PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शतकले पनि हौस्याएन आर्मीका कप्तान भण्डारीलाई, आर्मीका मुख्य तीन खेलाडीले किन खेलेनन् सुरुवाती खेल?

शतकले पनि हौस्याएन आर्मीका कप्तान भण्डारीलाई, आर्मीका मुख्य तीन खेलाडीले किन खेलेनन् सुरुवाती खेल?

मुकुन्द घिमिरे/पहिलोपोस्ट


आजबाट कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट शुरु भयो। उद्घाटन खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि जित निकाल्यो। मुख्य खेलाडीहरु सोमपाल कामी, करण केसी र कुशल मल्ल बिनै उत्रिएको आर्मीले गण्डकीमाथि सहज जित निकाल्यो।

आर्मीको जितमा महत्वपूर्ण योगदान रह्यो कप्तान बिनोद भण्डारीको। उनको शतकको सहायतामा आर्मीले विशाल योगफल खडा गरेको थियो। आर्मीका मुख्य खेलाडी नहुँदा आर्मीको खेल खस्किएला भन्ने चासो हुनु स्वाभाविक हो। तर, नजिता फरक आयो।

‘सेटको मुख्य तीन जना खेलाडीहरु छैनन् त्यसले गर्दा चाहिँ अलिकति गाह्रो भइरहेको छ सबैलाई। म पनि कोरोनाबाट निस्किएको भर्खर ८/१० दिन भएको छ। त्यसैले खास खेल्ने विचारमा म थिइनँ। तीन जना उनीहरु पनि छैन अनि म पनि नहुँदा टिमलाई गाह्रो पर्ला भनेर खेलेको हो खासमा’, आर्मीका कप्तान भण्डारीले भने, ‘सुरुवात अलि राम्रो त भयो अब पछाडि कस्तो होला।’

कप्तान भण्डारी मुख्य खेलाडी नहुँदा टिमलाई प्रभाव पार्ने भए पनि जित्नै नसक्ने अवस्था भने नआउने तर्क गर्छन्। उनी भन्छन् : तीन जना प्लेयर छैनन् भन्दैमा जित्नै सकिँदैन भन्ने पनि होइन्। क्रिकेट हो जे हुन पनि सक्छ। त्यो दिनमा कसले खेल्न सक्छ भन्नेले फरक पार्छ।

उनीहरुको स्थानमा अरु खेलाडी आउने भएकाले टिमले राम्रो प्रदर्शन गर्न सक्ने उनले बताए।

‘सेटको तीन जना मिस हुँदा पनि अरु जबरजस्ती खेलाएका खेलाडी उनीहरुको स्थानमा आउने त होइनन्’, मजाकको मुडमा भण्डारीले भने, ‘सबै खेलिरहेकै खेलाडी छन् त्यसैले त्यस्तो धेरै गाह्रो चाहिँ हुँदैन।’

तीन जना खेलाडीले किन म्याच खेलेनन्?

अघिल्लो महिना युएईको प्रतिष्ठित टी-१० लिगका लागि नेपालबाट तीन खेलाडी छनोट भए। जसमा करण केसी, सोमपाल कामी र कुशल मल्ल थिए। तीनै जना खेलाडी विभागिय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्। र, टी १० लिग र प्रधानमन्त्री कपको समय पनि जुध्यो। यद्यपि युएई जानुअघि पनि उनीहरुसँग केही खेल खेल्ने समय बाँकी रहे पनि तीनै जना खेलाडी प्रधानमन्त्री कपको मैदानमा उत्रिएनन्।

‘उनीहरुले तीन वटा जति खेल त भ्याउँथे पनि होला। तर, शुरुका तीन खेल प्रदेशहरुसँग छ। यदि विभागसँग भएको भए खेल्थे उनीहरुले’, कप्तान भण्डारी भन्छन्, ‘तर, प्रदेशसँग खेल्दा चाहिँ तीन जनासँगको सेट नै लिएर खेल्ने अनि विभागहरुसँग खेल्दा चाहिँ एकैपटक उनीहरुलाई हटाउने हो भने गाह्रो हुन्छ नै। मुख्य खेलाडीलाई एकपटक हटाएर विभागसँग खेल्नु गाह्रो नै हुन्छ। त्यही भएर टिमसेट हुनेगरी खेलिरहेको हो अहिले ताकि विभागसँग खेल्दा एकैपटक गाह्रो नहोस्।’

बिनोदको सेञ्चुरी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उद्घाटन खेल र त्यही खेलमा सेञ्चुरी। बिनोद आज नेपाली क्रिकेटमाझ चर्चामा रहे। तर, शतक बनाए पनि भण्डारी उत्साहित भने देखिएनन्। न उनी मैदानमा शतक बनाउँदै गर्दा उत्साहित देखिन्थे न त पछि नै शतकको कुरामा उत्साहित सुनिए। उनी त आफ्नो शतकलाई ‘समयको माग’ को रुपमा लिएका रहेछन्।

‘मलाई माथि नै आएर खेल्न मन थियो। ५० ओभरको खेल, आफूलाई समय दिनुपर्छ। हाम्रो टिम नै यस्तो छ कि पछाडी सोच्नु पर्ने छैन। म पहिला पछाडि अलि हिटिङ गरेर खेल्नुपर्छ भन्ने सोच्थेँ। अहिले चाहिँ लोकेस आएको छ। त्यस्तो गाह्रो छैन’, शतकको पृस्टभूमिबारे खोतल्दै भण्डारीले भने, ‘म जाँदा टिम अलि प्रेसरमा पनि थियो। अगाडिको अर्डरले पनि खासै प्रदर्शन गरिरहेको थिएन। लामो इन्निङ खेल्न सकिरहेका थिएनन्। त्यसमा अझै काम गर्नै छ। म २२/२३ ओभरमा भित्र गएको थिएँ। प्रेसर लिनुपर्ने पनि थिएन। आरामले टिकेर खेल्न पाएँ। त्यसले गर्दा पछि सजिलो भयो।’

आर्मीका लागि कप्तान भण्डारीले शतकीय पारी खेल्दै सर्वाधिक १११ रन बनाएका थिए। उनले ७६ बलमा अभिजित रहँदै १११ रनको शतकीय पारी खेलेका हुन्।

‘५० ओभरमा हानेरै खेल्न पर्छ भन्ने छैन। समय पनि हुन्छ आफूसँग। प्लेयरले खेलअनुसार आफूलाई ढाल्नुपर्छ। अनि त्यही अनुसारले खेल्यौँ खास’, उनी भन्छन्, ‘अब कुन टिमसँग शतक हानेको हो त्यसमा पनि भर पर्छ। खेल राम्रो भयो त्यो आफ्नो ठाउँमा छ तर अर्को टिम कस्तो हो भन्ने पनि विचार चाहिँ गर्नु पर्छ।’

उनले सेञ्चुरीलाई सहज रुपमा लिनुको अर्को कारण देखाउँछन् उनको स्थान।

‘मैले खास खेल्दा खेरी चाहिँ पाँच भन्दा पछाडि कै नम्बरमा खेलिरहेको हुन्थेँ। त्यो ठाउँमा गएर शतक सोच्नु गाह्रै हुन्छ। अहिले आएर चार नम्बरमा खेल्दा र अलि टाइमिङ पनि त्यस्तै मिलेकाले शतकका लागि सजिलो भएको हो’, उनी तर्क गर्छन्, ‘५० ओभरको खेलमा समय हुन्छ। र, यसमा शतक हान्न सक्ने भनेको अगाडिको चार जनाले नै हो। मैले यसपटक धेरै पछि अगाडि आएर खेलेको हो।’



ट्रेन्डिङ पोस्ट

Ncell