामा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका सबैका लागि खाना, नाना र छानाको व्यवस्थापन आश्रमले नै गरिरहेको छ।

सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा-२०७८ अन्तर्गत उक्त कार्यक्रम गत पुष ७ गतेबाट शुरु भएको हो। एक महिना लामो यात्रा तय गरी उद्धार कार्यक्रम सञ्चालन भइरहेको छ। जसमा ४ प्रदेशबाट ३९ जना बालबालिकासहित ५२८ जनाको उद्धार गरिएको मानवसेवा आश्रमले जनाएको छ।

आश्रमका अनुसार उद्धार गरिएकाहरुमा प्रदेश १ बाट ५५ महिला, १७९ पुरुष र २० बालबालिकासहित २५४ जनाको उद्धार भएको थियो। त्यस्तै, प्रदेश २ बाट २७ महिला र ६७ पुरुष गरी ९६ जना सहयोगापेक्षी सडक आश्रितहरुको उद्धार गरिएको हो।

त्यसैगरी, वाग्मती प्रदेशको हेटौंडाबाट २ र चितवनबाट १० गरी ३ महिलासहित १२ जनाको उद्धार गरिएको पनि आश्रमले जनाएको छ।

यता गण्डकी प्रदेशबाट २७ महिला ७१ पुरुष र १० बालबालिकासहित१०८ जना सहयोगापेक्षी (अशक्त, असाहाय, बेसाहारा) सडक आश्रितहरुले मानवसेवा आश्रमको साहरा पाएका छन्। लुम्बीनी प्रदेशबाट १५ महिला, ३६ पुरुष र ९ जना बालबालिकाको उद्धार गरिएको छ।

राष्ट्रिय उद्धार कार्यक्रममा मानवसेवा आश्रमको सहकार्यमा खटिएको बालबालिका खोजतलास अनुसन्धान केन्द्रद्वारा उद्धार गरिएका ३९ जना बालिकामध्येबाट २० जनालाई विभिन्न बालगृहमा पठाइएको छ। अन्य सबै बालबालिका आश्रमका विभिन्न शाखा कार्यालयमा आश्रित रहेको आश्रमका समर्पित अभियन्ता मनोज घिमिरेले बताए।

घिमिरेका अनुसार यस कार्यक्रमले बढीमा ४ सय सहयोगापेक्षी सडक आश्रितहरुको उद्धार गर्ने लक्ष्य लिएको थियो। तर, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित वाग्मती प्रदेशको उपत्यका र आसपासका जिल्ला बाँकी रहँदै लक्ष्यभन्दा बढी संख्यामा उद्धार भइसकेकोले व्यवस्थापनमा चुनौती थपिएको उनको भनाई छ।

‘यात्रा अझै बाँकी छ, तर हामीले राखेको लक्ष्यभन्दा बढी संख्यामा उद्धार भइरहँदा उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती थपिएको छ’, उनले भने, ‘उद्धार गरिएका सबै एकै किसिमको मनस्थितिमा हुनुहुन्न अधिकांश मनोरोगी भएकाले पनि सेवा प्रदानमा चुनौती थपिएको हो।'

उद्धार टोली माघ १ गते कर्णाली प्रदेश पुगेको छ। जुन गत वर्षको माघ ४ गते पहिलो सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा भएको थियो। त्यसैको अवसरमा सुर्खेतको वीरेन्द्रनगरस्थित मानवसेवा आश्रमको शाखा कार्यालयद्वारा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। जसमा मानवीयता पहिलो प्राथमिकता जय मानवसेवा जय मानवता जस्ता लेखिएका प्ले कार्ड बोकीएको थियो। र, स्थानीय सरोकारवाला र राष्ट्रिय उद्धार कार्यक्रमका मेची-महाकाली यात्राका अभियान्ताहरुको सामूहिक उपस्थितिमा उक्त प्रभातफेरी गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell